बाबुकाजीको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ




काठमाडौं । भक्तपुरको नखेलका बाबुकाजी बेञ्जुले २०५७ सालमा व्यावसायिक कुखुरा पालन सुरु गरे । त्यसअघि उनी परम्परागत खेतीपाती गर्थे ।

काठमाडौंमा मासुको माघ बढ्न थालेपछि आफुले कुखुरा पालन व्यवसाय सुरु गरेको उनको भनाई छ ।

‘सबैजना परम्परागत खेती गर्थे, मलाई चाहीँ केही फरक व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो, त्यसैले कुखुरा फार्म सुरु गरेको हुँ,’ बेञ्जुले क्लिकमाण्डूसँग भने ।

२ सय ५० वटा चल्ला हालेर फार्म सुरु गरेका बेञ्जुको ‘बाबुकाजी कुखुरा फार्म’मा अहिले ७ हजार कुखुरा छन् । व्यवसायमा गरेको प्रगतिले सन्तुष्ट छन् उनी ।

‘सोचेजस्तै गरी व्यवसाय अघिबढ्दै गयो, जसले मलाई प्रोत्साहन पनि मिल्यो, अहिले त मलाई अरु भन्दा यही व्यवसाय धेरै ठीक लाग्न थालेको छ,’ उनी भन्छन् ।

यो व्यवसायबाट अहिले वार्षिक ५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको उनले बताए ।

‘विदेशमा गर्ने मेहेनत यहीँ गरियो भने आफ्नै गाउँ–ठाँउमा परिवारसँग बसेर राम्रो आमदानी गर्न सकिने रहेछ,’ बेञ्जुले भने ।

उनले व्यवसाय सुरु गर्दा प्रतिगोटा चल्लाको मुल्य १३ रुपैयाँ थियो । अहिले एउटा चल्लाको मुल्य १ सय ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म पर्ने बेञ्जुले सुनाए । उनको फार्ममा ‘ब्रोइलर’ कुखुरा मात्रै पाइन्छ ।

परम्परागत व्यवसायबाट नयाँ व्यवसायमा प्रबेश गर्दा कठिनाइ भोग्नु परे पनि आफू कहिल्यै निरुत्साहित नभएको उनले बताए ।

जब उनको व्यवसायको आकार बढ्दै गयो, तब उनले परिवारका अन्य सदस्य र बाहिरी कामदारलाई पनि काम लगाउन थाले । ज्यालादारी कामदारलाई दैनिक ४ सय रुपैयाँसम्म ज्याला दिने गरेको बेञ्जुले सुनाए ।

अहिले मासुका लागि मात्रै उत्पादन गर्दै आएका बेञ्जुले अब अण्डाको ब्यवसाय पनि सुरु गर्ने बताए ।

त्यतिमात्रै होइन, कुखुराको सुलीबाट उत्पादित मलबाट पनि राम्रो आम्दानी लिंदै आएको उनले सुनाए । बेञ्जुले उपत्यकाका विभिन्न स्थानहरुमा मासुका लागि कुखुरा दिँदै आएका छन् ।


क्लिकमान्डु