कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन



ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ ।

८ हजार ५ सय ८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि गएको टोली आठ हजार १ सय ७५ मिटर उचाइमा पुगेर फर्किएको हो । प्राविधिक समस्याका कारण सो टोली ४ सय ११ मिटर तलबाट फर्कन बाध्य भएको हो ।

आरोहणका लागि गएको ३ जना नेपाली महिला र ११ जना विदेशी टोली जेठ ३ गते चौथो बेसक्याम्प पुगेका थिए । उनीहरुले त्यहाँबाट गएर आरोहण प्रयास गरे पनि डोरी नपुगे पछि र त्यही बेला मौसममा खराबी आएपछि आरोहण गर्न नसकेको बताए । आठ हजार मिटरको चौथो क्याम्पमा १२ घन्टासम्म बस्दा पनि सम्भव नभएपछि फर्कनुपरेको आरोहण दलका संयोजक माया शेर्पाले बताइन् ।

उनीहरुलाई लाने शेर्पा पनि त्यहाँ पुगेपछि बिरामी भएका थिए । टोलीले एक महिना बसेर चौथो क्याम्पसम्म डोरी टाँग्ने, क्याम्प बनाउनेलगायतको काम पूरा गरेका थिए ।

सन् २०१३ र १४ मा लगातार दुर्घटना भएपछि १५ र १६ मा कसैले पनि आरोहणको अनुमति मागेन । ६० वर्षको अवधिमा ११ जनाले मात्रै आरोहण गरेको र त्यही रेकर्ड एकै पटक तोडेर ११ जना आरोहण गर्न चाहेको विदेशीको दाबी थियो ।

आरोहण दलमा इजरायल, भारत, स्वीट्जरल्यान्ड, कोरिया, जापान र चीनका आरोही रहेका थिए । उनीहरु सेभेन समिट ग्रुपबाट गएका हुन् । उनीहरुलाई नुरी शेर्पाले गाईड गरेका थिए । कञ्चनजङ्घाको पूर्वी मोहडाबाट आरोहण प्रयास गरिएको थियो । थप नयाँ रेकर्डका लागि थ्री बुमेन, थ्री टप को नारा लिएर तीन जना नेपाली महिलाले पनि आरोहणको प्रयास गरेका थिए । अभियानमा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी दावा याङ्जोम शेर्पा र दोलखाकी पासाङल्हामु शेर्पा संलग्न रहेका थिए ।

उनीहरुले सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो माउन्ट केटुको यसअघि नै सफल आरोहण गरिसकेका छन् । तेस्रो तथा अन्तिम हिमालको रुपमा कञ्चनजङ्घा चड्ने उनीहरुको योजना थियो । आरोहणसँगै जलवायु परिवर्तनको सन्देश दिने उनीहरुको योजना थियो ।

कञ्चनजङ्घामा सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा आठ जनाको ज्यान गएको थियो । त्यसपछिका दुई वर्ष कसैले पनि आरोहण प्रयास गरेन ।


पुष्प दुलाल