२०७५- सेयर बजारका लगानीकर्ता आत्तिएको वर्ष



काठमाडौं । लगानीकर्ताको नजरबाट हेर्दा नेपाली सेयर बजारका लागि २०७५ साल उल्लेख्य राम्रो वर्ष रहेन । यो वर्ष लगानीकर्ताहरुले नाफा कमाउन सकेनन् ।
तर बजार विकास विस्तारको नजरबाट हेर्दा यो वर्षमा धेरै कामहरु भए । भएका कामहरुले कतिको प्रभावकारी रुपमा काम गरेका छन् भन्ने विषय अझै बहसकै रुपमा रहेको छ । भएका कामको परिणाम पनि विस्तारै देखिँदै जाने छ ।

२०७५ साल वैशाख २ गते १२८०.१५ बिन्दुबाट सुरु भएको बजार चैत २८ गते आईपुग्दा ११८४.०२ बिन्दुमा झरेको छ । यो एक वर्षको अवधिमा बजार ९६.१३ अंकले घटेको छ ।

गत वैशाख २ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र पुँजीकरण १५ खर्ब ८४ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस वर्षको अन्तिम कारोबार दिन २८ गते बजार पुँजीकरण १४ खर्ब ६२ अर्ब ५० करोड ७७ लाख रुपैयाँमा खुम्चिएको नेप्सेले जनाएको छ ।

यो वर्ष नेप्से सबैभन्दा धेरै बैशाख ९ गते १४३८.४९ बिन्दूमा पुगेको थियो । त्यसपछि निरन्तर गिरावट देखिएको छ । यो वर्ष सबैभन्दा न्यून फागुन १९ गते १११०.५८ बिन्दु झरेको थियो ।

बजार विकासको वर्ष

यो वर्ष बजार विकासका लागि सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड ले धेरै नै काम गरेको छ । यो वर्ष बोर्डको सक्रियताका कारण देशभरका नेपालीले सेयरमा आवेदन दिन सक्ने व्यवस्था भएको छ । अधिकांश जिल्लामा सेयर बजार सम्बन्धी जनचेतनामुलक तामिल समेत दिएको छ । जिल्ला जिल्लामा रहेका लगानीकर्ताहरुलाई सचेत बनाएको छ । धेरै जिल्लामा मानिसले डिम्याट खाता खोलेका छन् ।

यो वर्षको बोर्डकै पहलमा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने, सेयर दलालहरुले नै मार्जिन कर्जा दिन पाउने व्यवस्था भएको छ । यसका लागि नेप्सेले कार्यविधि बनाएर काम समेत सुरु गरिसकेको छ ।

वित्तीय संस्थाले समेत सेयर धितोमा कर्जा दिन पाउने व्यवस्था भएको छ । यस्तै यही वर्ष सेयरमा लाग्दै आएको मार्जिन कलको सीमा पनि घटाइयो, सी–आस्वा प्रणाली लागु भएको छ । जसले गर्दा लगानीकर्ताहरुले सेयरमा आवेदन दिन दिदभर भोक प्यास केही नभनी लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ ।

सेयर नपरेको खण्डमा चेक बैंकमा लिन जानुपर्ने बाध्यता हटेको छ । सेयर भरेको ९० दिनसम्म पैसा होल्ड हुने समस्या समाधान भएको छ । साधारण सेयरमा आवेदन दिएका सबै लगानीकर्ताहरुले १० कित्ता अनिवार्य पाउनेदेखि साधारण सेयरमा न्यूनतम १० कित्ताका लागि मात्र पनि आवेदन दिन पाउने व्यवस्था भएको छ । यसले गर्दा साधारण लगानीकर्ता, गृहणी, विद्यार्थीलाई समेत सेयर बजारमा लगानीगर्न हौसला मिलेको छ । यो वर्ष नै नेटवर्थ भन्दा बढी नहुने एफपीओ जारी गर्न पाउने व्यवस्था पनि आएको छ ।

उपत्यका बाहिर रहेका लगानीकर्ताहरुले पनि लिलामीको सेयरमा आवेदन दिन पाउने व्यवस्था भएको छ । बोर्डले सि आश्वा प्रणाली मार्फत मेरो सेयरबाट साधारण सेयर, हकप्रद सेयर, एफपीओ, ऋणपत्रमा आवेदन दिने व्यवस्था गरेको छ ।

बोर्डले भेन्चर क्यापिटल फन्ड, प्राइभेट इक्विटी फन्ड, हेज फन्ड जस्ता बैकल्पिक लगानी कोषलाई उत्साहित गर्ने काम पनि सुरु भएको छ । यो वर्षबाट ग्रेडिङ गर्दा ५ ग्रेड पाएका कम्पनीहरुले साधारण सेयर जारी गर्न नपाउने व्यवस्था पनि गरिएको छ । जसले गर्दा लगानीकर्ताहरुले लगानी जोखिममा पर्नबाट जोगिएको जानकारहरुको भनाई छ ।

