४५ सयभन्दा बढी नसाट्ने भन्दै फर्कियो भारतीय टोली



काठमाडौं । प्रतिवन्धित भारु नोट सटहीबारे कुरा गर्न आएको भारतीय टोली आज स्वदेश फर्किंदैछ । ५०० र १००० दरका ४५ सय भारुभन्दा बढी साट्न नसक्ने अडान राख्दै रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) की कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा आएको टोली सोमबार दिउसो ४ बजे भारत फर्किन लागेको हो ।

डा. जोशीको टोलीले आइतबार र सोमबार राष्ट्र बैंकको टोलीसँग छलफल गरेको थियो । छलफलमा दुबै पक्षले आ–आफ्नै अडान राखेपछि भारतले प्रतिवन्ध लगाएका नेपालमा रहेका भारु नोट नसाटिने संभावना बढेर गएको छ ।

आइतबारको छलफलमा भारतीय टोलीले ४५ सय भाारुसम्ममात्रै सटही सुविधा दिनसक्ने प्रस्ताब गरेको थियो । तर, राष्ट्र बैंकको टोलीले भने २५ हजारसम्मको सटही सुविधा उपलब्ध गराउन अडान राख्यो । जसकारण दुईपक्षीय वार्ता सफल हुन नसकेको नेपाल पक्षका वार्ता टोलीका संयोजकसमेत रहेका राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

‘आइतबार सहमति हुन नसकेपछि दुई पक्षबीच सोमबार बिशान ९ बजेदेखि ११ बजेसम्म फेरि छलफल भयो,’ शिवाकोटीले क्लिकमाण्डूसँग भने,– ‘उहाँहरुले पनि आफ्नो अडान छाड्नुभएन र हामीले पनि आफ्नो अडान छाडेनौं । त्यसैले वार्ता निर्णायक हुन सकेन ।’

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा एक नेपालीले ५०० र १००० दरका २५ हजारसम्म भारु नोट बोक्न पाउने व्यवस्था भएको थियो । त्यसैले राष्ट्र बैंकले भारत सरकारले कानूनी मान्यता दिएको प्रतिव्यक्ति २५ हजार भारुसम्म सटहीको सुविधा उपलब्ध गराउनुपर्ने अडान राखेको शिवाकोटीले बताए ।

‘पन्तजीको टोलीले ४५ सयभन्दा बढी साट्न संभव नभएको जवाफ दिएको छ,’ उनले भने । शिवाकोटीका अनुसार ४५ सय साट्ने हो भने तत्कालै खबर गर्न भारतीय पक्षले राष्ट्र बैंकका अधिकारीहरुलाई आग्रहसमेत गरेको छ ।

तर, सरकारबाट २५ हजार भारु सटही पाउनुपर्ने निर्णय भएकाले राष्ट्र बैंकले सरकाको निर्णयभन्दा तल झरेर निर्णय गर्न नसक्ने उल्लेख गर्दै २५ हजार भारु सटहीको सुविधा भारतले दिनै पर्ने तर्क गरेको थियो ।

राष्ट्र बैंकको टोलीले भारु सटही सम्बन्धमा भारतीय पक्षसँग मौखिक होइन, लिखित जवाफ मागेको छ ।

‘हामीले उहाँहरुलाई आधिकारिकरुपमा लेटरप्याडमा लेखेर जवाफ पठाउनुहोस् भनेका छौं,’ शिवाकोटीले भने ।

डा. पन्तकै नेतृत्वमा गत फागुन १७ गते भारु सटहीबारे स्थलगत छलफल गर्न पहिलोपटक भारतीय आधिकारिक टोली नेपाल आएको थियो । टोली २ दिनसम्म छलफल र अध्ययन गरेर फर्किएको थियो ।

पन्तको टोलीले झन्डै दुई हप्ताअघि आरबीआइलाई प्रतिबेदन बुझाएको थियो । आरबीआइले भारतीय वित्त मन्त्रालयमा नेपालमा रहेका भारु सटहीबारे स्थलगत अध्ययन प्रतिबेदन बुझाइसकेको छ ।

प्रतिबेदनमा नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट साट्नुपर्ने उल्लेख छ । त्यसैले भारतले फेरि छलफल गर्न टोली पठाएको हो ।

गत कात्तिक तेस्रो साता देशबासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारु नोट नचल्ने घोषणा गरेका थिए ।

भारतमा बढ्दै गएको कालोधन नियन्त्रण गर्न भन्दै नोटमा लगाइएको प्रतिवन्धले भारु चल्ने देशहरुमा समेत समस्या परेको थियो ।

नेपालका बैंक तथा वित्तीय संस्था, होटल एवं मनि चेञ्जर कम्पनीहरुमा ५०० र १०० दरका ३ करोड ७४ लाख रुपैयाँ भारु नोट छन् । सर्वसाधारणसँग भएको भारुको कुनैपनि विवरण छैन ।

खासगरी नेपालको पश्चिम पहाड र अधिकांस तराईका जिल्लाहरुमा भारु व्यापकरुपमा चलनचल्तीमा रहेकाले सो दरका भारु नोट अर्बौं हुनसक्ने अनुमान गरिएको छ ।


पुष्प दुलाल