यी नेताले सन्यास नलिएसम्म देशको बिकास हुँदैनः बिचार



चीनियाँ तत्कालिन प्रधानमन्त्री चाउ ईन लाई फ्रान्सको भ्रमणमा गएका थिए । त्यसबेलामा केही पत्रकारहरुले उनलाई सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिको विश्वव्यापी प्रभाव के पर्यो भनि सोधेका थिए । फ्रान्समै उच्च शिक्षा लिएका लाईले जवाफमा उक्त राज्यक्रान्तिको प्रभावको बारेमा भन्न निकै छिटो हुने बताए थिए । लाईका अनुसार झण्डै दुइ तीन सय वर्ष पछाडीसम्म पनि कुनै गम्भिर घटनाको प्रभाव, असर र त्यसको सम्पूर्ण परिणामको बारेमा आँकलन गर्न सकिदैन । किनकि यस्ता गहिरा घटनाले अझ गहिरा प्रभाव पार्दछन् । लामो समयपछि अझै थप गम्भिर प्रभाव पार्दछन् ।

वास्तवमा नेपालमा यतिखेर यस्तै गम्भिर दुर्घटना भएको छ । पछिल्लो समय मधेशमा भड्किएको हिंसा र त्यसपछि विकसित घटनाक्रमले देशलाई गम्भिर संकट ल्याउँदैछ । आफ्नो राजनीति दल वा राजनीतिक गुटको स्वार्थको लागि देशलाईनै बलीमा चढाउने एउटा गम्भिर र डरलाग्दो अवस्था अहिले देखिएको छ । राजनीतिक दल र तिनका नेताहरुमा देखिएको बालहठले समस्यालाई समाधान गर्नुको साटो अझ समस्या बल्झाउन सहायक बन्दै गईरहेको देखिन्छ ।

संविधानसभाबाट जारी नयाँ संविधानले देशमा शान्ति र सुरक्षालाई थप मजबुद बनाउदै विकास, उन्नति र समृद्धि ल्याउने छ भन्दै दिईएको आश्वासनको तिनै नेताहरु मिलेर एक एक गरि हत्या गर्दै गईरहेका छन् । देश हत्याहिंसा र आक्रोशको भुमरिमा फस्दै गएको छ । तत्काल यो साम्य भएपनि वा यसको तात्कालिक समस्या भेटिएपनि कालान्तरमा यसले दुरगामी असर पार्ने निश्चित छ ।

नयाँ संविधान जारी भएसँगै त्यो संविधानलाई संसारकै उत्कृष्ट र संसारकै निकृष्ट मान्ने गरी देशमा दुईवटा पक्ष देखिए । उत्कृष्ट मान्नेले निर्वाचन गरेर संविधान कार्यान्वयनमा जानुपर्ने अडान लिएको छ र निकृष्ट मान्नेहरुले संविधानको संसोधन पछि मात्र निर्वाचनमा जानुपर्ने अडान बोकेको छ । यिनै दुईवटा अडान र स्वार्थको रणमैदानमा यतिखेर देश पिल्सिएको छ । यसले एकातिर तोकिएको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्न सकिने अवस्था विग्रदै गएको छ भने अर्कोतिर दुईतिहाई पुर्याएर संविधान संसोधन गर्न सकिने वातावरण पनि विस्तारै विथोल्दै गएको छ । त्यसैले अहिले देशले भोगिरहेको समस्या भन्दा पनि ठुला र डरलाग्दा समस्या सन्निकट हुँदै गरेको आँकलन गर्न सकिन्छ । लोकतन्त्र माथि लोकतान्त्रिक भनिनेहरुबाटै समस्या सिर्जना हुदै गईरहेका छन् । गणतन्त्र माथि गणतान्त्रिकहरुले अवरोध खडा गर्दै गईरहेका छन् ।

दलका नेतृत्व तहले यसलाई नस्विकार्न पनि सक्छन् । उनीहरुले हिजो र आजमा फरक नभएको दलिल पेश गर्न पनि सक्छन् । तर बुझ्नुपर्ने कुरा के हो भने, चाउ ईन लाईले भने जस्तै यस घटनाको असर तत्काल खोजेर नपाईन पनि सक्छ । हिजो देश जसरी चलेको थियो, आज पनि त्यसैगरी चलिरहेको छ । तर वर्षौ पछि यसको असर देखिने नै छ ।

लोकतन्त्रको प्राण भनेको राजनीतिक दलहरु नै हुन । तर सबै राजनीतिक दलका वर्तमान नेतृत्वतह पूर्ण रुपमा असफल भईसकेको छ । अहिलेको नेतृत्वले सत्ता, शक्ति र पैसाबाहेक केहि देखेको पनि छैन र हेर्न पनि चाहदैन । आफ्नै कार्यकर्ताहरु पार्टी सदस्यहरुले सही बाटो देखाउँदा देखाउँदै शाही शासनकालमा प्रतिगमन सच्चियो भन्दै सत्तामा जानेहरु छन् । सत्तामा पुग्नको लागि गलत बाटो रोजेर आफ्नो पार्टी, लोकतन्त्र र मुलुकलाई नै भड्खालोमा धकेल्ने नेताहरु अहिलेसम्म पनि नेतृत्वमै छन् । यिनै नेतृत्ववर्गले फेरि मुलुकमा गहिरो र गम्भिर प्रकृतिको असर पर्ने गतिविधि अहिले गरिरहेका छन् । सहमतिको वातावरण विगारेर धमिलो पानीमा माछा मार्ने काम भईरहेको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गलत समयमा प्रतिनिधिसभा विघटन गरिदिदाँ मुलुकको राजनीतिले करिब एक दशक दुर्दशा भोग्नुपर्यो । प्रतिनिधिसभा विघटन गलत हो भन्ने कार्यकर्ता देउवा भन्दा कयौ गुणा दुरसदर्शी देखिए । प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गएको एमालेलाई सरकारमा बसेर एमालेले काम गर्न सकेन, छाडेर आउँ भन्दै आन्दोलन गर्ने कार्यकर्तालाई सार्वजनिक समारोहमै हप्काउँने तत्कालिन महासचिव माधवकुमार नेपाल भन्दा कार्यकर्ता कयौ गुणा दूरदृष्टियुक्त ठहरिए ।

