विज्ञ र पूर्वमेयर भन्छन्ः अब काठमाडौं यस्तो बनाऔं




काठमाडौ । देशकै सबैभन्दा धेरै जनसंख्या बसोबास गर्ने काठमाडौं महानगरपालिका समस्यै समास्यामा जेलिएको छ । महानगरलाई समस्याबाट मुक्ति दिलाउनका लागि अबको १÷२ दिन भित्रमा जननिर्वाचित प्रतिनिधि आउँदै छन् ।

निर्वाचित प्रमुख पनि महानगरलाई समस्याको जालोबाट मुक्त गर्ने अठोट र योजनाका साथ आउने छन् । अबको काठमाडौं महानगरपालिको भविष्य नवनिर्वाचित प्रमुखको हातमा रहेको सहरी पूर्वाधार विज्ञ सुर्यराज आर्चाय बताउँछन् ।

आर्चायका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख चुनौति भनेको बढ्दै गएको अव्यवस्थित सहरीकरण नै हो ।

‘अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्नका लागि मेयरको भूमिका एकदमै महत्वपूर्ण हुन्छ, महानगरभित्रको जग्गा व्यक्तिको नाममा छ, तर, त्यो जग्गामा निर्माण हुने भौतिक संरचना कस्तो बनाउने भन्ने कुरा महानगर प्रमुखको हातमा हुन्छ,’ आर्चायले भने ।

विज्ञ आचार्यका अनुसार योजनावद्ध सहरीकरण, अपर्याप्त पूर्वाधार, निर्माण प्रकृयामा त्रृटि र सामाजिक र सार्वजनिक सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने महानगरको नयाँ मेयरको प्रमुख चुनौति हुन् ।

महानगर भित्रका कुनै पनि क्षेत्र योवनावद्ध सहरीकरण अन्तरगत निर्माण भएको छैन । सडकमा पैदल यात्रुका लागि फुटपाथ छैन, सुस्ताउनका लागि पार्क छैन, कुनै प्रकृतिक घटना घटेमा त्यसलाई न्युनिकरण गर्ने संयन्त्र एम्बुलेन्स, दमकले छिर्ने सडक नभएका स्थानमा आवसीय क्षेत्र छन् ।

अपर्याप्त पूर्वाधारका कारण महानगरबासीले निकै सास्तीको दैनिकी गुजार्नु परेको आर्चायको भनाइ छ ।

‘काठमाडौं महानगरपालिका पूर्वाधारको आधारमा महानगरपालिका नभएर जनसंख्याको आधारमा महानगर भएको हो,’ विज्ञ आर्चायको तर्क छ ।

महानगरपालिकाको निर्माण प्रकृया एकदमै त्रृटीपूर्ण रहेको उनको आरोप छ ।

‘एक वर्ष अगाडी अर्बौं रुपैयाँ खर्च गरेर १५ वर्षसम्म टिक्ने सडक बनाइन्छ, अर्को वर्ष नयाँ पूर्वाधार निर्माण प्रकृया भनेर फेरि त्यो सडक खनिन्छ, यी समस्याबाट महानगर कसरी मुक्त हुन्छ भन्ने अबको चुनौति हो’ उनले भने ।

महानगरपालिकाले आफ्ना नागरिकलाई सामाजिक र सार्वजनिक सेवा दिन नसकेको आर्चाय बताउँछन् ।

‘यहाँ एकल महिला, वृद्धावृद्धालाई सामाजिक सुरक्षा भनेर केही पैसा दिने गरिएको छ, तर त्यो पैसा लिनका लागि वृद्धावृद्धाले निकै कष्ट ब्यहोर्नु परेको छ,’ आर्चायले भने ।

महानगरको समस्या समधानका केही उपाय ?
महानगरपालिकाको समस्या सुल्झाउनका लागि मिश्रित भू–योजना निर्माण गर्न सकिने विज्ञ आर्चाय बताउँछन् ।

मिश्रित भू–योजना अमेरिका, बेलायतलगायतका देशमा प्रयोगमा आएका उनी जानकारी दिन्छन् ।

मिश्रित भू–योजना भनेको एउटा घरमा पसल, अफिस र रेसिडेन्सियल क्षेत्र भएको उनको भनाइ छ ।

मिश्रित भू–योजना अन्तरगत सहर विकास गर्न सके मानिसले जागिर खान, आवश्यक सामान किन्न यात्रा गर्नु पर्दैन ।

सहरी पूनरविकास योजना अनुसार सहरलाई व्यवस्थित बनाउन सकिने आर्चायको सुझाव छ ।

‘त्यसका लागि महानगरका प्रमुखले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ, प्रमुखले ३० वर्षभन्दा माथिका घर भाडामा लगाउन नपाउने नियम निर्माण गर्न सक्छ, नयाँ घर महानगरको रोहबरमा निर्माण गर्नुपर्ने हुन्छ,’ आर्चायले भने ।

सहरी डिजाइन
व्यवस्थित सहरका लागि सहरी डिजाइन एकदमै महत्वपूर्ण हुने विज्ञ आर्चाय बताउँछन् ।

‘सहरी डिजाइन अन्तरगत कुनै निश्चिात क्षेत्रमा बन्ने घरको क्षेत्रफल, रंग, सडक आदि कस्तो हुने भन्ने कुरा प्रमुखले निर्धारण गर्न सक्छन,’ आचार्यले भने ।

काठमाडौं महानगरपालिका पूर्व मेयर केशव स्थापितले भने चुनाब अगाडी सार्बजनिक गरिएको घोषणापत्र अनुसार काम भए समस्या समाधान हुने बताउँछन् ।

 

‘नयाँ बन्ने मेयरले आगामी ५ वर्ष भित्रमा काठमाडौंमा के गर्ने भन्ने गुरु योजना साथ आउँने छन्, मेयरले आफ्ना योजना कति दिनमा सक्ने समय पनि उल्लेख गरेका छन्, ती कार्यक्रम र योजना समयमै कार्यान्वयन हुन सक्यो भने समस्या साधान हुन्छ,’ स्थापितले भने ।


क्लिकमान्डु