यी हुन् राजनीतिमा लागेर तहल्का मच्चाउने खर्बपति



काठमाडौं । राजनीतिमा लागेपछि अर्बपति र करोडपति भएका उदाहरण संसारमा प्रशस्त भेटिन्छन् । बिशेषगरी आफ्नो हैकम र तजबिजमा मुलुक हाँक्ने तानाशाहहरुले अकुत सम्पत्ति कमाउने गरेका छन् ।

बिश्व तानाशाहहरुको कुरा गर्ने हो भने इराकका सद्धाम हुसैन, लिबियाका मुअम्मर गद्धाफी र इजिप्टका होस्नी मुम्बारक, उत्तर कोरियाका किम जोङ उन केही उदाहरण हुन् ।

प्रजातान्त्रीक देशकै कुरा गर्दा पनि रुसका राष्ट्रपति भ्लादमिर पुटिनले पदको दुरुपयोग गरी अर्बौं डलरको सम्पत्ति थुपारेको आरोप लाग्ने गरेको छ ।

नेपालकै सन्दर्भमा कुरा गर्दा पनि २०४६ सालको परिवर्तन अघि खासै आर्थिक हैसियत नभएकाहरु र पछि पनि राजनीति बाहेक अरु ब्यवसाय नगरेकाहरुले छोटो समयमै ठूलो आर्थिक फड्को मारेको हामीले आँखै अगाडि देखेकै छौं ।

समग्रमा भन्दा राजनीतिमा लागेर अकुत सम्पत्ति कमाएका उदाहरणहर बिश्वभरी पाइन्छन् । तर, यहाँ भने पहिल्यै अर्बपति भएरपछि राजनीतिमा प्रवेश गरेका केही अर्बपतिहरुका बारे चर्चा गरिनेछ ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पहिलो अर्बपति ब्यापारी हुन् । जर्ज डब्लु बुस र हर्बट हुभरले क्रमशः तेल कम्पनी र माइनिङ् कम्पनी चलाएका थिए ।

तर, उनीहरु राष्ट्रपनि हुनुपुर्व नै राजनीतिमा प्रवेश गरेर महत्वपूर्ण पदहरु सम्हालिसकेका थिए । ट्रम्प भने सीधै राष्ट्रपतिमा निवार्चित भएका हुन् ।

ट्रम्प राष्ट्रपति हुनुपूर्व घरजग्गा ब्यवसायी थिए । र, फोब्र्सको अर्बपति सूचिमा पनि सूचिकृत भएका थिए । उनीसँग हाल ३.५ अर्ब डलरको सम्पत्ति रहेको छ ।

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्रलुस्कोनी पनि अर्बपति राजनितिज्ञ हुन् । उनी पनि डोनाल्ड ट्रम्प जस्तै बिलासी जिवनशैलीका लागि परिचित छन् । उनले पनि डोनाल्ड ट्रम्प जस्तै घरजग्गाको कारोबार बाट आफ्नो ब्यवसायीक यात्रा सुरु गरेका थिए ।

दुई दशकसम्म इटालीको राजनीतिक केन्द्रमा रहेका बर्रलुस्कोनी आफ्नो कार्यकाल भरी निकै बिवादास्पद रहे । कर छली, कम उमेरका महिलाहरुसँगको यौन सम्पर्क लगायत धेरै आरोपहरु उनलाई लागे । उनीसँग ७.१ अर्ब डलरको सम्पत्ति छ ।

युक्रेनका हालका राष्ट्रपति पेट्रो पोरोसेचेन्को अर्का अर्बपति राननीतिज्ञ हुन् । उनी सन् २०१४ मा युक्रेनको राष्ट्रपति भएका थिए । उनी युरोप र अमेरिकी नेताहरु सँग नजिक मानिन्छन् ।निर्वतमान अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनको राम्रो सम्बन्ध छ ।

उनी रोसहेन नामको ठूलो चकलेट बनाउने कम्पनीका मालिक हुन् । उनलाई युक्रेनमा चकलेट किङका नामले पनि चिनिन्छ । उनीसँग १.३ अर्ब डलरको सम्पत्ति छ ।

थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनार्वाता पनि अर्बपति राजनीतिज्ञ हुन् । उनी सन् २००१ देखि सन् २००६ सम्म थाइल्याण्डका प्रधानमन्त्री थिए । उनीमाथि भष्ट्राचार र कर छलिको आरोप पनि लागेको थियो । उनी सेनाको ‘कु’ पश्चात सत्ता च्युत भएका थिए ।

उनको ब्यवसाय प्रबिधि र सञ्चार क्षेत्रमा फैलिएको छ । उनीसँग १.६१ अर्ब डलर सम्पत्ति छ ।
चिलिका सबास्टियन पिनेरा पनि अर्बपति बने पछि राजनीतिमा प्रवेश गरेका थिए । उनी सन् २०१० देखि २०१४ सम्म चिलिको राष्ट्रपति थिए ।

उनको चार बर्षे कार्यकालमा चिलिले राम्रो आर्थिक बिकास गरेको थियो । तर, उनी भने लोकप्रिय बन्न सकेनन् । चिलिको संबिधानले लगातार दुई पटक राष्ट्रपतिको चुनावमा उठ्न प्रतिबन्ध लगाएको छ । त्यसैले उनी फेरि सन् २०१८ को राष्ट्रपति चुनावमा उठ्ने संभावना छ ।

पिनेरा सन् १९८२ ताका बैंकको कार्यकारी थिए । त्यसबेला उनले बैंकिङ कानुन उल्लंघन गरेका कारण पक्राउ पनि परेका थिए । उनीसँग हाल टेलिभिजन कम्पनी, एअरलाइन्स, फुटबल क्लब लगायमा ठूलो लगानी छ । उनीसँग २.७ अर्ब डलरको सम्पत्ति छ ।


पुष्प दुलाल