पूँजी बृद्धिको आधारमा ब्यवसाय विस्तार हुदैन कि भन्ने बैंकर्सको चिन्ता गलत साबित




काठमाडौं । २०७२ सालको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी कम्तिमा पनि चार गुणाले बढाउने ब्यवस्था गर्यो । पूँजी बृद्धिको अनुपातमा ब्यवसाय विस्तार हुदैन र बैंकिङ क्षेत्रमा समस्या आउन सक्छ भन्ने तत्कालिन प्रतिक्रिया बैंकर्सको थियो ।

तोकिए अनुसारको चुक्ता पुँजी पु¥याउन अब ६ महिना मात्रै बाँकी छ । बैंकहरु एफपिओ, बोनस, हकप्रद तथा मर्जरबाट पुँजी बढाइरहेका छन् । पुँजी बृद्धि अनुसारको व्यवसाय विस्तार नहुँने भनाईलाई भने पछिल्लो समय बैंकिङ क्षेत्रमा बढेको कर्जाको मागले गलत साबित गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पुँजी बढाउने समयमा कर्जा बढ्दैन भनिए पनि त्यो भनाई गलत भएको बताउँछन् ।

‘पुँजी बढेपछि त्यो अनुपातमा व्यवसाय विस्तार गर्न सकिदैन भन्ने कोलाहल बैंकर्सहरुबाट आएको थियो, यसलाई अहिलेको कर्जा मागले गलत सिद्ध गरेको छ,’ शिवाकोटीले भने ।
नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेल अहिले बैंकमा कर्जाको माग अत्याधिक रहेको बताउँछन् । कर्जाको माग अधिक भएकोले पूँजी बृद्धिको अनुपातमा बैंकको ब्यवासय बढ्दैन कि भन्ने चिन्ता तत्कालको लागि नरहेको उनको भनाइ छ ।

‘अहिले कर्जाको माग निकै धेरै छ, यो माग ग्यासको ‘सर्टेज’ हुन लाग्यो भन्ने हल्ला चलेपछि घरमा दुइटा सिलिन्डर थुपारे जस्तै पनि हुन सक्छ, तर जेहोस् अहिलेको कर्जा मागले पूँजी बृद्धिको आधारमा ब्यवसाय बिस्तार हुदैन कि भन्ने चिन्ता तत्कालको लागि रहेन,’ पौडेलले भने ।

अहिले बैंकहरुलाई थप कर्जा विस्तारको बाधकको रुपमा लागि कर्जा पुँजी निक्षेप (सीसीडी रेसियो) छ । बैंकलाई पुँजीको तुलनामा निक्षेप बढाउनको लागि सजिलो हुन्छ । तर पुँजी नबढेको भए अहिले बढेको निक्षेपको आधारले भने बैंकलाई कर्जा प्रवाह गर्न थप समस्या हुने थियो ।

बैंकले पुँजी बृद्धि नगरेको भएपनि पछिल्लो समय कर्जाको माग बढ्नेमा कुनै शंका थिएन । यस्तो अवस्थामा कम पुँजीको आधार नै निक्षेप बृद्धि नभएपछि व्यवसाय विस्तारको लागि बाधक हुने थियो ।

वाणिज्य बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरणले पनि पुँजी बृद्धि अनुसारको व्यवसायमा विस्तार भएको देखाएको छ । बढी हकप्रदमा मात्र भर पर्ने तथा व्यवसायको आकार सानो भएका बैंक तथा वित्तीय संस्थालाई समस्या परेपनि व्यवसाय विस्तार गर्नको लागि पुँजी बृद्धिले भने सहयोग गरेको छ ।


क्लिकमान्डु