वनमन्त्री शक्ति बस्नेत भन्छन्- कर्णालीको पर्यटन विकासका लागि हवाई भाडा घटाउँ




काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीको पर्यटन विकासका लागि विभिन्न प्याकेज बनाएर त्यसै अनुसार पर्यटकलाई आकर्षित गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा आयोजित कर्णाली प्रदेशको पर्यटन विकास तथा प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले कर्णालीमा रारा तालबाहेक अन्य क्षेत्रमा पर्यटक आकर्षित गर्न नसकिएको बताए ।

उनले भने, ‘पर्यटकलाई रारा ताल घुम्न १ दिन मात्रै लाग्छ, त्यसबोहक पर्यटकलाई अन्यत्र लैजान सकिएको छैन, त्यसका लागि कम्तीमा १ साता कर्णाली मै समय खर्च गर्ने गरी प्याकेज बनाउनु आवश्यक छ ।’

नेपालले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । तर कर्णालीमा अहिलेको तथ्यांक हेर्ने हो भने जम्मा १ प्रतिशत मात्रै पर्यटक पुगेको उल्लेख गर्दै उनले सन् २०२० को लक्ष्य भेट्याउनका लागि कर्णालीमा विशेष प्याकेज आवश्यक रहेको बताए ।

उनले भने, ‘पछिल्लो तथ्यांक हेर्ने हो भने जम्मा १२ हजार मात्रै पर्यटक कर्णालीमा पुगेका छन, यो १ प्रतिशत मात्रै संख्या हो, त्यसैले पर्यटकलाई आकर्षित गर्नका लागि हामीले नयाँ योजना अगाडि सार्नुपर्छ ।’

बस्नेतले कर्णालीको विकासका लागि हवाई यात्राको शुल्क बढी भएको समेत तर्क गरे ।

उनले भने, ‘कर्णाली जानका लागि हवाई यात्रा गर्दा पर्यटकले महंगो शुल्क तिर्नु परेको छ, जसले पर्यटक कर्णालीमा जान खोज्दैनन् ।’

आफूले एयर फेयरको विषयमा क्याबिनेट बैठकमा समेत कुरा उठान गरेको समेत बस्नेतले बताए । उनले हवाई भाडा घटाउनुपर्ने समेत भनाइ राखे । यसबारेमा सबैले पुर्नविचार गर्नुपर्ने बेला आएको उनले बताए ।

त्यस्तै, कर्णालीमा आफ्नै मौलिक स्रोत र साधनलाई उपयोग गरी पर्यटक आकर्षित गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘अहिले कस्तो अवस्था छ भने पर्यटकले त्यहाँ पनि कोक, मिनरल वाटर खानु परेको छ, यसले पर्यटकले कर्णालीमा गएर गर्ने खर्च फेरि कर्णाली बाहिर आइरहेको छ, कर्णालीमा कारोबार त हुन्छ तर त्यहाँ रहँदैन ।’

उनले यसका लागि कर्णालीमै पैसा रहने गरी त्यहीँको स्थानीय स्रोत साधनको अधिक्तम उपयोग गरी प्याकेज निर्माण गरी पर्यटक आकर्षित गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री जनार्दन शर्माले पर्यटक बलपूर्वक कहीँ पनि नजाने भन्दै पर्यटक आकर्षित गर्न पहिले आफू सक्षम हुनुपर्ने बताए ।

उनले भने, ‘पर्यटक कसरी आकर्षित गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट काम गर्नुपर्छ, कुनै पनि पर्यटक बलपूर्वक घुम्न जाँदैनन ।’

कर्णालीको पर्यटन विकासका लागि कर्णाली पर्यटन करिडोरको परियोजना अनुसार काम अगाडि बढाइएको उल्लेख गदैै त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।

कर्णालीमा नेपाली भाषाको उद्गम थलो हो, धार्मिक हिसाबले प्रख्यात छ, मानसरोवर जानका लागि बाटो कर्णाली बाटो पनि हो त्यसैले यी कुराहरुलाई ध्यान दिएर पर्यटन विकास गरिनुपर्ने उनको तर्क छ ।

अहिलेको समयमा हामीले थोरै लगानीमा धेरै काम गर्नुपर्ने भएकाले कर्णालीका सबै जिल्लामा होमस्टे बनाउनका लागि पहल गर्नुपर्छ ।

उनले भने, ‘अहिले रारा जाने पर्यटकले सिजनको समयमा होटलमा बास पाउँदैनन, तर नजिकैको मुर्मा गाउँमा होमस्टे बनाउन सकियो भने पर्यटकले बास पनि पाउने र थोरै लगानीमा पर्यटनको क्षेत्रमा विकास पनि हुन्छ ।’

उनले यसका लागि सरकार र स्थानीय जनताहरु मिलेर काम गर्नुपर्ने बताए ।


क्लिकमान्डु