तपाईंको गाउँमा १००० घर छन् ? अब सरकाले नै बनाइदिन्छ सबै पूर्वाधार



काठमाडौं । तपाईंको गाउँमा १००० घर छन् ? छन् भने सरकारले सबै पूर्वाधार बनाइदिने भएको छ । सरकारले ढल, खानेपानी, बाटोघाटो, विद्यालय, बजार, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायतका आवश्यक पूर्वाधार बनाइदिने भएको हो ।

सहरी विकास मन्त्रालयको प्रस्ताबमा मन्त्रिपरिषदले हालै पारित गरेको १५ वर्षे सहरी विकास रणनीतिमा १००० घर भएका गाउँलाई एकिकृत बस्तीकोरुपमा अघि बढाउने भएको छ । त्यसका लागि सरकारले १००० घर भएका गाउँहरुको पहिचान गरिहेको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।

‘अब निर्माण गरिने एकीकृत वस्तीहरुमा सरकारले सबै पूर्वाधार बनाइदिने छ,’ मन्त्री केसीले क्लिकमाण्डूसँग भने,– ‘हामी अहिले गाउँहरुको पहिचान गरिरहेका छौं । केही समयभित्रै हामी त्यस्ता गाउँहरुको नाम सार्वजानिक गर्छौं ।’

बाक्लो बस्ती भएका गाउँहरुलाई ग्रामीण शहरीकरणको मोडेलमा विकास गरिने उनले जानकारी दिए ।

‘आजसम्म हामीले हाम्रा बस्तीहरु योजनावद्धरुपमा बसाएका छैनौं, जसले गर्दा सरकारले गाउँ–गाउँसम्म विकास पुर्याउन सकिरहेको छैन,’ उनले भने– ‘‘अहिलेसम्म जेजस्तो छ त्यसलाई सुधार्दै जाने हो । र, आगामी दिनमा यसरी अघि बढ्नुपर्छ भन्ने नीतिगत व्यवस्था गरेका हौं ।’

१३ वटा स्याटालाइट सिटी

त्यसैगरी सरकारले १३ वटा स्याटालाइट सिटी बनाउने तयारी थालेको छ । स्याटालाइट सिटी बनाउनका लागि भएको अध्ययन अन्तिम चरणमा पुगिसकेको मन्त्री केसीले बताए । ती स्याटालाइट सिटीहरु अन्तराष्ट्रिय स्तरका हुनेछन् ।

‘हामीले काठमाडौ भित्रै ४ वटा सहरहरुलाई स्याटालाइट सिटीको रुपमा नयाँ शहरकोरुपमा विकास गर्दैंछौं,’ उनले भने,– ‘कुन कुन सहरलाई स्याटालाइट सिटी बनाउने भनेर ठाउँको पहिचान भइसकेको छ । केहीदिन भित्रै सार्वजानिक गर्छौं ।’

स्याटालाइट सिटी बनाएपछि काठमाडौंको कन्जस्टेड एरिया छ, त्यो नयाँ सहरतिर सर्ने भएकाले उपत्यका केही खुकुलो हुने सरकारको विश्वास छ ।

‘काठमाडौंको अस्तव्यस्ततालाई केही सहज बनाउन हामीले केहीदिन भित्रै नयाँ स्मार्ट सिटीको क्षेत्र र त्यसका मापदण्डहरुको घोषणा गर्दैछौैं,’ मन्त्री केसीले भने ।

यस अघि शहरी विकास मन्त्रालयको काम भनेको भवन निर्माण गर्ने मात्रै जस्तो थियो । तर, यसपाली केही फरक काम गभएको उनले दाबी गरे ।

‘सहरी विकास भनेको भवन मात्रै बनाउने होइन । त्यहाँ खानेपानी पुग्नुपर्यो । त्यहाँ बाटो पुग्नु पर्यो । टेलिफोन पुग्नु पर्यो । फोहोर मैला व्यवस्थापन गर्ने मेकानिजम हुनुपर्यो । त्यहाँ खुल्ला पार्क देखि लिएर खुल्ला स्थानहरु हुनुपर्यो ।’ उनले भने ।

भत्काउने काम देखिँदोरहेछ, बनाउने काम कसैले देखेनन्

साथीभाइहरुले आफूलाई काम नगरेको भन्दै गुनासो गर्ने गरेको मन्त्रीले सुनाए । तर आफूले भविष्यका लागि निकै महत्वपूर्ण काम गरिरहेको उनले दाबी गरे ।

‘मलाई मेरा धेरै साथीहरुले भन्छन् खै काम गरेकै देखिएन । नीति बनाएको देखिँदो रहेनछ, बनाउने कुरा देखिँदो रहेनछ । भत्काउने कुरा भएको भए तुरुन्तै देखिन्थ्यो ।’ मन्त्री केसीले भने ।


पुष्प दुलाल