परम्परागत स्वास्थ्यकर्मीहरुलाई वैधानिकता दिनुपर्ने




काठमाडौं । सनातनकालदेखि प्रमुख स्वास्थ्य सेवाको रुपमा विकास गरिंदै आएको परम्परागत स्वास्थ्य सेवालाई लिपिवद्ध गरी संरक्षण र सम्वद्र्धन गरी वैज्ञानिकीकरणका साथ वैधानिकता दिनुपर्नेमा परम्परागत स्वास्थ्यकर्मीहरुले निष्कर्ष निकालेका छन् ।

गत चैत १८ र १९ गते सम्पन्न परम्परागत स्वास्थ्यकर्मीहरुको राष्ट्रिय भेलाद्वारा जारी गरिएको घोषणा पत्रको सम्वन्धमा जानकारी दिन मंगलवार आयोजित कार्यक्रममा यस क्षेत्रका अगुवाहरुले यसलाई वैज्ञानिक पद्धतिसँग प्रणालीवद्ध गर्नु आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले गाउँगाउँ र शहरका गल्ली गल्लीमा समेत सेवारत गुरुवा, वैद्य, गुभाजु, ज्ञाता, ज्योतिष, पण्डित, विशेष उपचारक, धामीझाँक्री, झारफूके लामा, आम्चीहरुले केही न केही रुपले जनताको स्वास्थ्य उपचार गरिरहेकाहरुको बारेमा सरकार मौन बस्न नमिल्ने बताए ।

‘कि त परम्परागत स्वास्थ्य सेवाको काम छैन भने आधारसहित बन्दै गर्नुप¥यो होइन भने यसलाई राज्यले अनुसन्धान गरी वैधानिकता दिने वाटो खोल्नुप¥यो,’ उनले भने ।

२७ जिल्लाका ८२ जना परम्परागत स्वास्थ्यकर्मीहरुले भेला गरि उनीहरुको सीपलाई लिपिवद्ध गरी अभिलेखन गर्नका लागि प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले दोस्रो राष्ट्रिय भेलाको आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

आफ्ना अग्रज पुर्खाहरुबाट प्राप्त ज्ञानको आधारमा प्राकृतिकरुपमा प्राप्त जडिबुटी तथा अन्य वस्तुबाट घरमा औषधी तयार गरी गरिने उपचार पद्धति नेपालको मौलिक पद्धति रहेको र यसको जगेर्ना गर्नु र उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको डा.सरिता श्रेष्ठले बताए ।

समय सापेक्षिक रुपमा स्थानीय रुपमा उपलब्ध भएका जडिबुटिहरू, मरमसलाहरू, खनिज आदि स्थानीय रुपमा उपलब्ध भएका विविध वस्तुहरूबाट शारीरिक तथा मानसिक ओषधोपचार गर्ने परम्परा नै परम्परागत उपचार पद्धति भएको र यो प्रत्येक घरघरमा अभ्यासरत रहेकाले यसलाई भारत, भुटान, चीन, अफ्रिकामा जस्तो विद्यालय शिक्षामा उल्लेख गर्नुपर्ने कुरा भेलामा उठेको जानकारी कार्यक्रममा दिइएको थियो ।

आर्थिक उपार्जन भन्दा सेवा भावले गरिने यस्ता उपचार विधिहरु सस्तो तथा सर्वसुलभका साथै जीवनपद्धतिसँग सामिप्य रहेकाले आर्थिक अभावका कारण औषधी उपचारवाट वञ्चित हुनु नपर्ने भएकाले यो नेपालले अध्ययन अनुसन्धान गरी नेपालको मुल स्वास्थ्य पद्धतिको रुपमा अँगाल्नुपर्ने परम्परागत स्वास्थ्य तथा आयुर्वेदिक चिकित्सा संघका अध्यक्ष मधुवज्र बज्राचार्यले जोड दिए ।

परम्परागत आयूर्वेद उपचार पद्धति तथा अन्य उपचार पद्धतिहरू लगभग लोप हुने आवस्थामा पुगिसकेको र वंश परम्परा तथा गुरुकुल परम्परामा रहेर परम्परागत आयुर्वेद उपचार पद्धतिबाट सेवा दिइरहेको व्यक्तिहरू हाल आएर निकै कम भैसकेकाले आफूहरुलाई चिन्ता लाग्न थालेको पनि उनले बताए ।

‘ती ज्ञान, सीप प्रविधि यथाशक्य चाँडै संरक्षण गरिएन भने देशको मौलिक वौद्धिक ज्ञान सीप, प्रविधिहरू पनि तिनै परम्परागत वैद्य तथा चिकित्सकहरुसँगै लोप हुन सक्ने प्रवल सम्भावना छ, यसर्थ यसको संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन हुनु आवश्यक छ,’ उनले भने ।

दुई दिने भेलाले निम्न स्वास्थ्य नीति र कार्य नीतिमा परम्परागत स्वास्थ्यकर्मीहरुको हकहित सम्वन्धि बुँदाहरु समावेश गर्न लगाउन आवश्यक पहल गर्ने र यसलाई वैधानिक मान्यता दिलाउन पहलकदमी गर्ने लगायतका बुँदा समावेश गरी घोषणा पत्र जारी गरिएको छ ।

परम्परागत चिकित्साकर्मीहरूले उपचारको निम्ति प्रयोग गर्ने विविध वस्तुहरू सहज रुपमा उपलब्ध हुने वातावरण बनाउनुपर्ने परम्परागत चिकित्सकहरूको हक अधिकार सुनिश्चित गर्दै परम्परागत चिकित्सकहरूको तथ्याङ्क संकलन गर्नुपर्र्नेमा पनि परम्परागत स्वास्थ्यकर्मीहरुले जोड दिएको कार्यक्रममा बताइएको थियो ।

परम्परागत स्वास्थ्यकर्मीको सीप र ज्ञानको आधारमा वर्गीकरण गरी कानुनी मान्यता दिनुपर्ने , नेपालको मौलिक सम्पतिको रुपमा रहेको जडिबुटीहरु अनधिकृत रुपमा निर्यात भइरहेको र पेशामाथि अतिक्रमण भएकाले सो कार्य रोक्न सम्वन्धित निकायले तत्काल काम गर्नुपर्ने माग पनि परम्परागत स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

परम्परागत औषधि ज्ञान तथा सिपको संरक्षण र सम्वद्र्धन गर्नुको साथै यसको सहि एवम् विवेकपूर्ण प्रयोग गर्न आचारसंहिता बनाउने र आयुर्वेद औषधि प्रयोग गर्दा रोग ठीक हुनुको सट्टा अर्को रोग वा उपद्रव भइ पैसा, समय र स्वास्थ्य बरबाद हुनसक्ने भएकाले यसतर्फ आफूहरु चनाखो हुने निष्कर्ष पनि दुई दिने परम्परागत स्वास्थ्यकर्मीको भेलाले निकालेको बताइएको छ ।


क्लिकमान्डु