हो ! नेपालमै सकिन्छ



धेरै युवालाई नेपालमा केही अवसर छैन भन्ने लाग्छ । त्यसैले यतिखेर युवा गाउँ वस्न चाहदैनन्, शहर भित्रिन्छन् । शहरमा पनि अडिदैनन् विदेश भासिन्छन् । विदेशिनुका खास कारणहरु छन् । नेपाल वस्न नचाहनु वा नसक्नुका पनि खास कारणहरु छन् ।

विश्वव्यापीकरण र भुमण्डलीकरणले गाजेको छ नेपाली समाजलाई । नव उदारवादी अर्थनीतिलाई अंगिकार गर्दा गर्दै नेपालको आफ्नो भन्ने सबै कुरा सक्दै लगिएको छ भने नयाँ स्थापना गर्न सकिएको छैन । बासवारी छाला जुत्ता कारखाना, हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट त्यसका केहि उदाहरण मात्रै हुन ।

अर्कोतिर नेपाली युवा विदेशिदा गाउँको खेतबारी बाझिदै गएका छन् । खेती किसानी गर्ने र मर्दापर्दा चाहिने मानिस यतिखेर गाउँमा छ्रैनन् । तर एउटा रोचक कुरा के देखिन्छ भने नेपालमा कामले पर्याप्त कामदार पाईरहेको छैन । शहरमा कामदारको अभाव छ । कसैले घर बनाउन लागेको छ भने ग्रिलको काम गर्ने, फर्निचरको काम गर्ने, विजुलीको काम गर्ने, रंगरोगनको काम गर्ने मानिस नपाउँदा महिनौसम्म काम लम्बिरहेको छ ।

यो यथार्थ धेरैलाई थाहा छ । तर कोही पनि यस तथ्यलाई हृदयंगम गर्न तयार छैनन् । यस तथ्यलाई देखेको नदेख्यै गर्ने र म्यानपावर अफिस तिर दौडिने युवाको लर्को देखिरहेका छौं । हरेक दिन झण्डै १५ शय भन्दा बढी युवा यसैगरी प्रवासिईरहेका छन् ।

नेपालमा सम्भावना सकियो भन्नेहरुलाई यस पुस्तकले उसको दृष्टिकोण बदल्न सहयोग गर्छ । जम्मा २१४ पेज लामो पुस्तक दुई वसाईमा पढि सकिन्छ । पढुञ्जेल अल्छि लाग्दैन । नेपालको समृद्धि हामीले वेवास्ता गरिरहेका वा देख्दा सानो लाग्ने कामहरुमा छ भन्ने यस पुस्तकको सन्देश हो ।

के सबै युवा यसैगरी विदेशमा मात्र सम्भावना देखेर उतै दौडिईरहेका मात्रै छन् ? विए एमए पढेर सानो तिनो काम गर्नुहुदैन भन्ने युवाको संख्या धेरै छ भनिन्छ । तर के सबै यही सोचमा रुमल्लिरहेका छन् त ? अमेरिका, वेलायत, अष्टेलियाको डिभी पिआरको लागि मरिहत्ते गर्ने धेरै देखिन्छन् । के यसरी डिभी पिआर लिनेहरु सधैका लागि नेपाल फर्केका छैनन् त ?

यी र यस्तै प्रश्नहरुको जवाफ नेपालमै सकिन्छ पुस्तकले दिन्छ । नेपालमा कहाँ कहाँ सम्भावना छन् ? कसरी नेपालमै बसेर महिनाको लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकिन्छ ? यसको सिलसिलेवार जवाफ दिएका छन् पत्रकार रोहित भण्डारीले नेपालमै सकिन्छ पुस्तक मार्फत ।

पुस्तकको नामः नेपालमै सकिन्छ
लेखक: रोहित भण्डारी
प्रकाशकः जयकाली प्रकाशन प्रा.लि.
पेजः २१४
मुल्य रू ३००

नेपालमा रोजगारीका अत्यन्तै धेरै अवसर छन् । जतासुकै पैसा नै पैसा छ । तर यसलाई पहिचान गर्न सक्ने क्षमता र दृष्टिकोणको अभाव रहेको छ । यहाँ कपाल काटेर महिनामा एक लाख भन्दा बढी आम्दानी गर्नेछन् । पुरानो फर्निचरको कारोबार गरेर मासिक आम्दानी लाख कटाउने छन् । खरायो वा कुकुर पालेर मासिक आम्दानी लाखौमा गर्न सकिने सम्भावना भएको ठाउँ हो नेपाल ।

माछाको व्यापार गरेर मात्रै कार चढेर हिड्ने हैसियत बनाउनेहरु कति छन् कति । विजुलीको हाउस वायरिंगको काम गरेर काठमाडौमा वंगाला ठड्याउनेहरु पनि यहाँ छन् । कपडा सिलाएर जागिरेले कल्पना नै गर्न नसकिने कमाई गरिरहेकाहरु छन् । कोठामा चिया पकाएर थर्मसमा बजार पुर्याएर बेचेरै मासिक आम्दानी ५० हजारभन्दा बढी कमाउने युवा छन् । तर यस्ता सम्भावनालाई वेवास्ता गरेर विदेश दौडिनेहरुको बाहुल्यता छ । आफ्नै घरपरिवारसँग बसेर काम गर्न छाडेर मरुभुमिमा पसिनाले सिंचाई गर्न विदेशिनेहरुले एकपटक पढ्नै पर्ने पुस्तक हो नेपालमै सकिन्छ ।

