बीओके ऋण दुरुपयोग प्रकरणः शोभनदेव पन्तले अजय श्रेष्ठलाई ‘बि केयरफूल’ भनेका थिए, यस्तो छ नालीबेली



काठमाडौं । सन् २०१२ को कुरा हो । बैंक अफ काठमाण्डू (बीओके)का तत्कालीन सिनियर म्यानेजर किरण बोहोराले सुरेन्द्र श्रेष्ठ भन्ने ग्राहकलाई ऋण पहिलोपटक दिन लबिङ गरेका थिए । बोहोराकै लबिङमा बीओकेको हेटांैडा शाखाले श्रेष्ठलाई २० लाख रुपैयाँ ऋण दिएको थियो ।

केही समयपछि श्रेष्ठले उक्त २० लाख रुपैयाँ ऋण तिरे । र, ५० लाख ऋण लिए । केही समयपछि ५० लाख पनि तिरे । र, झापाको बिरिङ खोलाको जग्गा धितो राखेर । १ करोड ५० लाख रुपैयाँ लिए । त्यसको केही समयपछि उक्त ऋण तिरे अनि फेरि त्यही जग्गा धितो राखेर १ करोड ९७ लाख रुपैयाँ ऋण लिए ।

‘पहिलो कुरा त एउटै धितोमा बैंकले बढाबढमा ऋण दिएको देखिन्छ,’ बीओके स्रोतले भन्यो, ‘जुन आफैंमा अस्वाभाविक थियो ।’
हेटौंडा स्थायी घर भएका सुरेन्द्र श्रेष्ठले झापाको बिरिङ खोलाको जग्गाको नक्कली लालपुर्जा बनाएर बीओकेबाट पटक पटक ऋण स्वीकृत गराई उपयोग गर्न सफल भए । प्रिन्टिङ प्रेसको व्यवसाय सञ्चालन गर्न लगायतको प्रयोजनका लागि कित्ता नं. ३६९६ र ३२७१ को जग्गा ४ कठ्ठा १० धुर जग्गा धितो राखेर ऋण लिएका थिए ।

श्रेष्ठले बैंकमा धितो राखेको जग्गा नै नक्कली थियो । बैंकका कर्मचारीहरु पटकपटक चेकजाँच गर्न जाँदा पनि उक्त कुरा पत्ता लगाएका थिएनन् । लागोस् पनि कसरी बैंककै कर्मचारीको मिलेमतो भएपछि ।

जब श्रेष्ठले ऋण तिरेनन् । तब बैंकले पटकपटक ताकेता गर्यो । जति गर्दा पनि ऋण नथिरेपछि बैंकले अनुसन्धान गर्दा नक्कली जग्गा धितो राखेको तथ्य खुल्यो । र, बैंक अफ काठमाण्डूले गत साउनमा ऋणीले बैंकलाई झुक्याएर बैंक ठगी गरेको भन्दै सुरेन्द्र श्रेष्ठविरुद्ध केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)मा किटानी जाहेरी दियो ।

त्यसको केही दिनपछि नै सीआइबीको टोलीले श्रेष्ठलाई पक्राउ गर्यो । उक्त प्रकरणमा प्रहरीले बैंकका पूर्वकर्मतारी, बहालवाला कर्मचारी हुँदै तत्कालीन सीइओ अजय श्रेष्ठलाई पनि पक्राउ गरिसकेको छ । श्रेष्ठलाई संविधान दिवसको दिन अर्थात् गत शुक्रबार पक्राउ गरेको थियो । र, सीआइबीले मंगलबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

अजय श्रेष्ठ पक्राउ परेपछि यो प्रकरण बढी चर्चामा छ । बैंकर्स संघले औपचारिकरुपमै कानून संशोधन गर्न लबिङ गर्ने र महान्यायधीवक्तालाई भेटेर श्रेष्ठप्रति सफ्ट भइदिन आग्रह गर्ने निर्णय गरिसकेको छ ।

