सिभिल बैंकले ४०% हकप्रद दिने, आगामी वर्ष १६% बोनस सेयर




काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ४० प्रतिशत हकप्रद दिने भएको छ । ४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने व्यवपस्थापन समितिको प्रस्ताबलाई बिहीबार (भोलि) बस्ने सञ्चालक समितिको बैठकले स्वीकृत गर्दैछ ।

एक विकास बैंक र एक फाइनान्स कम्पनीलाई एक्वायर गर्ने तयारी गरेको बैंकले सो प्रक्रियाबाट पछि हट्दै हकप्रद सेयर वितरण गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले जानकारी दिए ।

केही ठूला सेयरधनीले ४० प्रतिशत हकप्रद वितरण गर्दा सम्पत्तिको स्रोत खुलाउन कठिन हुन्छ भन्दै गुनासो गरेका थिए ।

‘हामी साना संस्था एक्वायर गरेर राष्ट्र बैंकले तोकेको समयमा तोकेको पुँजी पुर्याउने तयारीमा थियौं, एक्वायरमा गएको भए हकप्रद सेयर जारी गर्नु पर्दैनथ्यो,’ महर्जनले क्लिकमाण्डूसँग भने,- ‘अहिले हामी आफैं एक्वायर प्रक्रियाबाट पछि हटेर हकप्रदमार्फत् चुक्ता पुँजी बढाउने निष्कर्शमा पुगेका हौं ।’

यसअघि बैंक सञ्चालक समितिले २० प्रतिशत हकप्रद दिने निर्णय गरेको थियो । एक्वायर प्रक्रियामा नजाने निर्णय गर्दै थप २० प्रतिशत गरी ४० प्रतिशत दिन लागेको हो ।

‘४० प्रतिशत हकप्रद दिने प्रस्ताब बैंक व्यवस्थापनको हो, अनौपचारिकरुपमा सञ्चालकहरुसँग छलफल भइसकेको छ,’ उनले भने,- ‘भोलि (बिहीबार) बस्ने सञ्चालक समितिको बैठकले हकप्रद सेयर वितरणको प्रस्ताब पारित गर्दैछ ।’

केही ठूला सेयरधनीले ४० प्रतिशत हकप्रद वितरण गर्दा सम्पत्तिको स्रोत खुलाउन कठिन हुन्छ भन्दै गुनासो गरेका थिए । तर अहिले सेयरधनीको गुनासोको सम्बोधन भइसकेको महर्जनले जानकारी दिए ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५ करोड छ । ४० प्रतिशत हकप्रद सेयरमार्फत् बैंकले २ अर्ब रुपैयाँ उठाउँछ । त्यसैगरी, हाल बैंकसँग ५८ करोड रुपैयाँ वितरणयोग्य पुँजी हरेको र यो वर्षको नाफा जोड्दा आगामी वर्ष १ अर्ब रुपैयाँ अर्थात् १६ प्रतिशत बोनस सेयर वितरण गरिने उनले बताए ।

सिभिल बैंकले गत वर्ष नै हकप्रद सेयर निष्काशन गर्न चाहेको उनले बताए । हकप्रद दिने बैंकहरुको सेयर मूल्य बुष्ट भएको तर सिभिल बैंकले हालसम्म पनि हकप्रद सेयर वितरण नगरेकाले सेयर मूल्य कम थियो ।

संभावित कर्जा नोक्सानी व्यवस्थामा हाल अहिले १ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको र अब यसलाई रिकोभरी गर्न बैंक लागि परेको उनले सुनाए ।

‘लोन लस प्रोभिजनिङलाई उठाउन हामी लागि परेका छौं, यसैवर्ष मात्रै ५० करोड फिर्ता (राइटव्याक) गर्ने लक्ष्य छ,’ उनले भने,- ‘त्यसरी राइटव्याक गरिएको रकम पनि बोनस दिन मिल्छ ।’


पुष्प दुलाल