टेलिकम सहमत भए यस्तो बन्नेछ धरहरा




काठमाडौं । २०७२ को भूकम्पको कारण भत्किएको धरहरा कसले बनाउने भन्ने टुंगो आइबार लाग्ने भएको छ । धरहराको ऐतिहासिक महत्व कायम राख्दै कन्सेप्चुअल प्लान बनाएर पूरातत्व विभागले नेपाल टेलिकमलाई बुझाए पछि कसले बनाउने भन्ने तय हुने भएको हो ।

विभागले आइतबार प्लान तयार पारेर टेलिकममा बुझाउने तयारी भएको विभागका सिनियर इन्जिनियर सम्पद घिमिरेले जानकारी दिए । विभागले बनाएको प्लानमा टेलिकम सहमत भएमा धरहरा पुननिर्माणको जिम्मा उसैलाई दिइने छ ।

‘विभागले बनाएको कन्सेप्चुअल प्लान आइतबार टेलिकममा प्रस्तुत गर्दैछौं, हाम्रो प्लानमा टेलिकम सहमत भएमा पुननिर्माण जिम्मा टेलिकमले पाउछ,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

प्लान अनुसार धरहरा पूननिर्माणका लागि २ अर्ब ८० करोड रुपैयाँ खर्च लाग्ने छ । कन्सेप्चुअल प्लान निर्माणको को जिम्मा पाएको केज कन्सल्टले २०७३ फागुन २८ गते विभागमा प्लान बुझाएको छ ।

‘कन्सल्टेन्टले बनाएको प्लानमा पुरात्वतिक हिसावले केही त्रृटि थियो, त्रृटि सूधार गर्न समय लागेको हो, अब तयार भयो, टेलिकमलाई त्यो प्लान दिदैछौं,’ घिमिरेले भने ।

कति क्षेत्रफलमा बन्छ घरहरा ?
०७२ सालको विनासकारी भुकम्पले ध्वस्त भएको धरहराले ६ रोपनी क्षेत्रफल ओगटेको थियो । अब बन्ने नयाँ धरहराले २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफल ओगट्ने घिमिरेको भनाइ छ ।

थप २३ रोपनी जमिन गोश्वारा हुलाक र टक्सार विभागको हो । दुबै निकायले जग्गा दिन सहमति जनाएकोले फराकिलो क्षेत्रफलमा धरहरा बनाउन लागिएको हो । नयाँ बन्ने धरहरा भुकम्प प्रतिरोधी हुने घिमिरे बताउँछन् ।

बुट मोडेलमा बन्ने
नयाँ धरहरा टेलिकमले बुट मोडेल अन्तरगत निर्माण गर्ने जानकारी विभागलाई दिएको छ । बुट मोडेलमा टेलिकमले धरहरा निर्माण गरेमा २५ वर्षपछि सरकारलाई हस्तातरण गर्ने विभागका सिनियर डिभिजनल इन्जिनियर घिमिरेले जानकारी दिए ।

धरहरा कस्तो हुन्छ ?
विभागका अनुसार धरहरा पुननिर्माण गर्दा अहिलेको भग्नावशेषलाई संरक्षण गरेर त्यसलाई भूकम्प स्मारक पार्कको रुपमा स्थापित गरिनेछ । हेर्दा पूरानो जस्तै देखिए पनि नयाँ बन्ने धरहरा ११ तल्ला (२ सय ४५ फिट अग्लो) र भित्री भाग आधुनिक हुनेछ ।

धरहरा चढ्न आउने स्वदेशी तथा विदेशी पयर्टकको सुविधाका लागि २ वटा लिप्mट हुनेछ । धरहराको दुई तल्लामा अन्डरग्राउन्ड पाकिङको सुविधा हुन्छ भने १७ सिट क्षमता भएको थिएटर पनि निर्माण गरिनेछ ।

धरहरामा म्युजियम पनि निर्माण गरिनेछ । टक्सारमा पुरानो सिक्का र सिक्का छाप्ने मेसिन छ । त्यो मेसिन र सिक्का राख्नका लागि म्युजियमा आवश्यक रहेको घिमिरे बताउँछन् ।

धरहरासँग सुन्धरालाई सुन्दर बनाउनका लागि बगैचा पोखरी जस्ता आकर्षक संरचना पनि निर्माण गरिने छ । अपांगले पनि धरहरा चढ्न सक्ने गरी अपांगमैत्री बनाउन लागिएको घिमिरेले जानकारी दिए ।

व्यापारिक संस्थाले धरहरा निर्माण गर्ने भएकाले उसले त्यहाँ व्यापारिक गतिविधि गर्न पाउँछ । तर धरहराको बाहिरी भागमा कुनै पनि व्यापारिक गतिविधि गर्न नदिने पुरात्व विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु