ब्रोकरको शाखा विस्तार रोकियो



काठमाडौं । सेयर ब्रोकरको शाखा विस्तार कार्य तत्कालको लागि रोकिएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कानुनी कारण देखाउँदै तत्काल कारोबार सुरु नगर्न ब्रोकरलाई निर्देशन दिएको कारण शाखा विस्तार रोकिएको हो ।

बोर्डले देशभरका लगानीकर्ताले सेयर बजारमा लगानी गरेर फाइदा लिन सक्ने वातावरण बनाउन भन्दै ब्रोकरको शाखा विस्तारमा चासो दिएको थियो । बोर्डको चासो अनुसार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरलाई शाखा विस्तारको सहमति दिएको भएपनि बोर्डकै कारण रोकिएको छ ।

ब्रोकरको शाखा विस्तारमा कानुनी प्रष्टता नभएकोले केही समय ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

ब्रोकरको शाखा खोल्न नेप्सेले अनुमति दिने र बोर्डलाई जानकारी दिनुपर्ने धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ४० मा उल्लेख छ ।

‘ब्रोकरको शाखा विस्तार गरेर उपत्यका बाहिर पनि कारोबार सुरु हुनुपर्छ भन्ने बोर्डको प्रयत्न नै हो, तर शाखा विस्तार गरेर सेयर कारोबार गर्ने ब्रोकरको पुँजी कति हुनुपर्छ, पूर्वाधार कस्तो हुनुपर्छ, जनशक्ति कति र कस्तो चाहिन्छ भन्ने जस्ता विषयमा प्रष्टता नभएकोले कानुनी ब्यवस्था मिलाएपछि शाखा विस्तार गरौं भन्ने भएको छ,’ बोर्डका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गिरीले क्लिकमाण्डूसँग भने ।

पुँजी बजारको नियामक निकाय बोर्ड भएपछि यसलाई निर्देशिका जारी गरेर कार्यान्वयन गराउने अधिकार छैन । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई भने निर्देशिका जारी गरेर पनि कानुनी बाटो खोल्ने अधिकार छ । यस्तो अधिकार नभएको कारण बोर्डले नियमावली संसोधन गरेर कानुनी प्रक्रिया पूरा भएपछि मात्रै ब्रोकरको शाखा विस्तार गर्ने रणनीति लिएको हो ।

पुँजी बजारको ‘फ्रन्ट लाइन रेगुलेटर’ नेप्सेले भने ब्रोकरलाई उपत्यका बाहिर शाखा विस्तारको सहमति दिइसकेको छ । नेप्सेको सहमतिपछि नै विभिन्न ४० वटा ब्रोकरले उपत्यका बाहिर विभिन्न स्थानमा शाखा विस्तारको प्रक्रिया सुरु गरिसकेका छन् ।

ब्रोकरलाई शाखा विस्तारको सहमति दिदा जोखिम कम गर्ने गरी शर्त तोकिएको नेप्सेका महाप्रबन्धक सिताराम थपलिया बताउँछन् ।

‘नियमावलीमा ब्रोकरको चुक्ता पुँजी २० लाख रुपैयाँ हुने भनिएको छ, तर जोखिम बहन गर्न सक्ने पुँजी, काम गर्न सक्ने जनशक्ति र काम गर्ने पूर्वाधार भएको कम्पनीलाई मात्रै शाखा विस्तार गर्न दिने शर्त तोकेर कम्तिमा पनि १ करोड रुपैयाँ नेटवर्थ हुनै पर्ने भनेका थियौं,’ महाप्रवन्धक थपलियाले क्लिकमाण्डूसँग भने ।

सहमति दिएपछि ब्रोकरले शाखा विस्तारको काम के कति गरेका छन् भनेर नेप्सेले प्रगति बिबरण मागेको छ ।

सहमति दिएपछि प्रतिबद्धता अनुसार काम भए नभएको जानकारी लिन प्रगति विवरण मागिएको थपलियाले बताए ।

‘ब्रोकरले उपत्यका बाहिर शाखा खोल्न अनुमति माग्नु भएको थियो, हामीले सहमति दिइसकेका छौं, अहिलेसम्म शाखा विस्तारको काम के कति भएछ भनेर विवरण मागेका हौं,’ थपलियाले भने ।

नेप्सेले सहमति दिएपछि केही ब्रोकरले शाखा कार्यालय खोलेर पूर्वाधार तयार पारिसकेको जानकारी दिएका छन् ।

