सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्ने, क्षमता विस्तारमा पनि सघाउने



काठमाडौं । उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सघाउने भएको छ ।

सो सम्वन्धि सहमति पत्रमा आज उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उद्योग मन्त्रालयका तर्फबाट सह सचिव पुरुषोत्तम नेपाल र नेपाल आँखा कार्यक्रमका तर्फबाट कार्यक्रमका कायकारी निर्देशक डा. सन्दुक रुईतले हस्ताक्षर गरे ।

मन्त्रालय र प्रतिष्ठानबिच भएको सहमति अनुसार मन्त्रालयले नेपाल आँखा कार्यक्रमले संचालन गर्ने मोतिविन्दु रोगको सल्यक्रिया गरी प्रत्यारोपण गरिने कृत्रिम लेन्सको उत्पादन गर्ने तथा सोका लागि आवश्यक सहायक सामाग्री तथा कच्चा पदार्थ समेतको उत्पादन गर्ने, उद्योग स्थापनाका निमित्त सहजिकरण र समन्वय गर्ने छ ।

कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले प्रतिष्ठानबाट उत्पादित लेन्स विभिन्न १७ मूलुकमा निर्यात भै ५० भन्दा बढि मुलुकमा वितरण भएकोले यसले राष्ट्रको प्रतिष्ठा बढ्नुको साथै वैदेशिक मुद्रा आर्जनमा समेत सघाउ पुग्न गएको बताए ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट हाल संचालित उद्योगको बार्षिक लेन्स उत्पादन क्षमता ५ लाख रहेको तर बजारमा बार्षिक १५ लाख लेन्स विक्री गर्न सकिने सम्भाव्यतालाई मध्यनजर गर्दै उद्योगको क्षमता विस्तारमा सघाउने निर्णय गरेको मन्त्री जोशीले त्यस अवसरमा बताए ।

नेपाल आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुईतले अन्तर्राष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरिय उत्पादनका रुपमा ख्याति कमाईसकेकाले मन्त्रालयको सहयोगमा विस्तार हुने उद्योगबाट बढि भन्दा बढि मात्रामा लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्न जाने बताए ।

उद्योगबाट उत्पादित लेन्सको अन्तर्राष्ट्रिय प्रबद्र्धनका निमित्त आर्थिक कूटनितीका माधयमबाट आवश्यक सहकार्य गर्ने समेत सहमति भएको छ ।

उद्योग मन्त्रालयले लेन्स उद्योग स्थापनामा रहेको प्रकृयागत समस्यालाई प्रचलित कानुनको दायरामा रही समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नुका साथै लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजिकरण गर्ने कार्यक्रममा जानकारी दिईयो ।

उद्योग मन्त्रालयले लेन्स उद्योगको क्षमता बिस्तारको लागि आवश्यक भौतिक, आर्थिक र प्रर्वाधार विकासका लागि आवश्यकता अनुसार सहजिकरण गर्ने पनि सहमतिमा उल्लेख गरिएको जानकारी मन्त्रालयले दियो ।

सहमति अनुसार नेपाल आँखा कार्यक्रमले नेपालको प्रचलित कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्धेश्य राखि अविलम्व लेन्स उद्योग स्थापना गर्ने बताईएको छ ।

हाल संचालनमा रहेको उद्योग मातहत रहेका सम्पुर्ण मेसिनरी, औजार, प्रविधि, सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याएर गुणस्तरिय लेन्सको उत्पादन गरी नेपालमा विक्री वितरण गर्नुका साथै आयात प्रतिस्थापन गर्ने गरी सहमति भएको मन्त्रालयले जनाएको छ ।

नेपाल आँखा कार्यक्रम अन्तरगत हाल प्रतिष्ठानले ४९ लाख लेन्स उत्पादन गरी विक्री वितरण गरेको जानकारी कार्यक्रममा दिईयो ।


क्लिकमान्डु