कुन सिद्धान्तमा बजेट बनाउने ? सरकार नै अन्यौलमा



काठमाडौं । नेपालको संविधानले समाजवादलाई अंगीकार गरेको छ । समाजवाद उन्मुख राज्यप्रणालीको रुपमा नेपाल रहने विषय संविधानमा प्रष्ट व्यवस्था छ । सरकार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब करिब दुई तिहाईको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणको समयमा समेत गत वर्षको वैशाख अन्तिम साता सरकार अन्योलमा परेको थियो । सरकार कम्युनिस्ट पार्टीको भएपनि बजेट भने नेपाली काँग्रेसको सरकारले ल्याए जस्तै ल्याएको भनेर सरकारको बजेट लगत्तै आलोचना भएको थियो ।

अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले प्रभावकारी बजेट ल्याउनेछन् भन्ने धेरैको अपेक्षा थियो । सो अपेक्षा विपरित सरकार र अर्थमन्त्री डा. खतिवडाले पूर्वअर्थमन्त्री डा. रामशरण महतको पदचापलाई पछ्याएर चालु आर्थिक वर्षको बजेट ल्याए ।

सामाजिक सुरक्षा भक्ता वृद्धि गर्ने र समाजवादको आधार तयार पार्ने भनिएको बजेट सोचेअनुसार प्रूगतिशिल नभएपछि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले चर्को विरोध गरे । बजेट निर्माणको क्रममा सम्वद्ध पक्षसँग छलफल नै नगरेको आरोप पनि अर्थमन्त्री माथि लागेको थियो ।

नेकपाभित्र बजेटको विषयलाई लिएर चर्को आलोचना मात्रै होइन डा. खतिवडाले राजीनामा नै माग्नुपर्ने अवस्था समेत पैदा भएको थियो । तर पछि सो विषय थामथूम भयो ।

यतिखेर पनि अर्थमन्त्री डा. खतिवडा आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जुटेका छन् । राष्ट्रिय योजना आयोगले दिएको सीमा अनुसार करिब १५ खर्बको बजेटको तयारीमा अर्थमन्त्री छन् ।

तर उनी यतिखेर पनि विगतको जस्तै अन्यौलमा फसेका छन् । कुन आधारमा कस्तो बजेट बनाउने भन्ने कुराको भेऊ नपाउँदा समस्या परेको हुन सक्ने बुझिएको छ ।

चालु आर्थिक वर्षलाई समाजवादको आधार तयार पार्ने वर्षको रुपमा लिएको र अघिल्लो आवमा तत्कालीन सत्तारुढ दल नेपाली काँग्रेसले ढ्ुकुटी ध्वस्त पारेको आरोप लगाएर उम्कन पाउने अवस्था थियो । आरोप पनि त्यही लगाएका थिए प्रधानमन्त्री मन्त्री र स्वयम् अर्थमन्त्रीले पनि ।

तर यस पटक सरकार आफैले चलाएको, अर्थ व्यवस्थामा आफै हावी भएको अवस्थामा बजेट थिएन । स्रोत भएन भन्ने जस्ता विषयले प्राथमिकता पाउन सक्ने अवस्था छैन ।

तर बजेट निर्माणको क्रममा कुन राजनीतिक दर्शनलाई आत्मसात् गर्ने भन्नेमा बजेट निर्माणमा संलग्नहरु नै अन्योलमा परेको देखिन्छ । सरकार कम्युनिस्ट पार्टीको छ ।

पार्टीभित्र कम्युनिस्ट चरित्रको बजेट बनाउनुपर्ने चर्को दबाव छ । तर अर्थमन्त्री भने पश्चिमा गाइडलाइनबाट अर्थमन्त्री बनेका कारण पनि संयोजनमा समस्या परेको हुन सक्ने देखिन्छ ।

ग्राउण्ड एकातिर र अवस्था अर्को तिर रहेको भन्दै अर्थमन्त्रीले कुन आधारमा कस्तो बजेट बनाउँलान् भन्ने चासो सर्वत्र छ ।

वितरणमुखी बजेट बनाउने कि समृद्धिको आधार तयार पार्ने बजेट बनाउने भन्नेमा पनि अर्थमन्त्रालय प्रष्ट छैन । जसका कारण बजेट बस्तो बन्ला र त्यसले कस्तो प्रतिफल देला भन्ने पनि अन्योल देखिएको छ ।


पुष्प दुलाल