केही ब्रोकरका शाखा कार्यालयहरु सेयर खरिद विक्री गर्न सक्ने अवस्थामा भएपछि बोर्डले केही समय पर्खनु भनेका कारण केही ढिलाइ भएको ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको भनाइ छ ।

‘नेप्सेले सहमति दिएपछि शाखा खोल्ने क्रममा छौं, १५ देखि १८ ब्रोकरले शाखा स्थापनाको काम लगभग सकेका छन्, यी मध्ये ८/१० वटा यसअघि नै कारोबार सुरु गर्न सक्ने अवस्थामा थिए, तर बोर्डले यसबारे थप व्यवस्थापन गरेपछि मात्रै कारोवार सुरु गर्नुहोला, नियमावली संसोधन नहुन्जेल पर्खनुस् भनेकोले रोकिएका छौं,’ अध्यक्ष रेग्मीले क्लिकमाण्डूसँग भने ।

नेप्से संचालक समितिले नेटवर्थ ५० लाख भएका कम्पनीलाई शाखा विस्तार गर्न दिने र आगामी असार मसान्तसम्ममा नेटवर्थ २ करोड रुपैयाँ हुनै पर्ने शर्त तोकेको थियो ।

यसअघि ब्रोकरको ‘रिमोट वर्क स्टेसन’ दिने भनिएकोमा नेप्सेले शाखा नै खोल्न दिने भनेपछि बोर्ड र नेप्सेबिच बिवाद उत्पन्न भएको हो ।

ब्रोकरले देशभरका विभिन्न ४१ स्थानमा शाखा विस्तार गर्न निवेदन दिएका थिए । सोही अनुसार नेप्सेले सहमति पनि दिएको थियो । ब्रोकरको शाखा खोल्न नेप्सेले अनुमति दिने र बोर्डलाई जानकारी दिनुपर्ने धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ४० मा उल्लेख छ ।

अरुण सेक्युरिटजले महेन्द्रनगर, ओपल सेक्युरिटिजले इटहरी, मार्केट सक्युरिटिज एक्सचेन्जले पोखरा र जेएफ सेक्युरिटिजले दमकमा शाखा विस्तारको अनुमति पाएका छन् ।

यस्तै आसुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजले इटहरी, प्रज्ञान सेक्युरिटिजले विराटनगर, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले बनेपा, प्रिमो सेक्युरिटिजले बीरगन्ज, सगरमाथा सेक्युुरिटिजले इटहरी र सिल्पा सेक्युरिटिजले नारायणगढमा शाखा विस्तारको अनुमति पाएका छन् ।

मिदास स्टक ब्रोकिङले बुटबल, सिप्रबी सेक्युरिटिजले बीरगन्ज, स्वेता सेक्युरिटिजले बीरगन्ज, एसियन सेक्युरिटिजले बुटबल, श्रीकृष्ण सेक्युरिटिजले विराटनगर, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटबल, भिजन सेक्युरिटिजले बनेपा र कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पोखरामा शाखा विस्तारको अनुमति पाइसकेका छन् ।

यस्तै सेक्युअर्ड सेक्युरिटिजले बिर्तामोड, स्वर्णलक्ष्मी सेक्युरिटिजले हेटौडा, सुमेरु सेक्युरिटिजले बिर्तामोड, क्रियटिभ सेक्युरिटिजले बनेपा, लिन्च स्टक मार्केटले बुटबल, सानी सेक्युरिटिजले नारायणघाट, साउथ एशियन बुल्सले विर्तामोड र डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले बनेपामा शाखा विस्तार गर्न अनुमति पाएका छन् ।

इम्पेरियल सेक्युरिटिजले नेपालगन्ज, कालिका सेक्युरिटिजले नेपालगन्ज, निभ सेक्युरिटिजले इटहरी, त्रिशक्ति सेक्युरिटिजले पोखरा, अनलाइन सेक्युरिटिजले धरान, क्रिष्टल कन्चनजंघा सेक्युरिटिजले बिराटनगर र अक्सफोर्ड सेक्युरिटिजले नारायणघाटमा शाखा विस्तारको अनुमति पाएका छन् ।

यस्तै सुन्धारा सेक्युरिटिजले बेशिसहर, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपालले पोखरा, सेवा सेक्युरिटिजले हेटौडा, भृकुटी स्टक ब्रोकिङले इटहरी, श्री हरि सेक्युरिटिजले बिर्तामोड, आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटबल, नासा सेक्युरिटिजले बीरगन्ज र दिब्य सेक्युरिटिज एण्ड स्टक हाउसले बागलुङमा शाखा विस्तार गर्न अनुमति पाएका छन् ।


क्लिकमान्डु