विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी



हेटौँडा । मनहरी गाँउपालिका-५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब १ करोड ५० लाख आम्दानी गर्छन् । १ करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक २ करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

उनले एक वर्षअघि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पालेका छन् । उनको फार्मले आम्दानी दिन शुरु गरिसकेको छ । फार्ममा हाल करीब दुई हजार पाँच सय लोकल कुखुरा, ३० वटा जती ब्याउने अबस्थामा रहेको पोथी बङ्गुर, माछा र खसीबोका छन् ।

२८ पोथी बंगरले जन्माएका करिब एक हजार ५ सय बंगुरका बच्चा बिक्रीबाट करिब ९० लाख आम्दानी भएको उनले बताए । एउटा पोथी बंगुरले एक बर्षमा करिब ५० बच्चा जन्माउने र एउटा बच्चा रु। आठ हजारसम्म बिक्री भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी उनले पालेका लोकल कुखुराले पनि आम्दानी दिइसकेका उनको भनाई छ । माछा बजारमा लैजान तयारी अबस्थामा रहेका उनले बताए । पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो माछा बेच्न सकिने लक्ष्य उनको छ । माछाबाट करीब रु १० लाख आम्दानी हुने अनुमान उनको छ । प्रत्येक छ महीनामा माछा झिक्न सकिने उनी बताउँछन् ।

खसीबोकाका लागि भने अझ केही समय लाग्ने अनिताले जानकारी दिए । तिहार लगत्तै माछा बजारमा लैजाने तयारी रहेको र माछाबाट करिब १५ लाख आम्दानी हुने उनले बताए । सबै गरेर एक बर्षको आम्दानी करिब रु डेढ करोड हुने उनको दाबी छ ।

दाजुहरु अलग बसिसकेका, दिदीबहिनीको विवाह भइसकेकाले एक्लैले बाबुआमा र परिवारको जिम्मेवारी सम्हालेर परिवारको समेत सहयोगबिना अनिताले विदेशको रु एक लाख ५० हजारको तलब छाडेर स्वदेशमै कृषि फार्म दर्ता गरी पशुपक्षी पालिरहेका छन् ।

सानै उमेरमा नै घर त्यागेर तत्कालीन माओवादी सेनामा लाग्नुभएकी २६ वर्षीया उहाँ शान्ति सम्झौता र सेना समायोजन पश्चात दुबई प्रहरीमा ५ वर्ष काम गरेर आम्दानी गरेको एक करोड कृषिमा लगानी गर्ने सोचले एक वर्ष अगाडि नेपाल फर्केका हुन् ।

‘त्यहाँ लगानी जम्मा नहुञ्जेलसम्म काम गरेँ, आफूसँग गाँउमा नै काम गर्न लगानी भएपछि कृषि गर्छु भनेर फर्केकी हुँ, कृषिमा लगानी गरेमा लगानी उठ्नेमात्र होइन, मनग्य आम्दानी हुने रहेछ,’ उनले भने ।

१० कट्ठा आफ्नै तथा १० कट्ठा लिजमा लिएर एक बिघा जमीनमा एक वर्षअघि कृषि फार्म शुरु गरेका हुन् ।

उनको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन् । व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उनकोे भनाइ छ ।

नजिकै सुकुम्वासी बस्ती रहेका कारण कामदारको अभाव नहुने उनी बताउँछन् । अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाएर यही पेशालाई निरन्तरता दिने उनको सोच छ । रासस


पुष्प दुलाल