प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलर पुर्याउने गरी १५औं योजनाको आधारपत्र तयार



काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार गरेको १५औं योजनाको आधारपत्रलाई अन्तिम रूप दिएको छ ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कार्यान्वयन हुने गरी आधारपत्र तयार भएको हो ।

आधारपत्रमा दीर्घकालीन सोच, लक्ष्य र रणनीति समावेश भएकाले यसले अन्तिम रूप पाएपछि कार्यक्रम, परियोजना र बजेटसँग तालमेल गरिने छ ।

संघीयता लागू र राजनीतिक स्थिरतापछिको यो आवधिक योजना पहिलो हो। यसले नै मुलुकका वित्तीय संघीयताको योजनाको अभ्यास गराउनेछ ।

आधारपत्रमा स्वाधीन, समुन्नत तथा समाजवादोन्मु्ख सोचका साथ संविधानको कार्यान्वयन गर्दै उत्पादनशील रोजगारी, आर्थिक स्थायित्व र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा दु्रतगतिमा गरीबी निवारणको लक्ष्य समेटिएको छ ।

आर्थिक सामाजिक रूपान्तरणमार्फत् विद्यमान असमानताको न्यूनीकरणको नीति लिएको मस्यौदाले नीतिगत स्थिरताका जगमा सुशासन, विकास र समृद्धि, तीव्र आर्थिक वृद्धि, आर्थिक स्थायित्व र समन्यायिक वितरणको सोच लिएको छ ।

मस्यौदामा विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पु‍र्याउने दीर्घकालीन सोचसहितको योजना समावेश छ ।

हाल मुलुकको प्रतिव्यक्ति आय १ हजार चार अमेरिकी डलर छ भने कूल गार्हस्थ उत्पादन ३० खर्ब सात अर्ब रुपैयाँ बराबर छ ।

प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकांक अन्य प्रदेशको तुलनामा कम छ ।

आधारपत्रले उद्योग, वाणिज्य, आपूर्ति र पर्यटन पूर्वाधार, कृषि तथा प्राकृतिक स्रोत व्यवस्थान, सामाजिक, पूर्वाधार, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धित गरी ६ विषय वा क्षेत्रमा सोच, लक्ष्य र रणनीति तय गरेको छ ।

चालू १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गरिने १५औं योजना अवधिमा पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना राष्ट्रिय गौरवका रुपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।

योजनावधिमा बूढीगण्डकी जलाशययुक्त र पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवका रूपमा सुरू गर्ने लक्ष्य लिइएको छ ।

आधारपत्रले विषयगत सोच, लक्ष्य र रणनीति प्रस्ताव गरेको छ । राष्ट्रिय आयोजना बैंक स्थापना गरी रूपान्तरणकारी आयोजनाको थालनी गर्ने लक्ष्य पनि यसमा समावेश छ ।

तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि, सुलभ तथा गुणस्तरीय स्वास्थ्य र शिक्षाको सुनिश्चितता, आन्तरिक र अन्तप्रदेशीय आवद्धता एवं दिगो विकास, उत्पादन र उत्पादकत्व वृद्धि, न्यायपूर्ण र गतिशील समाज, प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उद्यमशीलता विकास गर्ने योजनाको रणनीति छ ।


पुष्प दुलाल