विनाकारण प्रधानसेनापतीलाई कारबाहीको प्रयास गर्नु गल्ती हुन्छ भन्दै चियागफ गर्ने माओवादी कार्यकर्ताहरु प्रचण्डभन्दा निकै दुरदर्शी भएको पनि प्रमाणित भईसकेको छ । आफ्नो सीमित राजनीतिक स्वार्थको लागि देशै ठप्प पारेर नाकाबन्दीको मतियार बन्ने मधेशवादी दलहरु भन्दा त्यो ठिक होईन भन्दै बोल्ने मधेशका नागरिक कयौ गुणा दुरदर्शी देखिएका छन् ।

यतिखेर देशले भोगिरहेको समस्यामा दलहरुको दृष्टिकोण यस्तै घटना बन्न पुगेको छ । नेतृत्वतह आफ्नै डम्फु बजाईरहदाँ सामाजिक सञ्जालमै भएपनि सहमति र सहकार्यको राजनीतिको पुनरागमनको प्राथना गर्ने व्यक्तिहरु निकै दुरदर्शी र समाज बुझेका देखिन्छन् । मधेशमा राजनीतिक अभियान सञ्चालन नगरी नछाड्ने लहड र जसरी पनि त्यस्ता गतिविधि गर्न दिदैनौ भन्ने हठ दुवै अतिवाद हुन ।

पहिला एक किसिमको सहमतिमा पुगेर चुनावी अभियान गर्ने काम गर्न सक्दा अहिलेको भन्दा कयौ गुणा प्रभावकारी हुने थियो । अनि नेपालकै भुमि भित्र अमुक पार्टीलाई चुनावी सभा र गतिविधि गर्न नदिने अतिवादी सोच राख्नुभन्दा यसलाई सामान्य रुपमा लिएर आफ्ना एजेण्डा कार्यान्वयनको लागि संवाद गरेको भए झन् उपयुक्त हुने थियो होला । तर सीमित राजनीतिक स्वार्थले अन्धो बनेकाहरुले देशलाई जुगौजुगसम्म असर पार्ने गतिविधि गरिरहेका छन् । सफलताको श्रेय चाही लिने अनि गल्तीको अपजश चाहि नबोक्ने राजनीतिक नेतृत्वले गर्दा देश पटक पटक अप्ठ्यारोमा फस्दै गएको छ । पटक–पटक असफल ठहरिएका नेताहरुले पार्टीको नेतृत्व नछाड्दाको दुखद परिणाम अहिले देशले भोगिरहेको छ । यस्तो असफलता र अदुरदर्शीताको निरन्तरता अब भंग हुनुपर्छ ।

यतिखेर एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी मोर्चाका सम्पूर्ण स्थापित नेताहरुको परिक्षण भईसकेको छ । अब यी स्थापित नेताहरुले देशको भावि राजनीतिलाई नेतृत्व दिन सक्दैनन् । वर्तमान राजनीतिक नेतृत्वतह पूर्ण रुपमा असफल भईसकेको प्रमाण खोज्न अब कुनै अनुसन्धानको जरुरत छैन । यस्ता व्यक्तिहरुले लोकतन्त्रको प्राण मानिने राजनीतिक दलहरुको नेतृत्व गरिरहँदा लोकतन्त्र संस्थागत हुन सकिरहेको छैन । मुलुक विभिन्न गम्भिर संकटमा फस्दै गईरहेको छ । त्यसैले अहिलेको राजनीतिक नेतृत्वले राजनीतिबाटै सन्यास लिएर नयाँ पुस्तामा नेतृत्व हस्तारण गर्न जति ढिला हुन्छ त्यत्तिनै देशले संकट भोग्दै जानुपर्ने हुन्छ ।

अन्त्यमा, दलका नेतृत्व तहले यसलाई नस्विकार्न पनि सक्छन् । उनीहरुले हिजो र आजमा फरक नभएको दलिल पेश गर्न पनि सक्छन् । तर बुझ्नुपर्ने कुरा के हो भने, चाउ ईन लाईले भने जस्तै यस घटनाको असर तत्काल खोजेर नपाईन पनि सक्छ । हिजो देश जसरी चलेको थियो, आज पनि त्यसैगरी चलिरहेको छ । तर वर्षौ पछि यसको असर देखिने नै छ । विद्युतीय विकिरणको असर तत्काल केही नदेखिएपनि कालान्तरमा क्यासर भए जस्तै यस घटनाले तत्काल असर नपारे जस्तो लागेपनि कालान्तरमा देशलाई क्यासर झै असर पार्नेछ । चेतना भया ।

[email protected]


क्लिकमान्डु