श्रेष्ठ पक्राउ परेपछि बीओकेको व्यवस्थापन र सञ्चालक समितिले प्रहरीसमक्ष उनलाई छुटाउन बैंक नै जमानी बस्ने बतयो । तर, प्रहरीले मानेन ।

त्यसपछि बीओकेका सञ्चालकहरु राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालको घरैमा पुगेर श्रेष्ठलाई पक्राउ नगरी अनुसन्धान गर्नका लागि भनसुन गरिदिन आग्रह गरे । गभर्नर डा. नेपालले प्रहरीलाई आग्रह गरे । तर प्रहरीले मानेन ।

त्यसपछि बीओकेका सीइओ शोहनदेव पन्तले अर्थमन्त्री डा. खतिवडालाई श्रेष्ठ जस्ता व्यक्ति पक्राउ पर्नु दुखद भएको भन्दै बिचार गरिदिन आग्रह गरे । अर्थमन्त्री खतिवडाले पनि इमानदार मान्छे फसेको भन्दै आफूले सक्दो सहयोग गर्ने बचन दिए ।
तर, पक्राउ परेको ५ दिनसम्म पनि श्रेष्ठलाई प्रहरीले छाडेको छैन ।

‘कानूनमै समस्या भएका कारण अजय श्रेष्ठजस्ता इमानदार व्यक्तिलाई प्रहरीले पक्रियो र छाड्न सकिरहेको छैन,’ बीओकेका सीइओ पन्त भन्छन्, ‘हामीले यो कानून संशोधन गर्न सकेनौं भने आज अजय श्रेष्ठ फसे होला, भोलि सबै बैंकर अवश्य फस्नेछन् ।’

कर्मचारीको नियतले सीइओ फसे

यो डिफल्टरको केस नभई जालसाजीको केस भएकाले सीआइबीमा उजुरी गर्नु परेको बैंकले जनाएको छ ।  बैंकका सिनियर म्यानेजर किरण बोहोरा हेटौंडाका हुन् । ऋणी सुरेन्द्र श्रेष्ठ पनि हेटौंडाकै हुन् ।

बोहोराले श्रेष्ठलाई बैंकमा ल्याएका हुन् । बोहोराकै निर्देशनमा शुष्मा शाहले कर्जाको फाइल तयार पारिन् । कागजात हेर्दा राम्रै देखिन्थ्यो । तर, अहिले निर्दोष शाहलाई पनि प्रहरीले पक्राउ गर्यो । अरु निर्दोष कर्मचारी पनि पक्राउ परे ।

घटनामा मुछिएका तल्लो तहका कर्मचारीहरु भन्छन्- ‘हामीलाई त्यो बेला माथिका मान्छेले भनेको काम गर्नै पर्ने बाध्यता थियो ।’
किरण बोहोराले सुरेन्द्र श्रेष्ठ एकदमै राम्रो मान्छे हो ऋण दिनु भनेर बीओकेका बिराटनगरका तत्कालीन क्षेत्रीय प्रबन्धक गणेश लम्साललाई इमेल नै लेखेका थिए, ‘सुरेन्द्रजीको फाइलमा प्रेमजीलाई लिएर गएर इस्पेकसन रिपोर्ट तयार पारि पठाइदिनू ।’

प्रेम भनेका पूर्वतिर यस्तै नक्कली काम गरी ठगी गर्ने ग्याङका प्रभावशाली सदस्य हुन् । बैंकिङ क्षेत्रभन्दा बाहिरका व्यक्ति हुन् । यो घटनाको ठूलो योजनाकार हुन् प्रेम ।

गणेश लम्साल ४÷५ महिनाअघि मात्रै रिटायर्ड भए । बोहोरा भने डेढ वर्षअघि नै जागिर छाडेर बसेका थिए ।

