शैक्षिक प्रमाणपत्र धितो राखेर हजारौंलाई ऋणः झुटो प्रचार गरेर यसरी भोट माग्दैछ एमाले



 

काठमाडौं । चुनावको मुखमा नेकपा एमालेले हुँदै नभएको कुरा भएको दाबी गर्दै जनतासँग मत मागिरहेको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिई हजारौं बेरोजगारहरु उद्यमी बनेको र त्यस्तो व्यवस्था एमालेले मिलाएको भिडियो नै बनाएर मतदाता आकर्षित गर्न एमालेले शतप्रतिशत झुटो प्रचारबाजी थालेको हो ।

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिई हजारौं बेरोजगार युवाहरु उद्यमी बनेको भिडियो आफ्नो फेसबुक वालमा सेयर गरेका छन् ।

‘युवा मनहरुसँग यस्तो छ एमालेको सामिप्यता, छोटो भिडियो अवश्य हेरौं,’ भन्दै भट्टराईले सेयर गरेको भिडियोमा यस्तो देखाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

१ मिनेट ४९ सेकेन्ड लामो भिडियोमा केही युवाहरु क्यारेमबोर्ड खेलिरहेका छन् । सँधै ती युवाहरुसँगै क्यारेमबोर्ड खेल्ने एक युवा भने मोटरसाइकल चढेर हिँडिएको भिडियोमा देखाइएको छ । ती युवाले मोटरसाइकल चढेको देखेर क्यारेम बोर्ड खेलिरहेका बेरोजगार युवाहरु छक्क पर्छन् । मोटरसाइकलमा हिँडिरहेका ती युवालाई क्यारेमबोर्ड खेलिरहेको ठाउँमा बोलाइन्छ ।

‘ठूलै हात पर्यो कि क्याहो, जहिल्यै बाइक लिएर हुइँकिन्छन्,’ बेरोजगार युवाले सोध्छन् ।

‘के हात पर्नु र अलिकति लोन लिएर मोटरसाइकल वर्कसप खोलेको छु त्यतै जान लागेको,’ ती युवाले जवाफ दिन्छन् ।

‘अनि धितो चाहिँ के राखिस् नि,’ बेरोजगार युवाले सोध्छन् ।

‘के राख्नु नि सर्टिफिकेट राखेँ नि,’ ती युवाले जवाफ दिन्छन् ।

‘सर्टिफिगेट धितो, क्या गफ दिन्छन् यार,’ बेरोजगार युवाले पत्याउँदैनन्,– ‘सर्टिफिकेट राखेर पनि ऋण पाइन्छ कहीँ ?’

‘ल तिमीहरुलाई थाहै छैन ? नेकपा एमालेको सरकारले हामीजस्ता बेरोजगार युवालाई लक्षित गरी पढ्न, व्यवसाय गर्न सर्टिफिकेट धितो राखेर निव्र्याजी ऋण दिने व्यवस्था गरेको छ,’ ती युवाले भन्छन्,- ‘मजस्ता हजारौं युवाहरुले लोन लिएर व्यवसाय सुरु गरिसकेका छन् ।’

‘कुरो त गज्जबको सुनाइस तैंले, ए केटा हो हामी पनि शैक्षिक प्रमणपत्र धितो राखेर व्यवसाय सुरु गर्ने कि क्या हो ?’ क्यारेमबोर्ड खेलिरहेका एक युवाले भन्छन् ।

त्यसपछि क्यारेमबोर्ड खेलिरहेका सबै युवाहरुले एकै स्वरमा भन्छन्,- ‘हामी सबै एमाले सरकारले सुरु गरेको शैक्षिक लोनमार्फत आफ्नो भविष्य सुरक्षित बनाउँछौं ।’

ऋण लिने त कुरै छाडौं, यो कार्यक्रम लागू नै भएन

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम नै लागू नभएको बताउँछन् । कार्यक्रम नै लागू नभएपछि अहिलेसम्म एकजनाले पनि यस्तो ऋणको सुविधा लिएका छैनन् ।

तर, एमालेले भने हजारौं युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिएको भन्दै झुटो प्रचार गरेर भोट मागिरहेको छ ।

भ्रमको खेती गर्न बजेट भाषण

केपी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले ०७३/७४ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋण उपलब्ध गराउने घोषणा गरेका थिए ।

