मानसरोवर चीनमा, रौनक नेपालमा



मानसरोवर चीनमा पर्ने भएपनि बाटो नेपाल भएकोले अफ सिजनमा पर्यटकको रौनक नेपालमा भएको छ । ‘मानसरोबर–कैलाश पर्वत भ्रमणको रुची औधी रहेकोले अफसिजनको ‘टेको’ भारतीयले धानेका हुन ।

यो सिजनमा मात्रै नेपालको बाटो हुदै ४० हजार भन्दा बढी भारतीयहरु मानसरोवरका लागि जाने गरेका छन । जसका कारण नेपालको विकट हुम्ला क्षेत्र यतिवेला पर्यटकले भरिभराउ भएका छन । भूकम्पसंगै तातोपानी नाका बन्द भएपछि दुईवर्षयता मानसरोवर जाने पर्यटक हुम्लाको बाटो हुदै जाने गरेका छन ।

हुम्ला भएर जानु पर्ने भएपछि जहाज कम्पनीहरुले पनि पछिल्लो दुईबर्षयता निकै राम्रो बिजनेश पाइरहेका छन । सिम्रिक, माउण्टेन, मनाङ र श्री एअरलाइन्सका दुई–दुई र डाइनेस्टीको एक जहाजले हुम्लादेखि हिल्सासम्म उडान भरेका छन् । तातोपानीको रुट भूकम्पले क्षति भएपछि चीनले खुलाएको छैन । मानसरोबर जाने यात्रीलाई सिमीकोट–हिल्सा, हिल्सा–सिमीकोट ‘ड्रप’ गर्ने गरेका छन ।


नेपाल भएर मानसरोवर जाने रुट

तातोपानी : मानसरोबार जाने सबैभन्दा सजिलो र सस्तो बाटो भनेको तातोपानी हुदै खासा बोर्डर निस्केर जाने हो । तर, गतबर्षको भूकम्पले गर्दा चीनले तातोपानी नाका आजसम्म पनि बन्दै गरेको छ । यो बाटो सूचारु हुन केही बर्ष लाग्ने देखिन्छ । सन् २०१४ सम्म प्रति व्यक्तिलाई प्याकेजमा १ लाख २० हजार भारतीय रुपैयाँ शुल्क लिइएको थियो ।

केरुङ नाका : यो बैकल्पिक बाटो भएपनि चीनले प्रयोगमा ल्याएको छैन । यो नाका एकतर्फी मात्रै छ र खासगरी व्यापारिक प्रयोजनको लागि मात्रै चीनले खुला गरेको छ इको टे«कका व्यवस्थापक प्रदीप पण्डित बताउँछन् । तर, केही चिनियाँ पर्यटक पनि यो बाटो हुदै नेपाल आउँछन् ।

काठमाडौं–ल्हासा : काठमाडौंबाट चीनको ल्हासासम्म जहाजमा र ल्हासादेखि गात्से–सिगात्से–लात्से–सागा–पयाङ हुदै कैलाश पवर्तसम्म बसमा जान सकिन्छ ।

यो मार्ग महँगो पर्न आउँछ । विदेशी पर्यटकलाई प्रति व्यक्ति प्याकेजको ३ हजार ५ सय अमेरिकी डलर र भारतीय पर्यटकलाई प्रति व्यक्ति प्याकेजको २ लाख ५० हजार भारतीय रुपैयाँ लाग्छ ।

काठमाडौं–हिल्सा : यो चालू सिजनमा मानसरोबार जाने मुख्य बाटो बनेको छ, काठमाडौं–नेपालगंज– हुम्ला । नेपालगंजसम्म जहाज वा बसमा जाने । नेपालगन्ज–सिमीकोट जहाज । यसपछि सिमीकोट–हिल्सासम्म पनि जहाज । त्यसो भारतीयहरु नेपालगंजसम्म लखनऊदेखि जहाजमा उत्रन पनि सक्छन् । तेस्रो मुलुकका पर्यटक सिमीकोटबाट ७ दिनको पैदल यात्रामा सिमिकोट हुदै हिल्सा पनि पुग्छन् ।

नाइट स्टे कहाँ–कहाँ ?

काठमाडौ– एक रात भारतीय र अन्य पर्यटकलाई)
नेपालगंज र हुम्लामा पनि बास, जहाज नपाएमा ।

चीनतर्फ
ताक्लाकोट– तीन रात (जाँदा २ र फर्कदा १ रात)
मानसरोबर– जाँदाआउदा १/१ रात
तार्चिङ– जाँदाआउदा १/१ रात
देरापुक– जादाआउदा १/१ रात
जुजुलपुक– जादाआउदा १/१ रात

मानसरोबर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० बर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । नेपालीहरुको पनि तातोपानी नाका खुला रहदा कैलाश जाने ट्रेण्ड बसिसकेको थियो । तर, यो बर्ष न्यून मात्रामा नेपाली गएका छन् । उता, मानसरोबर जाने मध्ये करिब १५ देखि २० प्रतिशत तेस्रो मुलुकका पर्यटक हुन्छन् ।

प्याकेज शुल्क ?

दुई बर्ष अघि बसबाट जान सकिन्थ्यो तातोपानी हुदै । दुईवर्ष यता जहाजको प्रयोग गरी हिल्सा भएर जानुपर्ने भएकोले २ लाख ५० हजार भारतीय रुपैयाँ प्याकेजको रुपमा लिने गरिन्छ ।

के–के लैजाने ?

ज्याकेट, अनिवार्य रुपमा इनर वेयर(थर्माकोट), मन्की क्याप÷क्याप, सन ग्लास, सन स्किनक्रिम, स्वेटर, तातोपानीको लागि थर्मस, स्पोर्टस् सुज ।

इको टे«क, टच कैलाश, कैलाश जर्नी, श्रेष्ठ होलिडेज लगायत करिब ८–१० वटा एजेन्सीले बढी मात्रामा मानसरोबर यात्रा गराउँदै आएका छन् । भारतमा मानसरोबर यात्राको बजारीकरण व्यक्तिगत रुपमा हुने गरेको अधिकारीले बताए । जो जो आउँछन्, उनीहरुले नै बजारीकरण गर्ने गरेका छन्, उनले भने । त्यस्तै केही भारतीय एजेन्सीले पनि नेपाली एजेन्सीसँग समन्वय गर्छन् ।

मुख्य सिजन : मे, जुन, जुलाई, अगस्ट र सेप्टेम्बर


क्लिकमान्डु