किसान केराखेतीतर्फ आकर्षित



बर्दिया । बर्दियामा पछिल्लो पटक केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

केराखेती युवाको रुचिको विषय बन्दै गएको छ । किसानले सहकारीमार्फत तथा व्यक्तिगत रुपमा केराखेती गर्दै आएका छन् ।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बर्दिया नगरपालिकाका किसान सन्तोष विक । उनले २० बिगाहा जमिन भाडामा लिई केराखेती गर्दै आएका छन् ।

केराखेतीबाट पर्याप्त आम्दानी भएपछि उनी त्यसतर्फ आकर्षित भएका हुन् । मैनापोखर र धधवारमा उनले फार्म खोलेर व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन् । ‘बजारका लागि कुनै समस्या छैन,’ अनुदानको व्यवस्था गरे किसानको मनोबल बढ्ने छ,’ विकले भने ।

जिल्लामा पछिल्लो समय युवाले केराखेतीलाई महत्व दिइरहेका छन् । धधवारका नवराज पौडेल केराखेतीबाट वार्षिक ३ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको बताए । उनले कृषि विकास कार्यालयको सहयोग भए अझ बढी आम्दानी गर्न सकिने बताए ।

जिल्लामा यस वर्ष ८१२ हेक्टरमा केराखेती गरिएको छ । यहाँ उत्पादन भएको केरा दाङ, प्युठान, जुम्ला, सुर्खेतलगायत जिल्लामा बिक्री हुन्छ । खुल्ला सिमानाका कारण भारतबाट केरा आयात हुँदा यहाँका किसान मारमा परेका छन् ।

जिल्ल्ला कृषि विकास कार्यालयले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केराखेती व्यवसायलाई पहिलो प्राथमिकतामा राखेको वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले बताए। बलौटे माटो केराखेतीका लागि चुनौती भएको रावत बताउँछन् । रासस


पुष्प दुलाल