किसान परियोजनाबाट कृषक लाभान्वित



पाल्पा । रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दङ्ग छन् ।

आम्दानीका लागि निकै सङ्घर्ष गरेका सोतीलाई किसान परियोजनाले तरकारी व्यवसायमा लगानी गरिदिएपछि उनको जीवन  बदलिएको हो ।

परियोजनाले आजभन्दा तीन वर्ष अगाडि तरकारी व्यवसायका लागि कृषि सामग्री, बीउबिजन सहयोग गरेपछि उनलाई आम्दानी गर्ने बाटो नै अहिले तरकारी व्यवसाय बनेको छ ।

बेलाबेलामा घरमै आएर परियोजनाले कृषि सामग्री, उन्नत जातका बीउबिजन र खेती गर्न आधुनिक प्रविधि सिकाएपछि व्यवसाय गर्न निकै सजिलो भएको सोतीको अनुभव छ ।

किसान परियोजनाले जिल्लाका ग्रामीण भेगका कृषकलाई लक्षित गरेर व्यवसायमा सहयोग गरेपछि उहाँजस्तै अन्य कृषक पनि व्यवसायमा लागेका हुन् । परियोजनाले विशेष गरी ग्रामीण भेगका गरिब असहाय बेसहारा, जनजाति, दलित बस्तीमा पुगेर कृषि व्यवसाय गर्न हौसला प्रदान गर्दै लगानीसमेत गरिदिएपछि कृषकको आम्दानी गर्ने बाटो तरकारी व्यवसाय बनेको हो ।

परियोजनामार्फत जिल्लाका दुई नगरपालिका र साविकका १६ गाविसका गाउँ तथा टोल टोलमा पुगेर समूह गठन गरी कृषकलाई सैद्धान्तिक, प्राविधिक ज्ञान सीप सिकाउँदै व्यवसायतर्फ उन्मुख गराउन सफल भएको परियोजनाले जनाएको छ ।

यस परियोजनाबाट जिल्लाका तानसेन र रामपुर नगरपालिका, साविकका गाविसहरु अर्गली, बौघापोखराथोक, चापपानी, चिदिपानी, चिर्तुङधारा, देउराली, गल्धा, हुँगी, खस्यौली, मस्याम, नायरनम्तलेस, पालुङमैनादी, पीपलडाँडा, पोखराथोक, तेल्घा र ठिमुरेका दुई हजार ७९४ घरधुरीका कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस कार्यक्रमबाट सोचेभन्दा राम्रो प्रगति पाइएको परियोजना प्रमुख मेनुकुमार श्रेष्ठ बताउँछन् । ‘सुरुमा त लगानी खेर जाने हो कि भन्ने चिन्ताले सताएको थियो, लगानीअनुसार उपलब्धि पनि राम्रो रह्यो, बजारबाट किनेर खाने कृषकले अहिले तरकारी उत्पादन गरेर बजारसम्म बिक्री गर्ने गरेको पाइएको छ,’ उनले भने । पाँच वर्षको अवधिको लगानी र उपलब्धि हेर्दा यहाँका कृषक निर्वाहमुखीबाट व्यवसायतर्फ उन्मुख भएको उनले बताए ।

परियोजनाले व्यवसाय गर्न जागरुक गराएपछि व्यवसाय थालेको हुगीका कृषक झविलाल पाठक बताउँछन् । उनले अहिले करिब १५ रोपनी जग्गामा तरकारीखेती थालेका छन् । वार्षिक रुपमा करिब १० लाख रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य उनको लक्ष्य छ ।

बजारबाट किनेर खाने कृषकले घरमै तरकारी उत्पादन गरी बजारमा बिक्री गरेको देख्दा निकै खुसी लागेको परियोजनाका बजार प्राविधिक अशोक गुरुङ बताउँछन् ।

परियोजनाले समूहमार्फत विभिन्न कृषि सामग्री, आर्थिक रकम सहयोग गरेपछि व्यवसाय गर्न कृषकलाई सहज भएको रामपुरका अगुवा कृषक नारायणप्रसाद भण्डारी बताउँछन् ।


क्लिकमान्डु