खासगरी नयाँ शिक्षा नीति २०२८ को मलजलबाट हुर्किएको पुस्ताले अहिले उच्च शिक्षा लिएको छ । अझ २०४६ को राजनीतिक परिवर्तन पछि मुलतः शहरी क्षेत्रमा निजी र ग्रामीण क्षेत्रमा सामुदायिक क्याम्पस खुल्ने क्रम बढ्यो । यसैको कारण अहिलेका युवाले स्नातक वा स्नातकोत्तरसम्मको पढाई सकेका छन् । उच्च शिक्षा लिएका युवाले कामलाई सानो र ठुलो भनि बर्गिकरण गर्न थालेसँगै कामले कामदार नपाउने र कामदारले काम नपाउने अवस्थाको सृजना भएको छ ।

नेपालमै सकिन्छ पुस्तकमा पत्रकार रोहित भण्डारीले त्यस्ता युवालाई समेटेका छन्, जसले आफ्नो औपचारिक अध्ययन सकेपछि पनि अरुले सानो भनेर नगरिरहेका काम गरेर मासिक लाखौ रुपैयाँ कमाईरहेका छन् । देख्दा सानो लाग्ने काम गरेर उत्कृष्ट आम्दानी गरिरहेका युवाका संघर्ष र सफलताका कथा पढ्दा निकै उत्साह मिल्छ । नेपालमा सम्भावना नभएको होईन त्यस्ता सम्भावनालाई पहिचान गर्न नसकिएको हो भन्ने प्रष्ट सन्देश पाठकले पाउँछन् । ब्राण्डिङ र मार्केटिंग गर्न सक्ने हो भने गुद्रुक, मस्यौरा, आलु बेचेरै लखपती बन्न सकिन्छ भन्ने सन्देश दिएको छ । यस्ता सन्देश कुनै नेता वा विज्ञबाट होईन । यस्तै काम गरेर वास्तविक जीवनमै आम्दानी गरिरहेकाहरुको कथाले दिन्छ । यस्ता युवाका संघर्ष र सफलताका कुरा पढ्दा आफैले पनि केही गरौं भन्ने सन्देश त दिन्छ नै त्यसको साथै आत्मविश्वास पनि बढाउँछ ।

पुस्तकमा जम्मा तीनवटा खण्ड छन् । पहिलो खण्डमा देख्दा सानो लाग्ने तर त्यही कामले लखपती भएकाहरुको कथा समेटिएका छन् । यसले धेरै युवालाई कामलाई सानो ठुलो नभनी मेहनत गरेमा आफ्नै परिवारसँगै बसेर पनि लाखौ रुपैयाँ कमाउन सकिन्छ भन्ने आत्मवोध गर्न सघाउँछ । यही खण्डमा केही असफल व्यक्तिको कथा पनि लेखकले समेटेका छन्, जसले कस्ता कमजोरी भयो भने असफल भईन्छ भन्ने जानकारी पाउन सक्छन् ।

यसैगरी दोस्रो खण्डमा युरोप, अमेरिका तथा अष्टेलियाको पिआर डिभि छाडेर नेपालमै फर्केर काम गरिरहेकाहरुको उत्प्रेरक कथाहरु समेटिएका छन् । यसले विदेश के हो ? के होईन ? भन्ने प्रश्नको जवाफ दिन्छ । यसैगरी विदेशमा गर्ने जती मेहनत गर्यो भने नेपालमा त्यो भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रष्ट सन्देश दिएको छ ।

धेरैलाई लाग्ने विदेशको सम्भावना छाडेर नेपाल फर्किएकाहरुको अनुभवले विदेशको मोह भंग गर्नको लागि सहयोग गर्दछ । विदेशमा पैसाको बोट छैन । बरु नेपालमा भन्दा धेरै दुख्ख, कष्ट र समस्याहरु छन् भन्ने कुरा दोस्रो परिच्छेदले प्रष्ट्याउँछ । यसैगरी तेस्रो खण्डमा डिग्री सकेर अरुले सानो भन्ठानेका काम गरेर उत्कृष्ट आम्दानी गरिरहेका युवाको सफलतालाई समेटिएको छ ।

नेपालमा सम्भावना सकियो भन्नेहरुलाई यस पुस्तकले उसको दृष्टिकोण बदल्न सहयोग गर्छ । जम्मा २१४ पेज लामो पुस्तक दुई वसाईमा पढि सकिन्छ । पढुञ्जेल अल्छि लाग्दैन । नेपालको समृद्धि हामीले वेवास्ता गरिरहेका वा देख्दा सानो लाग्ने कामहरुमा छ भन्ने यस पुस्तकको सन्देश हो ।

लखपती तथा करोडपती बन्ने सपना नेपालमै बसेर पुरा गर्न सकिन्छ । निजी गाडीमा हुईकिने सपना नेपालमै बसेर पुरा गर्न सकिन्छ । सम्वृद्ध जीवन विताउने हाम्रो सपना नेपालमै बसेर पुरा गर्न सकिन्छ । यसको लागि एउटै सुत्र छ । त्यो हो कामलाई सानो वा ठुलो भनेर वर्गिकरण नगर्ने । आफुलाई रुचि लागेको, गर्न मन लागेको र सम्भावना देखेको क्षेत्रमा पाईला चाल्न र पसिना बगाउन सकियो भने यहाँ जति पनि सम्भावना छ । जहाँ तही छ पैसा । वश त्यसलाई चिन्न सक्नुपर्छ । यस्तो सम्भावनाको क्षेत्र पहिचान गर्नको लागि नेपालमै सकिन्छ पुस्तकले निकै सहयोग गर्छ । नेपालमा केही छैन, यहाँ बसेर समृद्ध जीवन विताउन सकिन्न भन्नेलाई नेपालमै सकिन्छ पुस्तक पढ्न सिफारिस गर्दछु ।


क्लिकमान्डु