प्रधानमन्त्रीलाई सेयर लगानीकर्ताको पत्रः चुनावअघि गरेको बाचा भूलेकै हो ?
सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार ।
यसअघि पनि तपाईंको नाममा २ वटा पत्र लेखिसकेकी छु, यो मेरो हजुरका नाममा तेस्रो पत्र हो । तपाईं प्रधानमन्त्री भएलगत्तै लेखेको पत्रमा सेयर बजार सम्बन्धी जानकारी गराएकी थिए । साथै, दोस्रो पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषयलाई लिएर पत्र कोरेकी थिएँ ।
तपाईं प्रधानमन्त्री हुनुहुन्छ । तपाईं प्रधानमन्त्री हुनुभएको दिन सबै नेपालीजस्तै म पनि खुसी भएकी थिएँ । तपाईंलाई खादा र मालासहित बधाई दिन नपाए पनि मनमनै धेरै बधाई दिएकी थिएँ । देशले हक्की र निडर नेता पाएकोमा म खुशी थिए ।
अब विषयमा प्रवेश गरौं है त ।
छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषयलाई लिएर विभिन्नस्तरमा बिभिन्नखाले क्रिया र प्रतिक्रियाको बाढी नै लागेको थियो त्यसबेला ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
भारतीय शासकहरूको ‘ठूल्दाई प्रवृत्ति’का कारण नेपाली जनता भारतीय शासकप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् ।
पछिल्लो पटक २ वर्षअघि यी नै मोदीले मधेशलाई उचालेर नेपालमाथि नाकाबन्दी गरे । भारतको अघोषित नाकाबन्दीविरूद्ध तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो । नेपाली जनताले मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । फलस्वरूप तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो ।
नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे, मोदीले नेपाली जनतासामू माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । र, सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू खारेज गरोस ।
यी सबै काम गराउन शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरुन् । तर, बिडम्बना, तपाईंले जनताले चाहेअनुसार एउटा पनि काम गर्न सक्नु भएन । बरू उल्टै कहिले चटके शैलीमा राजस्थानी पहिरन पहिरिएर जग हँसाउनु भयो त कहिले हिजो आफ्नै पार्टीले राष्ट्रघात हुन्छ भनेर रोकेको अरूण-३ को छापामार शैलीमा संयुक्त शिलान्यास गरेर आफ्नै मन्त्रिपरिषदका मन्त्रीहरूलाई समेत चकित पार्नुभयो ।
मलाइ लाग्थ्यो, प्रधानमन्त्री ओलीको मुखबाट निस्केको बोली र बन्दुकबाट निस्केको गोली उस्तै हुन्, तर खै त ? के बातैपिच्छे रेल र पानीजहाजको कुरा गरेर हुन्छ र ?
मानौं पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि छाउगोठमा कुनै पनि किशोरी र युवतीहरू सर्पले डसेर अकालमा मर्नुपर्दैन ? कुनै भुस्तिघ्रे नरपशुबाट छाउगोठमा किशोरीहरू बलात्कृत हुनुपर्दैन ? तल्लो जात भएकै कारण कथित उपल्लो जातबाट धारा, पधेँरो छोएकै आधारमा अपमान र यातना भोग्नु पर्दैन ?
पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि मानौं के नेपाल स्वर्ग बन्छ ? कुनै नेपालीहरु दुःखी, गरिब, असहाय, निमुखा रहँदैनन् ? औषधोपचारको अभावमा कोही नेपालीको अकालमा ज्यान जाँदैन ? रोजगारी खोज्दै अरबको ५५ डिग्रीको तापक्रममा कुनै नेपाली युवा पसिना चुहाउन जानुपर्दैन ?
दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । त्यसैले प्रधानमन्त्रीज्यू, क्षणिक लोकप्रियताका लागि सत्यको गहिराइमा नपुगी सस्तो राजनीति नगर्दा नै राम्रो होला । तपाईं प्रष्ट हुनुहोला । कालोलाई कालो र सेतोलाई सेतो भन्ने एक सचेत नागरिक हुँ ।
किशोरीहरु बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरु प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तर्राष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन ।
तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्ने होला कि ?
