मलेसियामा जस्तो राजनीतिक बायस भएर बिग मर्जर नगराइयोस्, पछुताउनु नपरोस्: शोभनदेव पन्तको बिचार
बैंकको मर्जरले यतिबेला बजार तताएको छ । गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई मर्जरमा जान भनेसँगै अहिले बजारमा बैंकहरुको मर्जरलाई लिएर चर्चा चुलिएको छ ।
बैंकिङ क्षेत्रको सुदृढिकरणको आवश्यकता किन पर्यो र कसरी पर्यो भन्ने बारेमा एउटा तरंग गत बिहीबारबाट बजारमा आएको छ । मैले बैंकिङ क्षेत्रमा ३ दशकभन्दा बढीको अनुभव संगालेको छु ।
यसै अनुभवका आधारमा यस विषयमा केही सुझावहरु राख्न चाहन्छु । मेरो बिचारमा राष्ट्र बैंकलाई कसैको सुझावको आवश्यकता पर्दैन जस्तो लाग्छ । रिसर्च बेसमा हेर्दा राष्ट्र बैंक जति अरु निकायसँग तथ्यांक छैन् ।
राज्यले पनि आवश्यक तथ्यांक राष्ट्र बैंकसँग नै लिने गरेको छ । यति हुँदाहुँदै पनि गभर्नरको चिन्ता के हो भने वित्तीय क्षेत्र राम्रोसँग चलेन, व्यवस्थापनमा समस्या आयो, ऋणमा समस्या आयो ।
यसै विषयमा अब कसरी सम्हाल्ने त बैंकिङ क्षेत्रलाई भन्ने आधारमा अहिले आएर मर्जरको कुरा सुरु भएको छ । यो बाहेक अरु विकल्प छैन कि भन्ने पनि भएको होला ।
यतिबेला केही प्रश्न उठेका छन् जुन समयमा किन यति संस्थालाई राष्ट्र बैंकले अनुमति दिनु परेको थियो ? फेरि अहिले आएर किन फोर्स मर्जर किन आवश्यक पर्यो ?
मेरो मनमा खड्केको प्रश्न हो पनि हो यो । तर मैले यसको जवाफ खोजेको होइन । यो विगतको कुरा हो । हामीले यसको जवाफ पनि पाउन सक्दैनौं ।
जतिबेला हामीले पुँजी ८ अर्ब पु्र्याउने कुरा गर्यौं, त्योबेला वित्तीय क्षेत्र सुधारका लागि उठाएका थियौं । जति ठूलो पुँजी हुन्छ, सानो हुरी बतास आउँदा पनि नढलुन् भनेर तरिकाले गभर्नरज्यूले चिन्ता लिएको जस्तो लाग्छ ।
त्यो बेला पनि बैंकहरु मर्जरमा जाने थिए । त्यो समयमा हकप्रद सेयर जारी गर्ने नीति अवलम्बन नगरेको भए हुन्थ्यो । हकप्रदबाट पुँजी बढाउनु ठीक कि बेठीक भनेर अनुसन्धान विभागले हेर्नुपर्ने थियो । यी सबै भनेर मैले यी प्रश्नको जवाफ खोजेको भने होइन ।
नेपालको सन्दर्भमा फाइनान्सियल क्षेत्रमा अहिले पूँजी निर्माणको लागि माहोल मिलेको छ । अहिले मर्जरको कुरा निकै आएको छ ।
हामीले मलेसियाको पनि मर्जरको सन्दर्भ हेरेका छौं । त्यहाँको इतिहास हेर्दा कतिपय सन्दर्भमा राजनीतिक बायसका आधारमा मर्जर गराइयो थियो । त्यो बेला त्यहाँ जुन दृश्य आएको थियो नेपालमा त्यो दृश्य नआओस्, यो मेरो विनर्म अनुरोध हो ।
मर्जरको विषयले ती समस्याको समाधानको बारेमा कति काम गर्छ भन्ने प्रश्न हो । हामी कहाँ बिजनेश म्यान र बैंकबीचको जुन सम्बन्ध छ, त्यो प्रस्ट भएर मर्जरको दिशामा जानु पर्छ । होइन भने हामी झन समस्यामा पर्छौ ।
आज समस्याको समाधान भयो भनेर बस्छौं । तर आगामी ५ वर्षपछि झन ठूलो गम्भीर खालको समस्या आउन सक्छ । त्यसैले अहिले नै समस्याको समाधानको पाटो पहिल्याउनु आवश्यक छ ।
हामीले खोजेको भनेको बोर्डको विविधिकरण आओस् । वित्तीय सुदृढिकरणको लागि बैंकिङ व्यवसाय व्यवसायीक रुपमा चलोस भन्ने हो । त्यसैले अहिले यो दिशातर्फ लाग्नुपर्छ ।
बिग मर्जरले पनि यसलाई आधार बनाउनु पर्छ जस्तो लाग्छ । अब बिग मर्जरमा केमा अड्किएको छ त ?
हामीले अहिले मर्जर गरेर एक दशक पछि त्यसको समीक्षा गर्दा हामीले तत्कालिन समयमा सही निर्णय गरेछौं भन्ने वातावरण बन्नुपर्छ । मलेसियमा भएको मर्जरको अनुसन्धान गरेर त्यसबाटोमा अगाडि बढ्नुपर्छ । मलेसियामा कसले कसलाई गाभ्ने भनेर निकै अध्ययन भएको थियो ।
त्यसैले नेपालमा पनि हतार गरेरभन्दा पनि समय लिएर राम्रोसँग अध्ययन गरेर मर्जरमा जानु उपयुक्त हुन्छ । १० वर्षपछि हेर्दा हामीले पश्चाताप गर्न नपरोस् । हिँजो बैंकहरुलाई लाइसेन्स दिएर संख्या ठूलो बनाउँदा आज जुन पश्चताप भएको छ त्यो नहोस भन्ने गरी मर्जरमा जानुपर्छ ।
(मौद्रिक नीतिको सुझाब संकलन गर्न राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बैंकर पन्तले दिएको सुझाब)