सेयर बजारमा निर्वाचनको उत्साह मौद्रिक नीतिले निराश



काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.५४ ले घटेर १३५७.५७ अंकमा आइपुगेको छ ।

सोमबार बेलुकी मन्त्रीपरिषदको बैठकले आगामी बैशाख ३१ गते स्थानीय निकायको निवार्चन गर्ने घोषणा गरेपछि आज बजारमा हरियाली छाउने अपेक्षा गरिएको छ । सो अपेक्षा अनुरुप बजार खुल्ने बित्तीकै उछाल आएर २१ अंक सम्म बढ्यो । तर, एक घण्टाको कारोबार सम्म पुग्दा ७ अंकको सामान्य बृद्धि मात्र भएको थियो । तर, अन्तत नेप्से परिसूचक ७.५४ अंकले घटेर बन्द भयो । कारोबार रकम समेत हिजोको ८२ करोडबाट घटेर ६० करोडमा समेटिएको छ ।

मंगलबार १३७ कम्पनीको १० लाख ९३ हजार १ सय ९८ कित्ता सेयर कारोबार भएको छ । होटेल, उत्पादन र बिकास बैंक बाहेक सबै उप सूचकहरु घटेका छन् । बैंकिङ ५.५ अंकले घटेको छ भने बीमा १३८.०८ अंकले घटेको छ ।

बैंक अफ काठमाण्डौं लुम्बिनीको सबैभन्दा धेरै २ करोड ३७ लाखको कारोबार भएको छ । दोस्रोमा नबिलको प्रमोटर सेयरको २ करोड १६ लाख र तेस्रेमा प्रभु बैंकको १ करोड ९० लाखको कारोबार भएको छ ।

हिजो आएको निर्वाचन सम्बन्धी समाचार, बिहान करिब १५ मिनेटको उछाल र अन्तिमको गिरावटबाट सेयरबजारमा लगानी गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराको जानकारी लिन सकिन्छ ।
कुनैपनि एक घटना बिशेषमा मात्र आधारित भएर लगानी गर्न नहुने तथ्य आजको बजारले पुष्टि गरेको छ । जुन कुराले बजार घटेको हो त्यो स्थितीमा आधारभुत परिवर्तन नआई त्यसै हौसिन नहुने आजको बजारले देखाएको छ ।

उदाहरणको लागि बजारमा तरलताको अवस्था अझै सहज भैसकेको छैन । बैंकहरुले मुद्धती खातामा दिइरहेका १२ प्रतिशत सम्मको ब्याजदर तत्काल घट्ने संभावना देखिँदैन । यसको लागि अझै केहि महिना लाग्ने देखिन्छ । ब्याजदर र सेयर बजारको सँधै उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढेको बेला सेयर बजार बढ्नै सक्दैन ।

त्यस्तै, राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको समिक्षामा मार्जिन लेन्डिङको प्रतिशत बढाइने अपेक्षा गरिएको थियो । तर, अपेक्षा बमोजीम सो कुरा सम्बोधन भएन । यसको अर्थ के हो भने सेयर बजार पछिल्लो समयमा जुन कारणले घटेको थियो त्यस कारणमा आधारभुत परिवर्तन आएको छैन ।

तर, निराश भैहाल्नु पर्ने स्थिती भने छैन । चुनाव घोषणा गरे बमोजीम भएमा देशको अर्थतन्त्र चलायमान हुन ठूलो मद्दत पुग्छ, जसले नेप्सेमा सूचीकृत कम्पनीको नाफामा समेत सकारात्मक असर पार्छ । सरकारी खर्च बढ्न गई तरलताको समस्या हट्दै जानेछ ।

अर्थ मन्त्रालयले आर्थिक बृद्धिदर २०५१ साल पछिकै सबैभन्दा धेरै ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । उर्जा संकट हट्ने क्रममा छ । ब्रोकरहरु उपत्यका बाहिर पनि सेवा दिन जाँदैछन्, जसले सेयरबजारलाइ अझ बिस्तारीत बनाउनेछ । अनलाइन ट्रेडिङको प्रक्रिया शुरु भैसकेको छ । यसले सेयरबजारलाई बिकासको अर्को चरणमा लाने निश्चित छ ।

समग्रमा नेपालको सेयरबजारको भविष्य उज्ववल छ । दीर्घकालीन लगानी गर्नेहरुले पछुताउनु पर्ने छैन । तर, त्यसो भन्दैमा कुनै एक घटना बिशेषलाई मात्र आधार बनाएर एकै दिन सेयर किन्न छिर्दा नयाँलगानीकर्ता फस्ने जोखिम रहन्छ । चुनावको खहरोमा बजार थोरै बढ्ने बित्तीकै पुराना लगानीकर्ता बेच्न ओइरिनुले धेरै संकेत गर्छ ।

मंगलबारकोे मार्केट डेप्थ हेर्ने हो भने यसको पुष्टि हुन्छ । पहिलो १५ मिनेटको उछाल पछि बजारमा खरिदकर्ता भन्दा बिक्री गर्नेको बाहुल्य देखिएको छ ।

यसको अर्थ के हो भने पुराना लगानीकर्ता अझै बजार प्रवेश गरेका छैनन् । बरु, उनीहरु चुनावले ल्याएको उछालमा आफूसँग भएको सेयर बेच्न चाहन्छन् । शुरुमा बढेको बजारमा तुरुन्तै बिक्री चाप बढि भई बजार ओर्लन थाल्नुले यही पुष्टि गर्छ ।

त्यसैले यस्तो बेला नयाँ लगानीकर्ताले बिशेष होस पुर्याउनुपर्ने देखिन्छ । चुनाव हुनु पक्कैपनि समग्र देशको राजनीति र अर्थतन्त्रलाइ सकारात्मक बाटोमा लान सक्ने महत्वपूर्ण परिघटना हो । तर, यसैलाइ मात्र आधार बनाएर अहिले र आजै चाहिने भन्दा बढि उत्साहित हुँदा डुब्ने खतरा बढि हुन्छ । सेयर उचित मूल्यमा किन्ने र बेच्ने मौका त बजारले दिइनैरहन्छ ।


क्लिकमान्डु