सेयर बजारको बाधक बन्यो बैंकको महंगो ब्याज



काठमाडौं । जब बैंकको ब्याजदर घट्छ । तब सेयर बजारमा उछाल आउँछ । तर, जब ब्याजदर बढ्छ । तब सेयर बजार ओर्लिन्छ । बैंकको ब्याजदर र सेयर बजारबीचको सम्बन्ध पनि यही हो ।

लगानी योग्य पुँजी (तरलता) अभावका कारण गत दशैंपछि बैंकहरुको ब्याजदर उल्लेख्य मात्रामा बढेको छ । त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ ।

बैंकहरुको ब्याजदर बढेपछि सेयर धितोमा जाने कर्जा पनि बढेको छैन भने नेप्से इन्डेक्स पनि घटेको तथ्यांकले देखाउँछ ।

गत साउन महिनाको अन्तिममा नेप्से इन्डेक्स १७१७ अंकमा थियो । त्यसबेला बैंकहरुको औषत आधार ब्याजदर ६.१ प्रतिशत मात्रै थियो । साउनमा सेयर धितोमा ३७ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रबाह भएको थियो ।

तर, अहिले अवस्था फेरिएको छ । बैशाख मसान्तमा नेप्से इन्डेक्स घटेर १६५८ अंकमा झरेको छ । बैशाख महिनामा बैंकहरुको औषत व्याजदर भने बढेर ९ प्रतिशत पुगेको छ ।

साउनदेखि बैशाखसम्ममा अर्थात् १० महिनामा सेयर धितोमा प्रबाह हुने कर्जा जम्मा १ अर्ब ६२ करोड रुपैयाँले बढेर ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

गत मंसिर महिनादेखि बैंकहरुलाई तरलता अभावको समस्याले ग्रस्त बनाएको हो । तरलता अभावसँगै ब्याजदर बढ्यो भने नेप्से इन्डेक्स घट्यो ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउने दबाबमा अधिकतम बोनस र हकप्रद सेयर घोषणा गर्दा पनि ब्याजदरका कारण नेप्से सूचक बढ्न नसकेको सेयर ब्रोकर नरेन्द्र सिँजापति बताउँछन् ।

त्यतिमात्रै होइन, २० वर्षपछि स्थानीय तहको चुनाब हुँदा पनि महंगो ब्याजदरका कारण नेप्से इन्डेक्स बढ्न नसकेको उनको भनाई छ ।

‘बैंकहरुको ब्याजदर अचाक्ली बढेका कारण र सेयर धितो कर्जामा ऋण ठप्प बनाएका कारण चुनाबपछि पनि नेप्से बढ्न नसकेको हो,’ सिँजापतिले क्लिकमाण्डूसँग भने, ‘यस्तो कठिन परिस्थितिका बाबजुत पनि नेप्से सूचक नघट्नुको कारण चाहिँ चुनाब नै हो, परिस्थिति सहज भइदिएको भए चुनाबपछि मात्रै नेप्से १/२ सय अंकले बढ्थ्यो ।’

तर, नेप्से इन्डेक पहिलो चरणको स्थानीय तहको निर्वाचनपछिको एक महिनामा ८० अंकभन्दा बढीले घटिसकेको छ ।

अहिले बैंकहरुले निक्षेपमै १४ प्रतिशतसम्म व्याज दिइरहेका छन् । जसकारण सेयर बजारमा लगानी गरेर भन्दा बैंकमा मुद्दति निक्षेप राख्दा बढी फाइदा हुने भएपछि लगानीकर्ताहरु मुद्दति निक्षेपतर्फ आकर्षित भएको उनको निष्कर्श छ ।

‘बैंकहरुले सेयर धितो राखेर कर्जा दिँदैनन्, दिइहाले भने पनि १६/१७ प्रतिशत व्याज लिन्छन्, त्यस्तै, बैंकहरुले प्रयोजन नखुलाई ग्राहकलाई उपलब्ध गराउने ओभरड्राफ्ट कर्जा पनि बढ्न सकेको छैन, जसको प्रभाब पनि नेप्सेमा देखिएको छ,’ सिँजापतिले भने ।


पुष्प दुलाल