हट्यो तरलता अभावको समस्या, बैंकिङ प्रणालीमा ५७ अर्ब तरलता




काठमाडौं । नेपालको केही महिनायता लगानी योग्य रकम (तरलता) अभावको चरम मारमा थियो । तरलता अभाव भएपछि बैंकहरु नयाँ लगानी गर्न सक्ने हैसियतमा थिएनन् ।

तर, अहिले अवस्था फेरिएको छ । अहिले बैंकिङ प्रणालीमा ५७ अर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले जानकारी दिएका छन् । जुन रकम लगानी गर्न मिल्छ ।

‘अहिले बैंकिङ प्रणालीमा तरलताको समस्या छैन, बैंकिङ क्षेत्र सुधारोन्मूख छ,’ गभर्नर नेपालले मंगलबार बसेको व्यवस्थापिका संसदको अर्थ समितिमा भने ।

जबकी माघ ११ गते बैंकिङ प्रणालीमा १७ अर्ब रुपैयाँले तरलता ऋणात्मक थियो भने १० प्रतिशत व्याजदरमा अन्तर बैंक सापटीका लागि आवेदनसमेत परेको थियो ।

त्यस्तै, यही फागुन ४ गते बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ अधिक तरलता थियो भने अन्तर बैंक औषत व्याजदर १ प्रतिशतभन्दा कममा झरिसकेको थियो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत राष्ट्र बैंकले गरेको व्यवस्थाले उत्पादनशील क्षेत्रमा थप १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुने अवस्था रहेको उनले गभर्नरले जानकारी दिए ।

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढ्दा त्यसले देशको उत्पादकत्व बढाउने भएकाले राष्ट्र बैंकले यस्तो क्षेत्रमा कर्जा विस्तार गर्ने नीति लिएको उनको भनाई थियो ।

व्याजदर निर्धारण बजारले तय गर्ने भए पनि राष्ट्र बैंकले निरन्तर दबाब दिइरहेको गभर्नरले बताए ।

‘मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत् कल भन्दा बचतको व्याजदर बढाइएको छ,’ उनले भने ।

बैंकहरुले मनपरी कर्जा दिन नपाउने गभर्नर डा. नेपालको भनाई छ । राष्ट्र बैंकसँग बैंकिङ प्रणालीमा ५ खर्ब रुपैयाँसम्म तरलता प्रवाह गर्नसक्ने क्षमता रहेको उनले जानकारी दिए ।

अन्य क्षेत्रमा ऋण दिन समस्या भएपनि उत्पादनशील क्षेत्रमा ऋण दिन कुनै समस्या नभएको उनको भनाई थियो ।

बैंकहरुको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको नीतिले बैंकिङ प्रणालीमा कुनै पनि समस्या नआएको गभर्नरले दाबी गरे ।

त्यसैगरी, राष्ट्र बैंकले तोकेकोभन्दा बढी कर्जा-पुँजी-निक्षेप अनुपात (सिसिडी रेसियो ) भएका बैंकहरुलाई कारबाही सुरु भइसकेको उनले जानकारी दिए । राष्ट्र बैंकले बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको भएपनि हाल ६ वटा वाणिज्य बैंकको सिसिडी रेसियो ८० प्रतिशतभन्दा बढी छ ।

अब तरलता सहज हुन्छः राजस्व सचिव

अर्थ समितिको बैठकमा राजस्व सचिव राजन खनालले अब बैंकिङ प्रणालीमा तरलता सहज हुने बताए ।

सरकारी खातामा रहेको २ खर्ब ३० अर्ब रुपैयाँ घटेर १ खर्ब ३० अर्ब रुपैयाँमा झरेकाले बजारमा पर्याप्त तरलता प्रवाह भएको उनको भनाई छ ।

‘बैंकहरुलाई तरलता लैजाउ भनेर २ खर्ब ४० अर्ब रुपैयाँ दिन खोज्दा बैंकहरुले ४० अर्ब रुपैयाँ मात्रै लगे,’ खनालले भने ।

बैंकहरुलाई कर्जा प्रवाह गर्न समस्या भएको भए निक्षेप बढाउनुपर्ने उनको भनाई छ । तरलताको समस्या सरकार र केन्द्रिय बैंकले समाधान गरेको खनालले बताए ।

अर्थतन्त्रको आकार बढेकाले र भारुका कारण तरलतामा केही चाप परेको उनको भनाई थियो ।


पुष्प दुलाल