लालमोहोर नलाग्दै असान्दर्भिक भयो बाफिया




काठमाडौं । बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) लालमोहोर नलाग्दै असान्दर्भिक भएको छ । बाफियामा राखिएका प्राबधान र सरकारले अब गर्न लागेको वित्तीय क्षेत्रको बिकास एक आपसमा बाझिएका कारण बाफिया असान्दर्भिक देखिएको हो ।

बाफिया संसदले पास गरिसकेको छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएर आएको छैन । यसैबीचमा सरकारले बित्तीय क्षेत्रको बिकास सम्बन्धमा सार्बजनिक गरेको ५ बर्षे रणनीति (बित्तीय क्षेत्र बिकास रणनीति) मा बाफियमा भएको ब्यवस्थाभन्दा अर्काे ब्यवस्था अपनाउने उल्लेख गरिएको छ ।

संसदबाट पारित भएको तर प्रमाणिकरण नभैसकेको बाफिया बिधयेकमा बैंकलाई सहायक कम्पनी खोलेर लघुवित्त र मर्चेन्ट बैंकिङ कारोबार मात्र गर्न दिने भनिएको छ । तर बित्तीय क्षेत्र बिकास रणनीति (एफएसडिएस) मा बैंकको ब्याज आम्दानी घटाउने अन्य सेवा तथा कार्यमा प्रेरित गर्न भनिएको छ ।

एफआइडिएसले बैंकहरुले आफ्ना ग्राहकहरुलाई आगामी दिनहरुमा ऋण र निक्षेपका अतिरिक्त अन्य बैंकिङ सेवाहरु पनि दिन सक्ने कल्पना गरेको छ ।

एफआइडिएस गत पुस २२ गते मन्त्रीपरिसदबाट् पारित भएको हो । यो ब्यवस्था अनर्गत बैंकहरुले आगामी दिनमा आफ्ना ग्राहकलाई दिने सेवामा बिबिधिकरण गर्दै लगे बैंकहरुको वित्तीय विवरणमा गैरब्याज आयको हिस्सा बढ्दै जाने देखिन्छ । साथै, बैंकिङ क्षेत्रद्धारा जारी गरिएको बण्डको मात्रा बढ्नेछ भने अन्य बैंकिङ उपकरणहरुकोसमेत बृद्धि हुनेछ ।

बिदेशी बैंकहरुले आफ्ना ग्राहकलाई निक्षेप र ऋणका अलावा सम्पत्ति ब्यवस्थापन, बित्तीय ब्यवस्थापन, बीमा, पेन्सन ब्यवस्थापन, सेयर ब्रोकेजलगायत सेवाहरु दिँदै आइरहेका छन् भने नेपाली बैंकहरुको आम्दानीको अत्यन्तै ठूलो हिस्सा ब्याज आम्दानीले ओगटेको छ ।

एफआइडिएसले यही विषय सम्बोधन गर्न खोजेको भएपनि बाफिया नै यसको बाधक बन्ने र तुरुन्तै संसोधन गर्नुपर्ने देखिएको छ । तत्काल बाफिया संसोधन नभए एफआइडिएस लागू गर्न अप्ठेरो पर्नेछ । एफआइडिएस विश्व बैंक र अन्तराष्ट्रिय मुद्राकोष जस्ता संस्थाहरुको सहयोग र आग्रहमा बनाइएकोले त्यसको कार्यान्वयनबाट पछि हट्न नसकिने अर्थमन्त्रालयका एक अधिकारीको भनाइ छ ।

‘भर्खरै आएको आर्टिकल फोरको मिसनले पनि एफआइडिएस पारित नभएकोमा चिन्ता जाहेर गरेको थियो, त्यसको कार्यान्वयनबाट पछि हट्ने भन्ने त कुरै हुदैन, बरु तत्काल बाफिया संसोधन गर्न लाग्नुपर्ने देखियो,’ अर्थमन्त्रालयका ती अधिकारीको भनाइ छ ।

अर्काे प्रमुख बिषय भनेको अबको नेपालको बैंकिङ प्रणाली कस्तो हुने सन्दर्भमा बाफिया र एफआइडिएसको परिकल्पना नै मिल्दैन । बाफियाले क, ख, ग तथा घ बर्गका बैंक तथा वित्तीय संस्था हुने भनेको छ । तर एफआइडिएसले युनिर्भसल बैंकिङको अबधारणामा जाने परिकल्पना गरेको छ ।


क्लिकमान्डु