मलेसियाबाट फर्केर बाख्रा पाल्न थालेपछि सुमनको जिन्दगीमा आयो यस्तो बहार



काठमाडौं । कास्कीको लेखनाथका सुमन आचार्य ०७१ साउनमा १ लाख २० हजार रुपैयाँ खर्च गरेर मलेसिया गए । विदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेर उनी रोजगारीका लागि मलेसिया गएका थिए ।

आचार्यले मलेसियामा चकलेट फ्याक्ट्रीमा प्याकेजिङको काम गरे । कम्पनीले उनलाई मासिक २७ हजार नेपाली रुपैयाँ बराबर तलब दिन्थ्यो ।

‘महिनाको २७ हजार रुपैयाँ तलब लिनका लागि दैनिक १०/११ घन्टा असारको गोरुझैं जोतिनु पर्थ्यो,’ स्मरण गर्दै आचार्यले क्लिकमाण्डूसँग भने ।

मिहेनतअनुसारको कमाई नभएपछि उनलाई छटपटी भयो । र, भिजाको अवधि २ वर्षको भए पनि ९ महिनामै स्वदेश फर्किए ।

‘यति कडा मिहेनत गर्दा आफ्नै देशमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचेर फर्किएँ,’ उनले भने ।

सुमनलाई बाल्यकालमै गाउँमै केही गर्नुपर्छ भन्ने लागेको थियो । तर, साथीभाई र गाउँलेको लाजले काम अघि बढाउन सकेका थिएनन् ।

स्वदेश फर्किएपछि आफन्त र साथीभाईले काट्नुसम्म कुरा काटेको उनी सम्झन्छन् । जब अरुले उनको कुरा काट्न थाले, तब उनको मनमा केही गरेर देखाउ नै पर्छ भन्ने ‘इगो’ झनझन् बलियो हुँदै गयो ।

र, अन्तिममा उनले बाख्रा पालन गर्ने निधो गरे । आचार्यको निर्णयलाई घरपरिवारले पनि साथ दियो ।

उनले सोचे ‘हतारमा काम गर्नुभन्दा पहिला आफुले गर्न लागेको कामबारे केही व्यवहारिक ज्ञान हासिल गर्नुपछ ।’

त्यसैले उनी २/४ वटा बाख्रा फार्मको निरिक्षण गर्न निस्किए । त्यतिमात्र होइन, जिल्ला पशु सेवा कार्यालयबाट ३ दिने तालिम पनि लिए ।

र, ०७२ चैतमा ‘काका सुमन कृषि तथा पशुपालन बाख्रा फार्म’ दर्ता गरे । ५ लाख लगानीमा १०० वटा बाख्राबाट सुरु भयो उनको व्यवसाय । व्यवसाय सोचेजस्तै गरी अघि बढ्दै गयो । एक वर्ष नवित्दै सुरुमा गरिएको लगानी फिर्ता भइसकेको छ ।

‘११ महिनामै सुरुमा गरिएको ५ लाख रुपैयाँ लगानी उठाइसकेको छु,’ आचार्यले भने ।

बाख्रा फार्म संचालन गर्दा सुमन स्वरोजगार मात्रै बनेका छनन्, उनले रोजगारीको अवसरसमेत सिर्जना गरेका छन् । अरु युवाहरुलाई व्यवसाय गर्नका लागि प्रेरणाको स्रोतसमेत बनेका छन् ।

आचार्यको फार्ममा अहिले खरी, जमुना, बिटल लगायतका ६०/७० वटा बाख्रा छन् । जमध्ये ३० बाख्रा गर्भवती छन् ।

बाख्रा पालान सुरु गरेपछि बाँझो रहेको जमिनको पनि उपयोग भएको छ ।

‘बाँझो रहेको १६ रोपनी जमिनमा इपिल, भटमासे, ज्वैं घाँस आदि विरुवा लगाएको छु, पहिला बाँझो रहेको जमिन अहिले हराभरा भएको छ,’ उनले भने ।

छोराको प्रगति देखेर आमा दंग

२२ वर्षको अल्लारे छोरा बिग्रिएर हिँड्छ कि भन्ने कम्ति चिन्ता थिएन सुमनकी आमा सम्झनालाई । त्यसो त उनी विदेशबाट फर्किएपछि गाउँघरमा बरालिएर हिँड्थे । जसले आमालाई निकै चिन्तित बनाएको थियो ।

‘छोराले प्रगति गर्दैन कि भन्ने साह्रै पीर लागेको थियो, यति लगनशील भएर काम गर्छ भन्ने विश्वास पनि थिएन,’ उनले भनिन्- ‘तर, छोराले साचिँकै प्रगति गरेर देखाइदियो ।’

त्यसो त सुमन पनि घर बसीबसी पैसा कमाउन पाएकोमा खुसी छन् ।

‘आमाले पकाएको भात खाएर स्वदेशमै चार पैसा कमाई र अरुलाई रोजगारी दिन पाउँदा आत्मसन्तुष्टी मिलेको छ,’ उनले भने ।

बाख्रा पालन गरेर सुमन स्वरोजगार मात्रै भएका छैनन् । उनले रोजगारीको अवसर पनि सिर्जना गरेका छन् । एक जनालाई खानासहित मासिक १० हजार रुपैयाँ तलब दिएर राखेका छन् ।

इच्छा भए डुङ्गा फोरेर पानी निकाल्न सकिन्छ । विदेशका चर्का घाममा पसिना बगाएजस्तो मिहेनत गर्दा घर बसीबसी मनग्ये आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुराको प्रमाण हुन् सुमन ।

‘गाउँका धेरै युवा विदेश गएर धन कमाएको देखेर म पनि विदेश गएको हुँ, तर त्यहाँ दुख गरेअुनसार कमाई भएन,’ आचार्यले भने- ‘विदेशमा जतिको स्वदेशमै गर्दा मनग्ये कमाउन सकिँदो रहेछ ।’