निजी क्षेत्रबाटै विदेशी लगानीको अवरोध



-बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा डेरी उद्योगमा विदेशी लगानी खोल्न खोजिएको भन्दै डेरी उद्योगी आन्दोलनमा छन् ।

-केही दिनअघि नेपाल बिष्कुट उत्पादक संघका अध्यक्ष बसन्त चौधरीले बिष्कुट उद्योगमा बैदेशिक लगानी रोक्न माग राख्दै ज्ञापनपत्र बुझाए ।

-अफ्रिकाको डाङ्गोटे ग्रुप नेपालमा सिमेन्टमा लगानी गर्न आएपनि यहाँका सिमेन्ट लगानीकर्ताको अवरोधकाका कारण फर्कियो ।

माथिका ३ वटा उदाहरणले बैदेशिक लगानीको एउटा अवरोधलाई देखाएको छ । अहिले प्रधानमन्त्रीदेखि लिएर सबैले बैदेशिक लगानी भित्राउने आफ्नो नीति प्राथमिकता दिएका छन् । तर, यसमा ठूलो अवरोध निजी क्षेत्र आफैंले गर्दे आएको छ ।

उद्योग वाणिज्य महासंघ लगायतका संस्था सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा गरेको व्यवस्थाको विरोधमा छन् । निजी क्षेत्रका अन्य संस्थाको धारणापनि त्यस्तै छ ।

संरक्षण खोज्ने नाममा निजी क्षेत्रले प्रतिस्पर्धालाई रोक्ने गरेको छ । जसको फाइदा केही सीमित व्यवसायीलाई मात्र हुने गरेको छ । आम उपभोक्ताले यसबाट फाइदा लिन सकेका छैनन् ।

अर्थशास्त्री सुजिव शाक्य सरकारले केही गरेन भन्दै निजी क्षेत्रका व्यापारीले आफ्ना संघसंस्थाको नाममा संरक्षण खोज्ने गर्दा विदेशी लगानी प्रभावित हुने बताउँछन् ।

‘स्वतन्त्र व्यापारको पैरवीभन्दा कार्टेलिङ गर्ने र प्रतिस्पर्धीलाई रोक्ने काममा निजी क्षेत्रका संस्थाहरु सक्रिय छन्,’ ‘अर्थात् अर्थतन्त्र’का पुस्तकका लेखकसमेत रहेका शाक्यले क्लिकमाण्डूसँग भने ।

नेपालमा डेरी उद्योगको ठूलो सम्भावना छ । यसमा विदेशी लगानीकर्ताको चासो पनि निकै बढी छ । भारतको चर्चित ब्राण्ड अमुल नेपालमा प्रवेश गर्न खोजेको छ ।

डेरीमा सक्रिय व्यवसायीहरु अमुल आएपछि आफ्नो व्यवसाय पूर्णरुपमा धरासायी बन्ने भन्दै यसलाई रोक्नको लागि लबिङमा छन् ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष सुमित केडिया नेपाली डेरी उद्योग विदेशी लगानी आएमा धरासायी हुने बताउँछन् ।

‘दुध व्यवसायमा विदेशी लगानीको प्रवेशसँगै यहा उत्पादन भएको दुध बिक्ने गर्दैन, विदेशी लगानीमा स्थापना हुने कम्पनीले बाहिरबाट दुध ल्याएर यहा उत्पादन गर्छन्,’ केडियाले क्लिकमाण्डूसँग भने ।

खासगरी निजी क्षेत्रका व्यवसायीहरुले आफुलाई प्रतिस्पर्धी बनाउनुको साटो संरक्षण मात्र खोजेर उपभोक्तालाई त्यसको आर्थिक भार थोपर्ने गरेका छन् । सरकारले चिनी आयातमा प्रतिबन्ध लगायो ।

उद्योगसँगै किसानलाई समेत सरक्षण गर्नको लागि चिनी आयातमा प्रतिबन्ध लागे पनि किसानले चिनी उद्योगीबाट पाउनुपर्ने भुक्तानी पाउन सकेका छैनन् ।

नेपाल बिष्कुटमा आत्मनिर्भर छैन । भारतीय लगानीको बिट्रानियाले यहा उत्पादन सुरु गरेको छ । धेरै उद्योगहरु प्रतिस्पर्धाको कारण चल्न नसकेर बन्द भए । यस्तोमा बाहिरबाट बिष्कुट आयात हुनुभन्दा यही उद्योग खोल्नु फाइदा हो ।

तर, बिष्कुट उत्पादक संघले केही दिन अगाडि बुझाएको ज्ञापनपत्रमा बिष्कुटमा विदेशी लगानी रोक्न माग गरिएको थियो । संघका अध्यक्ष बसन्त चौधरीले बुझाएको ज्ञापनपत्रमा भनिएको थियो, ‘स्वदेशमा नै माग अनुसारको बिष्कुटको उत्पादन भएको हुँदा त्यसलाई रोक्नुपर्छ भन्ने छ ।’

विदेशी र ठूला लगानीले साना तथा मझौला व्यवसायीलाई प्रभावित पार्छन् । ठूलो प्रविधि सहित आउने उद्योगको फाइदा उपभोक्तालाई हुन्छ ।

तर, व्यवसायीको लबिङ भने आफुले उत्पादन गरेको क्षेत्रमा विदेशी लगानी भित्राउन नदिने र अरुकोमा भित्राउनुपर्छ भन्ने रहेको छ ।

शैक्षिक परामर्श व्यवसायमा पनि यस्तै देखियो । अष्ट्रेलियाबाट आएको एउटा कम्पनीलाई रोक्न सबै शैक्षिक परामर्श व्यवसायी एक ठाउँमा आए ।

‘उद्योगी र व्यवसायीको बुझाई आफुले गरेको काममा विदेशी लगानी भित्राउनभन्दा त्यसलाई रोक्नेमा बढी छ,’ विदेशी लगानीकर्तालाई कानूनी सुझाव दिदै आएका एक कानून व्यवसायीले भने ।

पछिल्लो समयमा खास गरेर जलविद्युतदेखि सिमेन्ट होस् या अन्य क्षेत्रमा निजी क्षेत्रका व्यवसायीले गर्ने लबिङले पनि विदेशी लगानी प्रभावित बन्ने गरेको छ ।


पुष्प दुलाल