०७३ बैशाख २६ गते राष्ट्रपति विद्या भण्डारीले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा युवाहरुलाई उद्यमशील बनाई राष्ट्रिय उत्पादन बढाउने भन्दै शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने उल्लेख थियो । सोही नीति तथा कार्यक्रममा टेकेर अर्थमन्त्री पौडेलले ०७३ जेठ १५ गते यो कार्यक्रम बजेटमा पनि समाबेस गरेका थिए ।

संसदमा अविश्वासको प्रस्ताब दर्ता भइसकेको अवस्थामा सरकारले पूरा गर्नै नसकिने ‘हावादारी योजनाहरु’ बजेटमार्फत घोषणा गरिएको थियो । बजेट ल्याए लगत्तै एमाले सरकारबाट बाहिरियो ।

बजेट भाषणमा सर्टिपिकेट धितोमा ऋण दिने उल्लेख गरेपछि बैंकरहरुले सो कार्यक्रमको खुलेरै विरोध गरे । बैंकरहरुले कुनैपनि हालतमा यस्तो ऋण दिन नसक्ने दाबी गरे ।

सरकारको यो घोषणा कार्यान्वयन गराउने निकाय हो नेपाल राष्ट्र बैंक । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सर्टिफिकेट धितो राखेर ऋण दिने बजेटमा भएको घोषणाबारे कुनैपनि सम्बोधन नै गरेन ।

शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने विषयमा मौद्रिक नीतिले कुनैपनि सम्बोधन गरेन नि, किन रु भन्ने प्रश्नमा गभर्नर डा। चिरञ्जीबी नेपालले यस्तो जवाफ दिएका थिए, ‘यसबारे मौद्रिक नीतिमा बोलिरहनु जरुरी छैन । बैंकका सीइओ साबहरु यहीँ हुनुहुन्छ, उहाँहरुले दिनुहुन्छ भने मलाई के आपत्ति भो र ?’

सरकारले सस्तो लोकप्रियताका लागि कार्यान्वयन नै गर्न नसकिने घोषणा गरेकाले मौद्रिक नीतिले सम्बोधन नगरेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका थिए ।

शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने नीति राजनीतिक नेतृत्वले सस्तो लोकप्रियताका लागि जे मन लाग्यो त्यही नीति ल्याएपछि त्यो कार्यान्वयन हुँदन भन्ने गतिलो प्रमाण भएको उनले बताए ।

‘प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको नियत नै जनतामा भ्रम सिर्जना गरी आफू लोकप्रिय बन्नेमात्रै देखियो,’ ती बैंकरले भने,- ‘विभिन्न बहानामा नेपालमा भ्रमको खेती सपारेर जनमत बटुल्ने गलत संस्कार छ ।’

एमालेले अहिले जसरी भिडियो बनाएर भोट मागिरहेको छ, यसबाट के पुष्टि हुन्छ भने भ्रमको खेती गर्न बजेट भाषण गरिएको हो ।

युवराज खतिवडाको लज्जास्पद विज्ञता

नेकपा एमालेको भातृ संस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले डिग्री पास गरेकालाई १० लाख, बीए पास गरेकालाई ७ लाख र आइए पास गरेकालाई ५ लाख रुपैयाँ सहुलियत दरमा ऋण सुविधा उपलब्ध गराउने माग गर्दै आएको थियो ।

अनेरास्ववियुले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडालाई भेटेर प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था मिलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्ने क्रममा अर्थमन्त्री पौडेल र उपाध्यक्ष खतिवडाले यो कार्यक्रम अत्यन्तै सफल हुने बताएका थिए । उनीहरु दुबैजनाले हामी यो व्यवस्था गर्छौं, तपाईहरु ढुक्क हुनुहोस् भनेर ज्ञापनपत्र बुझाउन गएको टोलीलाई विश्वस्त बनाएका थिए ।

२ पटा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका र राष्ट्र बैंकको गभर्नर भएर काम गरिसकेका डा. युवराज खतिवडाको सक्रियतामा यस्तो हावादारी कार्यक्रम आउनु भनेको लज्जास्पद भएको बैंकरहरुको प्रतिक्रिया छ ।


पुष्प दुलाल