एभरेष्ट बैंकको ८६ लाख कित्ता संस्थापक सेयर साधारण बन्दै, के हुन्छ पिएनबीको ?



काठमाडौं । एभरेष्ट बैंकले ८६ लाख कित्ताभन्दा बढी संस्थापक सेयर साधारणमा परिणत गर्ने भएको छ । बैंकको बुधवार हुन लागेको विशेष साधारणसभाले यस्तो निर्णय गर्न लागेको हो ।

राष्ट्र बैंकको नीतिगत ब्यवस्थाको पालना गर्न एभरेष्टले यस्तो निर्णय गर्न लागेको छ । राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थामा संस्थापकले ५१ प्रतिशत सेयर राख्न पाउने नीतिगत ब्यवस्था गरिसकेको छ ।

एभरेष्टमा अहिले प्रमोटरको ७० प्रतिशत सेयर छ । सो ७० प्रतिशत प्रमोटरमध्ये १९ प्रतिशत सेयर साधारणमा परिणत गर्न एभरेष्टले बुधबारको विशेष साधारणसभामा प्रस्ताव लादैछ ।

‘५१ प्रतिशतभन्दा बढी संस्थापक समुहको सेयर साधारण समुहमा परिणत र बिक्री सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् पुँजी संरचना परिवर्तन गर्न प्रबन्ध पत्रको दफा ५ संसोधन गर्ने,’ बैंकले बुधबार गर्न लागेको विषेश साधारणसभाको विषय सुचीको दोस्रो बुदामा लेखिएको छ ।

बैंकको अहिले ४ अर्ब ५२ करोड ६४ लाख २७ हजार रुपैयाँ चुक्ता पुँजी छ । यसको १९ प्रतिशत भनेको ८६ लाख २ सय ११ कित्ता सेयर हुन आउँछ ।

कसले परिवर्तन गर्दैछ सेयर ?
एभरेष्टका संस्थापक सेयरधनी ९ जना ब्यक्ति र संस्था मात्रै छन् । यसमध्ये भारतको पन्जाव नेसनल बैंक (पिएनबी) को २०.०५ प्रतिशत संस्थापक सेयर छ । यस्तै विके श्रेष्ठको ९.१९ प्रतिशत, स्नो लायन होटल बागबजारको ९.३२, मैत्रदेब पाठकको ५.६९, राधा श्रेष्ठको ८.७७ प्रतिशत र नेपाल कृष्ण श्रेष्ठको ९.३० प्रतिशत संस्थापक सेयर छ ।
यस्तै अरुणमान सेरचनको ३.८० प्रतिशत, शान्तदेब पाठकको २.३३ प्रतिशत र कुलबीर सिंह तुलाधरको १ प्रतिशत सेयर छ । बाँकी ३० प्रतिशत भने सर्बसाधारणको सेयर छ ।

पन्जाब नेसनलको सेयर के हुन्छ ?
एभरेष्टको संस्थापक सेयर परिवर्तनमा राष्ट्र बैंकको भूमिका अहम हुने देखिएको छ । राष्ट्र बैंकको नीतिकै कारण यस्तो हुने देखिएको हो ।

नेपालका बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरधनी बन्न विदेशी बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा २० प्रतिशत सेयर लगानी गर्नै पर्ने हुन्छ । यस्तो लगानी बढीमा ८५ प्रतिशतसम्म गर्न पाइन्छ ।

तर यस्तो सेयर संस्थापकै रहिरहनु पर्ने वा साधारण भएपनि हुने भन्ने प्रष्ट ब्यवस्था छैन । पन्जाबले एभरेष्टमा २० प्रतिशत संस्थापक सेयर नै राख्नु पर्ने भन्ने राष्ट्र बैंकको ब्याख्या आयो भने सो पन्जाबको संस्थापक सेयर साधारणमा परिवर्तन गर्न पाइने छैन । तर साधारण सेयर भए पनि हुने भन्ने राष्ट्र बैंकको ब्याख्या आयो भने पन्जाबले पनि आफ्नो सेयर साधारणमा परिवर्तन गरेर राख्ने सम्भावना छ ।

‘संस्थापक सेयरको मूल्य साधारणको भन्दा करिब आधा हुने गरेको छ, विदेशी बैंकको २० प्रतिशत सेयर संस्थापक सेयरकै रुपमा रहनुपर्छ भनेर राष्ट्र बैंकले भन्यो भने परिवर्तन हुँदैन, नत्र साधारण गर्दा पनि हुने ब्याख्या आयो भने बजारमा बढी मूल्य पाइने हुँदा सबैले साधारणमा परिणत गर्ने प्रयास गर्लान्,’ एभरेष्ट बैंकका एक संस्थापकले क्लिकमाण्डुसँग भने ।

ब्यवस्थापिका संसदबाट हालै पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा भने राष्ट्र बैंकको स्वीकृतिमा सबै संस्थापक सेयर साधारणमा परिणत गर्न पाउने ब्यवस्था छ ।

अरु प्रस्ताव के छ ?
एभरेष्टले विशेष साधारणसभा बोलाएपछि लक्ष्मीसँग मर्जरको व्यापक हल्ला चल्यो । एभरेष्टले विशेष साधारणसभा कुनैपनि बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजेशनमा जानको लागि संचालक समितिले अधिकार लिनेगरी प्रस्ताव पेश गर्दै छ ।

यस्तै साधारणसभामा संस्थापक सेयरधनीले आफनो भागको हकप्रद सेयर खरिद गर्ने अरुलाई हस्तान्तरण गर्ने प्रस्तावपनि साधारणसभामा लगिन लागेको छ ।

संचालक समितिले साधारणसभामा प्रस्ताव गरेको विषय सेयरधनीले कसरी लिन्छन् पास हुन्छ हुँदैन यसको लागि भने साधारणसभा नै कुर्नुपर्छ । जुन बुधबार हुँदैछ ।


क्लिकमान्डु