अस्तित्व जोगाउने संघर्षमा मुखै रसाउने जुजुधौ
काठमाडौं । अघिल्ला बर्षहरुभन्दा केही ढिलो गरेर भए पनि बिस्तारै गर्मी चढ्न थालिसकेको छ, काठमाण्डौंमा । गर्मी, धुवाँ र धुलोको त्रिपक्षीय आक्रमणमा परेर प्याक—प्याक हुन थालेका सहरबासीहरु एकछिन सुस्ताउन र शरिर चिस्याउन चीसो पेय पदार्थ र दहीको साथ खोज्न थालिसकेका छन् ।
सहरका घर र रेष्टुरेन्टका फ्रिजहरुमा पनि चीसो पेय पदार्थ र दहीले ठूलो हिस्सा ओगट्न थालिसकेका छन् ।
गुलियो स्वाद, लपक्क जिब्रोमा लाग्ने अनि बिस्तारै पग्लदैं पेट भित्र छिर्दा पुरै शरिरलाई चिस्याउने र तरङ्गित पार्ने दही सम्झँदा कसको पो मुख नरसाउला र ? बिहान बेलुकीको खानासँग र दिउँसो सलाद (फ्रुट सलाद आदि) को रुपमा राजधानीबासीको खान्कीको अभिन्न अंग बनिसकेको छ दही ।
दहीको कुरा गर्दा सँगसँगै आउने अर्को नाम हो, भक्तपूर । दही बनाउने कलाकै कारण भक्तपूरबासी र दहीको प्राचिनकालदेखि नै गहिरो नाता गाँसिएको छ ।
काठमाडौं र ललितपूरमाथि बिजय
नेपालका ७५ जिल्ला मध्ये सबैभन्दा सानो जिल्ला हो भक्तपूर । तर, मल्लकालिन बैभव झल्काउने सम्पदाका हिसाबले सानै भए पनि यो जिल्लाले अरु धेरै जिल्लालाई उछिनेको छ । अझ आधुनिककालमा ती सम्पदाको स्याहार, सम्भार र सरसफाईका हिसाबले त झन् उपत्यकाका अन्य दुई जिल्ला काठमाण्डौ र ललितपूरलाई समेत उछिनेको छ, भक्तपूरले ।
भक्तपुरले काठमाण्डौं र लतितपूरलाई अहिले मात्र पहिला पनि जितेको रहेछ । तर यस्तो जित दही बनाउने प्रतियोगितामा हो भन्छन् यहाँका बुज्रुकहरु ।
जुजुधौको अर्थ
‘इतिहासको कुनै समय उपत्यकाका तीन राज्यबीच दही बनउने प्रतियोगिता चलेको थियो रे । तत्कालिन राजाले तीनै राज्यको दही चाखेर भक्तपुरे दहीलाई अब्बल ठहर¥याए रे,’ भक्तपुरकै आँगनमा ८६ हिउँद—बर्षा बिताइसकेका भाइकाजी श्रेष्ठले जुजुधौको किमबदन्ति सुनाए ।
त्यही समयदेखि भक्तपुरको दहीलाई ‘जुजुधौ’ भनिन थालेको जनबिश्वास छ । नेवारी भाषामा राजालाई ‘जुजु’ र दहिलाई ‘धौ’ भनिन्छ । त्यसकारण, ‘जुजुधौ’ को अर्थ राजाले समेत मनपराएको दही भन्ने लाग्छ ।
जुजुधौको लोकप्रियता
भक्तपुरे दही चाख्न राजधानीका धेरै ठाउँहरुबाट मान्छेहरु आउने क्रम बढ्न थालिसकेको छ । पुस र माघमा दहीको माग अलि घट्ने र त्यसपछिका महिनाहरुमा क्रमशः बढ्दै जाने ब्यवसायी किरण सिन्टाखले बताउँछन् ।
पछिल्लो समय मोटरसाइकल डौडाउँदै साना माटाको कतारामा जमाएको दही चाख्न ओइरिने युवा युवतीको सँख्या ह्वात्तै बढेको छ, भक्तपुरमा ।
‘गर्मीको समयमा माटाको भाँडाको दही खाँदै भक्तपुर डुल्नुको मजा अर्कै छ,’ काठमाडौंदेखि आफ्ना साथीहरु सहित भक्तपुर डुल्न आएका विद्यार्थी संजीव रावत बताउँछन् ।
यही मागलाई ध्यानमा राख्दै अहिले भक्तपुरमा सैयौं दही बनाउने ठाउँ र पसलहरु खुलेका छन् ।
‘मेरो काकाले बर्षको ५० लाख रुपैंयाँसम्मको दही बेच्नुहुन्छ । तर, हामी चाँही काठमाण्डौं नलगि भक्तपुरमै बेच्ने हुनाले त्यती धेरै ब्यापार नभए पनि घर ब्यवहार चलेकै छ,’ दही ब्यवसायी किरण सिन्टाखलेले क्लिकमाण्डूसँग भने । यहाँका धेरै ब्यवसायीले काठमाण्डौंको असनमा पनि पसल राखेका छन् ।
सिन्टाखलेका बाबुले पनि कुनै समय असनमा पसल राखेका थिए । तर, बच्चा पनि सानै भएको र अरु सघाउने मान्छे पनि नभएका कारण उनी भक्तपूरमै सिमित भएको किरणको भनाइ छ ।
कसरी बन्छ जुजुधौ ?
