३ वर्षमै दोब्बर भयो बजेट, खर्च होइन आकार बढाउन अर्थमन्त्रीको प्रतिस्पर्धा



काठमाडौं । पछिल्ला ३ वर्षमा बजेटको आकार दोब्बर भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ का आज लागि साढे १२ खर्ब रुपैयाँभन्दा बढी आकारको बजेट संसदमा प्रस्तुत गर्दैछन् ।

मन्त्री महराले आज सार्वजानिक गर्ने बजेट चालू आर्थिक वर्षकोभन्दा डेढ खर्ब रुपैयाँभन्दा बढी हो । निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रमहरु नल्याउने बताउँदै आएपनि सरकारकाले बजेटको आकार भने निकै ठूलो बनाएको छ ।

पछिल्ला वर्षहरुमा सरकारले बजेटको आकार बढाए पनि छुट्याएको बजेट खर्च गर्न नसक्ने प्रवृत्ति झनै मौलाउँदै गएको छ ।

सुरुमा १२ खर्ब ६ अर्ब रुपैयाँको बजेट ल्याउन योजना आयोगले सिलिङ दिएको थियो । तर नयाँ गठन भएका स्थानीय तहहरुलाई एकमुष्टरुपमा मोटो रकम अनुदान दिनुपर्ने भएकाले र चालू रहेका आयोजनाहरुलाई पनि बजेट दिनुपर्ने भएको भन्दै अर्थ मन्त्रालयले बजेटको सिलिङ बढाउन माग गरेको थियो ।

चालू आर्थिक वर्षको मोटो रकम बजेट बचत रहने निश्चित देखेपछि र राजस्वप पनि बढ्ने देखिएपछि योजना आयोगले पछिल्लाोपटक १२ खर्ब ८० अर्ब रुपैयाँ बराबरको बजेटको नयाँ सिलिङ तोकेको हो ।

‘एक खर्बजतिको फिस्कल स्पेस (बजेटको स्रोतको पर्याप्तता) देखिएपछि सिलिङ बढाइएको हो,’ योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले क्लिकमाण्डूसँग भने ।

चालू आर्थिक वर्षका लागि ठीक एक वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

एमाले अध्यक्ष केपी ओली सरकारका अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा झन्डै डेढ खर्ब रुपैयाँ बढी आकरको बजेट ल्याएका थिए । चालु आर्थिक वर्षका लागि योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको थियो ।

तर, मुलुकको आवश्यकता ठूलो आकारको बजेट भएको भन्दै ओली सरकारले योजना आयोगको सिलिङलाई अटेर गर्दै १० खर्ब ४८ अर्ब रुपैयाँ बराबरको जम्बो बजेट ल्याएको थियो ।

अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७२/७३ का लागि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले पनि त्यसअघिको भन्दा निकै ठूलो आकारको बजेट ल्याएका थिए । डा. महतले ८ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए । जुन बजेट त्यसअघिको बजेटभन्दा २ खर्ब रुपैयाँले बढी हो ।

०७२ बैशाख १२ गते गएको शक्तिशाली महाभूकम्पले पुर्र्याएको क्षतिको पुनर्निर्माणका लागि मोटो रकम आवश्यकता परेकाले बजेटको आकार बढाइएको थियो । सरकारले ०७२ असार अन्तिममा गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसैको आधारमा सरकारले बजेटको आकार बढाएको थियो ।

आर्थिक वर्ष २०७१/०७२ मा पनि अर्थमन्त्रीमा डा. महत नै थिए । सो आर्थिक वर्ष महतले ६ खर्ब १८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए।

त्यसअघि शंकर कोइराला अर्थमन्त्री थिए । कोइरालालो आर्थिक वर्ष २७०/७१ का लागि ५ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

पछिल्ला वर्षहरुमा सरकारले बजेटको आकार बढाए पनि छुट्याएको बजेट खर्च गर्न नसक्ने प्रवृत्ति झनै मौलाउँदै गएको छ । सानो आकारको बजेट ल्याएर त्यसको कार्यान्वयन गर्नतिर भन्दा पनि सरकारका मन्त्रीहरु ठूलो आकारको बजेट ल्याएर सबैलाई मोटो रकम बजेट विनियोजन गरेर रमाउन केन्द्रित हुँदा यस्तो प्रवृत्ति मौलाएको हो ।


पुष्प दुलाल