यो वर्ष स्टक डिल्लरको कामले पनि अग्रसरता लिएको छ । यसका लागि नागरिक लगानी कोषले कर्मचारी सञ्चयकोष लगायतका संस्थाहरुसँग आवश्यक छलफल गरिरहेको जनाएको छ ।

अनलाइनको पहिलो वर्ष तनाबै तनाब

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाइ सहज बनाउन भन्दै नेपाल स्टक एक्सचेन्जले इतिहासमा नै पहिलो पटक अनलाइन प्रणाली सुरु गर्यो ।

कात्तिक २० गते अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन प्रणालीको निकै तामझामका साथ उद्घाटन गरे । उद्घाटन भएकै दिनदेखि अनलाइनले समस्या देखाउन थाल्यो, जुन समस्या अहिलेसम्म उस्तै नै छ । अहिले पनि बेला बेलामा अनलाइनमा समस्या देखिने गरेको छ । मन्त्री खतिवडाले उद्घाटन गरेको अनलाइनमा समस्या देखिएपछि त्यो समस्या समाधान नुहँदा लगानीकमर्ताहरुले अन्तिममा उनकै राजीनामा माग्नुपर्ने अवस्था पनि सृजना भयो ।

अनालाइनमा समस्या देखिन थाल्नु भन्दा पहिला नै लगगानीकर्ताहरुले यूजर नेम र पासवर्ड चाहियो भन्दै नेप्सेमा चार घन्टा धर्ना समेत दिए । नेप्सेमा त्यो दिन हातपातसम्म भएको थियो । पूर्ण स्वचालित अनलाइन प्रति अझै पनि लगानीकर्ताहरु सन्तोष हुन सकेको छैन । १५ लाख लगानीकर्ता रहेको भनिएको सेयर बजारमा अहिलेसम्म अनालाइन प्रयोगकर्ताको संख्या ३५ सयको हाराहारीमा रहेको नेप्सेको भनाई छ । अनलाइनमा देखिएको समस्या भनेको वेबसाइटमा हुने डाटा डिस्प्ले नै हो ।

बिवादमा अर्थमन्त्री

नेपालमा राजीतिक स्थायीत्व भएपनि बसेको पाँच वर्षे सरकारको विज्ञ मन्त्रीको रुपमा चिनीएका अर्थमन्त्री डा. युवराज खतिवडाका लागि सेयर बजार निकै तनाबको विषय बन्यो । मन्त्री हुनासाथ सेयर बजार अनुत्पादक हो भनेर दिएको अभिव्यक्ति उनका लागि गलपासो नै बन्यो त्यही विषयलाई लिएर लगानीकर्ताले उनको राजीनामा माग्नेदेखि बर्खास्तीसम्मको माग राखेर अनसन पनि बस्नुपर्ने अवस्था सृजना भयो ।

आफ्नै विरोध हुन थालेपनि उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय उच्च स्तरिय समिति बनाएर मु्द्रा तथा पुँजी बजारमा देखिएको समस्या समाधान गर्न खोजियो । त्यो कार्यदलले पुँजी बजारको लागि ल्याएको ५८ बुँदा अझै कार्यान्वयनमा आउन सकेको छैन ।

लगानीकर्तालाई सास्ती

यो वर्ष सेयर लगानीकर्ताहरुले विभिन्न समयमा निकै सास्ती व्यहोर्नुपर्यो । सेयर लगानीकर्ताहरुले विष्लेशकसम्मलाई मुक्का हान्न भ्याए भने, केही लगानीकर्ताहरु प्रहरीको नियन्त्रणमा समेत पुग्न पर्यो ।

बजार विकासका लागि नियामक निकायले काम नगरेको भन्दै लगानीकर्ताहरुले आन्दोलन गरे, रिलेअनसन हुँदै चार दिन आमरण अनसनमा समेत बसे । नियामक निकायलाई काम गर्न दबाब दिन धितोपत्र बोर्ड घेराउसम्म गर्न पुगे । उनीहरुको माग अझै पुरा भने हुन सकेको छैन । यो वर्ष लगानीकतार्एहरुको विरोधको कारण एक दिन सेयर बजार कारोबार समेत हुन सकेन ।

कार्कीको करकर

यो वर्ष धितोपत्र बोर्डको अध्यक्ष डा. रेवतबहादुर कार्की निकै चर्चामा रहे । उनी राम्रो वा खराब काम गरेर भन्दा पनि बोल्ने ढंग नपुगेर चर्चामा आएका हुन् । उनले अर्थ समितिको बैठकमा गएर सेयर लगानीकर्ता, ब्रोकर लगानतलाई निकै नै गालीगजौल गरे । जसको परिणाम निकै नराम्रो देखियो । उनले ब्रोकरलाई क्षमता नभएका, सुशासन नभएको भन्दै आरोप लगाएपछि उन विरुद्व ब्रोकरहरु आन्दोलित समेत हुनुपर्यो । पछि कार्कीले उनीहरुको आन्दोलन समासुम पारे ।


पुष्प दुलाल