भक्तपुमा दही बनाउनका लागि चाँगुनारायण, गुण्डु, नलिन्चोक, पलाँसे र काभ्रेका बिभिन्न भागबाट दुध आउने गर्छ । सबैभन्दा पहिले दुधलाई तताएर पानी सुकाइन्छ । राम्रो दही बन्नलाई आवश्यक पानीमात्र दुधमा छाडिन्छ । यो काममा निकै होस् पु¥याउनु पर्ने हुन्छ ।
त्यसपछि दुधमा चिनी मिसाइन्छ । र, चिनी राम्रोसँग घोलेपछि बिस्तारै दही जमाउने माटाको भाँडोमा खन्याइन्छ । माटाका भाँडोमा तातो दुध एकैचोटि खन्याए भाँडो फुट्न सक्ने हुँदा बिस्तारै बिस्तारै खन्याउनुपर्छ । र, केही चम्चा बिउ दही मिसाउनुपर्छ ।
दही जमाउने ठाउँ भने भुस भरेर बनाइएको हुन्छ । तातो दुध भरेको भाँडोलाई माथीसम्म आउने गरी भुसमा पुरिन्छ । र, अर्को त्यस्तै माटोको भाँडोले छोपिन्छ । त्यसपछि त्यसलाई कम्तीमा ६ वटा जुटको बोराले वरिपरीबाट छोपिन्छ । र, माथीबाट घप्लक्क सिरकले छोपिन्छ । यसरी वरिपरीबाट बोरा र माथीबाट सिरकले छोपेको ४—५ घण्टा पछि तयार हुन्छ मुखै रसाउने भक्तपूरे जुजुधौ ।
यसकारण लोकप्रिय छ नेवारी समुदायमा जुजुधौं
अरु जातिको लागि खान्की मात्र भए पनि नेवार समुदाय दहीलाई सगुन कै रुपमा लिन्छन् । नेवार समुहदायको शुभकार्यहरुमा दही नभै हुँदैन । तर, ब्यवसाय बढ्न थालेपछि छिटो पैसा कमाउन प्रक्रिया पूरा नगरी कमसल दही बजार पठाउने चलन पनि बढेको ब्यवसायीहरु कै गुनासो छ ।
‘यसले हाम्रो नाम नै खराब गर्न सक्छ,’ २० बर्ष देखि दहि ब्यवसाय गर्दै आएका प्रकाश द्धारे भन्छन् ।
ब्राण्डिङको समस्या
धेरै मान्छेले रुचाउने र भक्तपुरकै पहिचान भए पनि दही ब्यवसायमा आधुनिकिकरण भने भएको छैन । परम्परागत शैलीमै चलेको यो ब्यवसाय र उत्पादनमा आधुनिक प्याकेजिङ, ब्राण्डिङ लगायत हुन सकेको छैन ।
ब्यवसायी किरण सिन्टाखलेको परिवारले बिगत ४० बर्षदेखि यो ब्यवसाय गर्दै आएको हो । तर, दिनभरि ल्यापटप चलाएर पसलमा बस्ने उनको पसलमा साइनबोर्ड समेत छैन ।
‘पहिला साइनबोर्ड थियो, केही बर्ष अघि बिस्केट जात्रामा कसैले ढुङ्गा हानेर झारिदियो । त्यसपछि लगाएको छैन,’ उनी भन्छन् । उनलाई यो ब्यवसाय भन्दा पनि केही बर्ष बिदेश गएर काम गर्ने ठूलो धोको रहेछ ।
पहिचानको आन्दोलनले पहिचान गुमाउँदै
बास्तबमा नेपालका बिभिन्न जातजातिले प्रकृति र समयसँगको हजारौं बर्षको अन्तक्रियाबाट बिभिन्न खान्की, औषधी, लुगाफाटो लगायत संस्कृतिका अवयवहरुको बिकास गरेका छन् । तर, पहिचानको चर्को आन्दोलन र नाराबाजीकाबीच समग्र मानव सभ्यतालाई उपयोगी हुने यस्ता आविष्कारहरु भने लोप हुँदैछन् ।
परम्पराबाट माथि उठ्न सकेन
अष्ट्रेलिया, न्युजिल्याण्ड जस्ता देशहरु बिश्वभरि दुध, दही जस्ता उत्पादनहरुको निर्यात गर्ने अवस्थामा पुगिसके । भक्तपूरले पनि सैयौं बर्षको अनुभवबाट बिकास गरेको जुजुधौ बनाउने कलाले देश भित्र र बाहिरका दही पारखीहरुका मन जित्न नसक्ने कुरै छैन ।
तर, यसका लागि सैयौं बर्षदेखिको अनुभवजन्य ज्ञानको आधुनिकिकरण, प्रबिधिमा पहुँच भएका युवालाई ब्यवसायमा आकर्षित गर्ने नीति, बजार ब्यवस्थापन लगायतको भने खाँचो छ ।