यो केसमा क्षेत्रीय प्रबन्धक आफैं पटक-पटक इन्स्पेक्सनमा गएको देखिन्छ ।

१० महिना प्रयास गर्दा ऋण नउठेपछि

पटक-पटक इस्पेक्सन्समा जाँदा खोलाको जग्गा त्यो पनि नक्क्ली धनीपूर्जा भएको धितो राखेको कुरा त्यो लेभलको मान्छेले थाहा नपाउने भन्ने कुरा हुन्छ ? ‘अहँ हुँदैन । ‘बैंकका कर्मचारीको मिलेमतो नभई यो हुनै सक्दैन । त्यही भएर त प्रहरीले अहिले लम्सालजीलाई पक्राउ गरेको हो नि ।’

पुष्पराज भण्डारी, गिरिजा मल्ल लगायतका कर्मचारीलाई श्रेष्ठबाट ऋण असूली गर्न ठूलो दबाब दियो- ‘यो फर्जरीको केश छ, यसले गंभीर रुप लिन्छ, जसरी भएपनि सल्ट्याउनुहोस् भनेर ६ महिनाअघि सञ्चालक समितिले भन्यो ।’

बैंकका कर्मचारीहरुले ऋण उठाउने प्रयास पनि गरे । तर, नसकेपछि सकेनौं भन्ने जवाफ दिए ।

एक वर्षभित्र मुद्दा हाल्नै पर्छ । र, बैंकले १० महिनापछि ऋणीलाई कारबाही गर्न माग गर्दै केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)मा किटानी जाहेरी दियो ।

जब बीओकेले सीआइबीमा उजुरी दियो । तब सीआइबीले उक्त प्रकरणमा संलग्न व्यक्तिहरुको लिस्ट माग्यो । तब पन्त झसंग भए । र, अजय श्रेष्ठलाई फोन गरेर भने- ‘बि केयरफूल ।’

त्यसो भन्दा अजयले उक्त विषयमा आफूलाई केही पनि थाहा नभएको जवाफ दिएका थिए ।

‘उही प्रकृतिको घटनामा हिँजो अजय श्रेष्ठले प्रहरीमा उजुरी गर्दाचाहीँ ठीक हुने र आज शोहनदेव पन्तले गर्दाचाहीँ बीओके र लुम्बीनीबीचको लफडा भन्ने ? त्यो पनि जिम्मेवार सीइओ साहेबहरुले नै ?’ स्रोतले भन्यो ।

इटहरी र काठमाडौंमा अर्को लफडा

श्रेष्ठले इटहरीको जग्गा र काठमाडौंको घर धितो राखेर पनि बीओकेबाट ऋण लिएका छन् । सबै गरेर उनले बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका हुन् ।

इटहरीको जग्गामा पनि अर्कै लफडा छ । जुनदिन श्रेष्ठले जग्गा धितो राखेर ऋण लिएका छन् । उनले एकजना गुरुङ थरका व्यक्तिसँग उक्त जगगा उसैदिन किनेको कागज बनाए । र, उसैदिन बैंकमा धितो राखेर ऋण लिए ।

‘यो प्रक्रिया पूरा गरेर बैंकबाट ऋण लिन ६ महिना लाग्थ्यो, तर त्यस्तो भएन,’ स्रोतले भन्यो, ‘बैंकमा धितोबन्धक पास गर्नेवित्तिकै श्रेष्ठले जोसँग उक्त जग्गा किनेका हुन् उसैले जालसाजी भएको हो भन्ने मुद्दा हाले ।’

श्रेष्ठलाई जग्गा बेच्ने र पछि जालसाजी भएको भन्दै मुद्दा हाल्ने व्यक्ति गुरुङ एउटै गिरोहका ठग हुन् ।

