सेयर बजारमा बुझेर मात्रै लगानी गरौंः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवरावज खतिवडाले नेपालको पुँजी बजारमा जानी बुझी मात्रै लगानी गर्न लगानीकर्तालाई सुझाव दिएका आग्रह गरेका छन् ।

मंगलबार नेपाल धितोपत्र बोर्ड र ओइसिडीले आयोजना गरेको अन्तर्राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा मन्त्री डा. खतिवडाले यस्तो बताए ।

‘वित्तीय कारोबार गर्नेहरुलाई आफुले कुन कम्पनीमा कारोबार गर्ने हो, त्यस कम्पनीको वित्तीय अवस्था कस्तो छ, संस्था कस्तो हो भन्ने बुझ्न आवश्यक आवश्यक छ । र, त्यसको लागि वित्तीय साक्षरता चाहिन्छ, सबै लगानीकर्तालाई वित्तीय साक्षरता पुर्याउन आवश्यक पनि छ,’ मन्त्री डा. खतिवडाले भने ।

खतिवडाले सबै सरोकारवाला निकायलाई सबै सर्वसाधारणमा वित्तीय साक्षरता पुर्याउन आग्रह गरेका छन् ।

उनल कतिपय लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको वासलातबारे चासो नदिने वार्षिक प्रतिवेदनमा पनि ध्यान नै नदिइ लगानी गर्ने गरेकोले उनीहरुलाई वित्तीय साक्षरताको आवश्यक रहेको बताए ।

वासलात, कम्पनीको वार्षिकोत्सवको प्रतिवेदन हेरेर लगानी गर्न सकेको खण्डमा उनीहरुको नै हित हुने मन्त्रीको भनाई छ । लगानी गर्दा केही रिक्स भएपनि रिक्स भएको ठाँउबाट मुनाफा कमाउन सक्नु पर्ने मन्त्रीको धारणा छ ।

उनले भने ‘रिक्स भयो भन्दैमा लगानी गर्न छोडने होइन, रिक्सलाई घटाउँदै लगानी गरेर नाफा आर्जन गर्न सक्नुपर्छ, त्यसको लागि वित्तीय साक्षरता निकै महत्वपूर्ण हुन्छ ।’

वित्तीय साक्षरता कहिल्यै पनि नसिकिने विषय भएकोले यसलाई निरन्तरता दिँदै जानु पर्ने मन्त्री भनाई छ ।

कार्यक्रममा मन्त्री खतिवडाले सबै लगानीकर्ताहरुलाई कुन बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीमा लगानीगर्दा कति राम्रो हुन्छ, त्यो कति सुरक्षित हुन्छ र त्यसले कति प्रतिफल दिन्छ भन्ने थाहा नभएको भन्दै उनीहरुमाझ वित्तीय साक्षरता पुर्याउनु पर्ने तर्क गरे ।

कार्यक्रममा उनले विदेशमा रहेको ५० लाख युवा मध्ये अधिकाशंका परिवारले वित्तीय कारोबार गर्ने र त्यसमा पनि महिलाको संख्या बढी रहेको रहेको भन्दै उनीहरुलाई तत्काल वित्तीय साक्षरता पुर्याउन आवश्यक रहेको बताए ।

उनले नेपालमा आउने पैसा वैधानिक रुपमा भन्दा पनि हुन्डी लगायत क्षेत्रबाट आउने गरेको भन्दै यसले राष्ट्रको लागि चुनौतीको विषय बनेको बताए ।

उनले भने ‘यसलाई विस्तारै निरुत्साहित गर्दै जानुपर्ने बाध्यता छ ।’

मन्त्री खतिवडाले वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरणको मुद्दा जटिल बन्दै गएको बताए ।

कार्यक्रममा उनले नेपालले छिटो भन्दा छिटो आर्थिक विकासमा फड्को मारी रहेको पनि जानकारी गराए । यसका लागि पनि वित्तीय साक्षरता आवश्यक रहेको उनको तर्क छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामनी शिवाकोटीले वित्तीय साक्षरताको लागि राष्ट्र बैंकले विभिन्न काम गर्दैै आएको बताए । नेपालमा सबै मानिस आर्थिक रुपमा पनि बिस्तारै सबल बन्दै गएको उनको भनाई छ । त्यसको लागि पनि ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइरहेको शिवाकोटीले बताए ।

उनले भने ‘अहिले ७३० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ, चालु आव भित्रमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्ने छ ।’

दुइदिनसम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशका १२५ जनाको सहभागिता रहेको बोर्डले जनाएको छ ।


पुष्प दुलाल