१० वर्षमा २० हजार मेगावट बिजुली निकाल्ने उर्जामन्त्रीको घोषणा



फाइल फाेटाे

काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले अबको १० वर्षमा २० हजार बिजुली निकाल्ने सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताए ।

यसअघिका उर्जामन्त्री टोपबहादुर रायमाझीले १० वर्षमा १० हजार मेगावाट बिजुली निष्काशन गर्ने लक्ष्यसहित १४ महिना ९१ बुँदे उर्जा संकट न्यूनिकरण तथा विद्युत विकास दशक कार्ययोजना ल्याएका थिए ।

तर, मन्त्री शर्माले अघिल्लो सरकारको योजनाभन्दा निकै बढी महत्वकांक्षी योजना अघि सारेका हुन् । शर्माका अनुसार सरकारको प्रत्यक्ष नेतृत्वमा आगामी ७ वर्ष भित्र ८ हजार मेगावाट बिजुली निकालिने छ ।

ठूला जलशाययुक्त आयोजना पश्चिम सेती, नलसिंहगढ, नौमुरे, उत्तर गंगा, बुढीगण्डकी, सुनकोशी १,२,३, दुधकोशी, अरुण, तमोरलगायतका आयोजनाबाट सो बिजुली निकालिने उनले जानकारी दिए ।

त्यसैगरी, रनअफ रिभरबाट प्राइभेट र सरकारी क्षेत्रबाट बनिरहेका ९ हजार मेगावट ७ वर्षमा निर्माण गर्न सम्भव छ । त्यस्तै, ७ वर्षमा १७ हजार मेगावट विजुली सजिलै उत्पादन गर्न सक्नेछौं, सजिलै भन्नुको मतलब त्यसका लागि कमिट्मेन्ट आवश्यक रहेको उनको भनाई थियो ।

यसरी बिजुली थपिएपछि देशको आर्थिक क्षेत्रमा ठूलो विस्तार हुने उनले बताए । यो वर्ष लोडसेडिङ अन्त्य भएकै कारणले ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुने शर्माको दाबी छ । सरकारको लक्ष्य अनुसार बिजुली उत्पादन भएपछि दोहोरो अंकको आर्थिक वृद्धिदर हुने उनले बताए ।

कहाँबाट आउँछ लगानी ?

नेपाली जनतासँग भएको पैसा छरिएर रहेको र विदेशमा रहेका श्रमिक युवाहरुको लगानीलाई सुश्चिता गर्ने, सरकारी संस्थाहरुको पुँजी परिचालन गर्ने, स्वदेशी बैंक तथा वित्तीय संस्थाहरु र निजी क्षेत्रहरुका न्युनतम लगानी गनुपर्ने शर्माले बताए ।

थप लगानीका लागि सरकारले सहुलियत दरमा ऋण लिन सक्छ । र, सरकारलाई त्यो सुविधा पनि भएको उनले बताए ।

‘हामी ठूला आयोजना बनाउँन आफै सक्षम छौं,’ मन्त्री शर्माले भने ।

५ वर्षभित्र सबै नागरिकसँग जलविद्युतको सेयर

मन्त्री शर्माले अबको ५ वर्षभित्र सबै नागरिकसँग १ लाख रुपैयाँ बराबरको जलविद्युत कम्पनीको सेयर हुने दाबी गरे ।

‘सर्वसाधारणले पैसा तिरेर मात्र नभई जलविद्युत् आयोजनामा श्रमदान गरेरपनि सेयर लिन पाउने छन्,’ उनले भने ।


पुष्प दुलाल