विकास बैंक चलाउन मुस्किल, अधिकांश मर्जरमा जाने तयारीमा



काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक प्राइम बैंकसँगको एक्विजिसन प्रक्रिया तोड्दै यही जेठ २ गते एनएमबि बैंकसँग मर्जरमा जाने सम्झौता गर्यो ।

यस्तै पोखराबाट नै काठमाडौं आएको कैलाश विकास बैंकले प्राइमसँग मर्जरमा जानको लागि सैद्दान्तिक समझदारी गर्ने तयारीमा छ ।

ओम र कैलाश विकास बैंकहरुमा स्थापनाकालदेखि राम्रो प्रतिफल दिने विकास बैंकमा पर्छन् । राष्ट्रियस्तरका विकास बैंक ओम र कैलाश नै वाणिज्य बैंकमा मर्जरमा जाने भएपछि अरु विकास बैंकहरु झस्केका छन् ।

राष्ट्र बैंकले २०७२ सालमा ल्याएको मौद्रिक नीतिपछि राष्ट्रियस्तरका विकास बैंकको चुक्ता पुँजी ६४ करोडबाट २ अर्ब ५० करोड पुर्याउने निर्णय गर्यो । त्यो बेला ८५ को संख्यामा रहेका विकास बैंकहरु अहिले २५ वटा झरेका छन् ।

राष्ट्रियस्तरका विकास बैंक हुन् या क्षेत्रियस्तरका विकास बैंक मर्जर एक्विजिशनसँगै हकप्रद जारी गरेर पुँजी बढाएका थिए ।

राष्ट्र बैंकले भने अनुसारको पुँजी बढे पनि प्रतिफल दिनको लागि सिइओहरु दवावमा छन् ।

वाणिज्य बैंकहरुको पनि २ अर्बबाट ८ अर्ब रुपैयाँ पुँजी पुर्याउने निर्णय राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २०७२ सालमा नै गरेको थियो ।

भूकम्प र नाकाबन्दी भएको २०७२ सालमा कर्जा प्रवाह भएन । बैंकमा निक्षेप मात्र थुप्रियो । २०७३ सालको सुरुवातसँगै बैंकहरुमा ऋणको माग विस्तारै बढ्न थाल्यो ।

विकास बैंकका ऋणी नै वाणिज्य बैंकले त्यो बेला सस्तो ब्याजदरमा ऋण दिएर ताने । २०७३ सालको मंसिरसँगै अवस्था फेरियो । बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा कर्जाको माग अत्याधिक भयो । जसले गर्दा ऋणयोग्य अभावको समस्या देखियो । जुन अझै हटेको छैन ।

तरलता सहज हुँदा ऋणी तानेका वाणिज्य बैंकले तरलता असहज भएपछि विकास बैंकका नै निक्षेपकर्ता बढी ब्याजदरमा ताने ।

वाणिज्य बैंकहरु निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धामा उत्रँदा विकास बैंकहरु संयम नै थिए । न उनीहरुले वाणिज्य बैंकले जस्तो घटाएर लगेका ऋणीको ब्याजदर बढाएका थिए न निक्षेप तान्न ब्याजदर बढाएका थिए ।

पुँजी बढेपनि निक्षेपको मुल स्रोत संस्थापक निक्षेपकर्ताको निक्षेप धेरै लिन नपाइने र सर्वसाधारणको बचत समेत वाणिज्य बैंकले विकास बैंकको हाराहारी ब्याजदर दिएपछि चाप विकास बैंकमा पर्यो । जसले गर्दा विकास बैंकहरु दवावमा परे ।

अझै गत पुसमा केही वाणिज्य बैंकको ऋणसमेत केही विकास बैंकले किनिदिएका थिए ।

‘पुँजी अनुसारको व्यवसाय गर्न नै अहिले विकास बैंकलाई कठिनाई छ, जसले गर्दा सबैजसो विकास बैंक वाणिज्य बैंकसँग नै मर्जरमा जाने प्रक्रियामा छन्,’ एक विकास बैंकका सिइओले क्लिकमाण्डूसँग भने ।

राष्ट्रियस्तरका विकास बैंकको हालत कमजोर भएपछि क्षेत्रियस्तरका विकास बैंक चल्न त झनै मुस्किल पर्ने अवस्था आएको छ ।
राष्ट्र बैंकले क्षेत्रियस्तरका विकास बैंक र फाइनान्सलाई प्रादेशिकस्तरमा लैजाने निर्णय गरेको छ । जसले गर्दा विकास बैंकसँगै फाइनान्स कम्पनीको संख्या समेत अझै घट्ने देखिएको छ ।

‘राम्रा भनिएका विकास बैंकले समेत मर्जरको प्रस्ताव बोकेर हरेक साताजसो प्रस्ताव आएका छन्, यसले विकास बैंक नै नरहने अवस्था देखिन सक्छ,’ एक वाणिज्य बैंकका सिइओले भने ।

राष्ट्र बैंकले वाणिज्य बैंकको नै संख्या घटाउन बिग मर्जरको गृहकार्य थालेको छ । यसलाई सैद्दान्तिक रुपमा अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटले समेत स्विकृति दिएका छन् । जसले गर्दा थप दवाव विकास बैंकमा परेको छ ।

‘मौद्रिक नीतिले स्पष्ट रुपमा उल्लेख गरेमा धेरैजसो विकास बैंकहरु वाणिज्य बैंकसँग मर्जरमा जान सक्छन्, जसले गर्दा ५÷७ वटा मात्र विकास बैंक रहन सक्छ,’ अर्को एक विकास बैंकका सिइओ सुनाउँछन् ।


पुष्प दुलाल