यसरी मुद्दा परेपछि धितो बन्धकमा रहेको उक्त जग्गा बैंकले पनि केही गर्न सक्दैन ।

त्यतिमात्रै होइन, काठमाडौको अढाइ आना जग्गामा भनेको घर धितोमा पनि श्रेष्ठले बीओकेबाटै १ करोड ऋण लिए । उक्त जग्गा श्रेष्ठकी श्रीमतिको नाममा छ । बैंकबाट ऋण लिएपछि श्रेष्ठले आमालाई मुद्दा हाल्न लगाए ।

‘इटहरीको जग्गा र काठमाडौंको घर धितो त सक्कली छ बैंकले मुद्दा हालेर कुनै न कुनै दिन असूल पक्कै गर्छ,’ स्रोतले भन्यो, ‘बिरिङ खोलाको जग्गा त नक्कली छ । सीआइबीमा जानुको बिकल्पै थिएन ।’

बैंकले घटना थाहा पाएको एक वर्षभित्र प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ । होइन भने घटना लुकाएको आरोपमा व्यवस्थापन र सञ्चालक समितिविरुद्ध प्रहरीले मुद्दा चलाउँछ ।

आफैंले मुद्दा हालेर आफैं बयान दिन गएका थिए अजय

२०१७ सालमा बैंकका तत्कालीन सीइओ अजय श्रेष्ठले धनगढीका एक ऋणीले नक्कली कागजात बनाइ २ करोड ७५ लाख रुपैयाँ ऋण लिएको थाहा पाएपछि धनगढी जिल्ला प्रहरी कार्यालयमा ऋणी विरुद्ध जालसाजीको मुद्दा हालेका थिए । उक्त घटनामा बैंकका ४ जना कर्मचारी बैंकिङ कसूरमा पक्राउ परे ।

सीइओ श्रेष्ठ पछि आफैं धनगढीसम्म बयान दिन गएका थिए ।

धितो बन्धक पास गर्न जाँदा बैंकले ड्राइभरलाई पठाइएको थियो । जग्गा पनि नक्कली, अदालतबाट भएको धितोबन्धक पास पनि नक्कली । सबैकुरा नक्कली थियो ।

धनगढी दिप प्रालि नामक कम्पनीले नक्कली धितो राखेर बीओकेबाट ऋण लिएको कुरा राष्ट्र बैंकको सुपरिभिजनले पत्ता लगाएको थियो । राष्ट्र बैंकको सुपरिभिजन टोलीले बैंकका सीइओ र सञ्चालकलाई राखेर यतिका समय किन लुकाएर राखेको भनेर मार झपारेका थिए ।

‘तपाईंहरु मुद्दा हाल्नुहुन्न लुकाएर राख्नुहुन्छ भने सीइओ र सञ्चालक समिति विरुद्ध हामी मुद्दा हाल्छौं,’ भन्दै राष्ट्र बैंकको टोलीले थर्काएको थियो ।

त्यसलगत्तै अजय श्रेष्ठको अप्रुभलमा धनगढीका ब्रान्च म्यानेजरले जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेका थिए ।

नियत कस्तो छ भनेर हेर्ने कानून चाहिन्छ

‘सीइओ भइसकेको व्यक्तिलाई दोषी ठहर नभई प्रहरीले पक्रउा गर्ने कानूनमै समस्या छ,’ पन्त भन्छन्, ‘फाइलमा सही गरेकै आधारमा सीइओजस्तो व्यक्तिलाई पक्राउ गर्ने कानून नै गलत छ । तलका कर्मचारीले तयार पारेको फाइलमा सीइओले विश्वास गरेर सही गरेको हुन्छ ।’

असल नियतले गरेको काम बिग्रियो भने सीइओ नै दोषी हुने व्यवस्था खारेज गर्नुपर्ने उनको भनाइ छ ।

‘सीइओको नियत असल थियो कि खराब भनेर पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘नियत नहेर्ने कानूनका कारण आज अजय श्रेष्ठजस्ता अति नै इमानदार बैंकरलाई प्रहरीले पक्राउ गरेको छ । भोलि हामी जो-कोही पक्राउ पर्न सक्छौं ।’


पुष्प दुलाल