३३ किलो सुन प्रकरण त्यतिकै सामसुम पारिएको छ । वाइडबडी जहाज खरिदमा अर्बौ भ्रष्टाचार भएको हुन सक्ने आशंका सबैले गरिरहेका छन् । यी त भए सतहमा आएका काण्डहरू । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन ।
प्रधानमन्त्रीज्यू,
मेरा थप केही असन्तुष्टि र आशंकाहरू पनि छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो ।
केही महिनादेखि निरन्तर ओरालो लागेको नेपाली पुँजीबजारको बारेमा झापामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो, ‘तपाईँहरु जो पुँजीबजारका लगानीकर्ता हुनुहुन्छ, धक फुकाएर लगानी गर्नुहाेस, चुनावपछि बन्ने वाम गठवन्धनको सरकारले पुँजीबजारको विकासको लागि कुनै कसर बाँकी राख्ने छैन । कम्युनिष्ट सरकार बनेपछि सेयर बजार झन् घट्छ भन्ने हल्ला फैलाइएको छ । यो सबै भ्रम हो ।’
वाम गठबन्धनको सरकार बनेपछि पुँजी बजारले नयाँ छलाङ मार्नेछ । धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर, आज म गलत सावित भएकी छु ।
तपाईंप्रतिको आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्डै झन्डै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।
आज २ वर्षबीचमा ७५० अंकले घटी यसवर्षको सर्वाधिक न्यून विन्दु ११३५ अंक कायम भएको छ । पुँजीबजारमा घटबढ हुने सामान्य प्रक्रिया नै हो ।
तर आज २ वर्ष बितिसक्दा २२ खर्बको सम्पत्ति १४ खर्बमा स्वाहा हुँदा लगानीकर्ताले तपाईबाट सम्बोधनको आशा राखेका थिए । आफनो सम्पत्तिको रक्षाका लागि हाम्रो नेपाल पुँजीबजार लगानी कर्ता संघले प्रभुत्व व्यक्तिहरुको माझमा सरकार बजार प्रति नेगेटिभ छैन भन्दै कैयन कार्यक्रम राख्दै लगानीकर्ताको मनोबल खस्किन नदिन लागिपरेको थियो ।
र, विभिन्न व्यक्तिको माध्यमवाट र म स्वयमले पनि वजारका यावत समस्याहरुको विषयमा यहाँ सामू जगजाहेर गराएकी सर्वविदितै छ ।
प्रधानमन्त्रीको हैसियतले जनताले बुझ्ने भाषामा केही बोल्नु भएको छैन । के यसरी मौन रहनु मिल्छ ?
यसो हुँदै गर्दा यहाँलाई विपक्षले लगाएको दाग बामपन्थी भनेका पुँजीबजारका लागि अभिसाप नै हुन्न भन्ने कुरा व्यावहारिक नै भएको देखिन्छ ।
हजुरको भाषणबाट पुलकित भएका पुँजी बजारका २० लाख लगानीकर्ताले अहिले आएर एमालेलाई भोट हालेर ठूलो गल्ती गरिएछ भन्न थालेका छन् । आखिर कहाँ गयो प्रधानमन्त्रीज्यू हजुरले बाँडेको आश्वासन ?
नेप्से निरन्तर ओरालो लाग्दा विशेष गरी साना र नयाँ लगानीकर्ता निकै चेपुवामा परेका छन् । उनीहरुको पीडाको कतैबाट पनि सुनुवाई हुन सकेको छैन । हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीको ठूलो समूह प्रवेश भएको थियो । अझ भनौ हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर आउँथ्यौं ।
अझ पछाडि फर्किएर हेर्ने हो भने तपाईँ नै प्रम हुँदा ०७३ साल साउन१२ गते पुँजी बजारले आकाशनै छोएको थियो । त्यसवेला नेप्से १८८१ विन्दुमा थियो । हजुर जस्तो दूरदर्शी भिजन राख्ने व्यक्तिले यो कुरा हेक्का राख्नु पर्ने होइन र, प्रम ज्यू ? यसको अर्थ मैले विगतको कुरा गर्न लागेकी होइन, वर्तमानको पीडा यस पत्रमार्फत पोख्न लागेकी मात्र हो ।
दैनिक घरायशी खर्च कटाएर सेयर बजारमा लगानी गर्नेको अवस्था झन् निकै दयनीय बन्दै गएको देखिन्छ । नेपालमै बसेर केही न केही गरौं भनेर पुँजी बजारमा हात हाल्नेको सपना माथि तुसारापात भएको छ ।
यसले सारा दोष तपाई र तपाइइको पार्टीमा दाग लाग्नेछ, रिसानी माफ गर्नुस् । तर यत्ति सत्य बोल्ने साहस त गर्नैपर्छ ।
कुनै दिनको चर्चाले तपाईलाई लोकप्रियताको चुलीमा पुर्याएको थियो, तर आजको चर्चाले तपाईलाई राजनीतिको सुली चढाउँदैछ । त्यसैले आज सबै कुरा ओझेलमा पर्ने गरी तपाईकै चर्चा छ सर्वत्र ।
प्रधानमन्त्रीज्यू,
तपाईसँग जनताको ठूलो अपेक्षा थियो । तर हाम्रो अप्ठ्यारोमा अट्टहास गर्ने शासक बन्नु भो होइन त ? अन्यथा हजुरलाई तमाम लगानीकर्ताले धिकार्ने छन् । र, भन्ने छन् फोस्रा आश्वासन बाँड्ने हामीलाई वाम गठवन्धनको सरकारप्रति लगानीकर्ताहरु रिसले चुर भएका छन् ।
पक्कै पनि झिनामसिना कामहरू धेरै भएका होलान् । २ बर्षमा तर इतिहास निर्माण झिनामसिना कामले हुँदैन । साहसिक निर्णयले मात्र हुन्छ । साहसिक निर्णय गर्ने अवसर अझै तपाईंसँग बाँकी छ ।
देशको हितानुकूल गर्न सक्नुभयो भने साँच्चै तपाई राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ । अन्यथा तपाईंको पनि हालत उस्तै हुनेछ, जस्तो पहिलाका प्रधानमन्त्रीहरूको हुँदै आयो । रोजाइ तपाईंको ।
समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । नसम्झनु होला, यो परीक्षा विरोधीको मात्र हो, यो त नेपाली जनताले तपाईमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ?
खरो उत्रनुहोस्, शुभकामना छ तपाईंलाई । शुभकामना मात्रै होइन, साथ पनि हुनेछ । आजलाई यत्ति नै ।