व्याज बढाएको भन्दै ट्रम्पले फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेललाई यसरी झपारे
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकका अधिकारीबीच कहिल्यै राम्रो सम्बन्ध हुन सकेन । राष्ट्रपति व्याजदर घटाउन चाहन्छन्, तर बैंक भने उनको आग्रहलाई कहिल्यै मानिदिँदैन ।
उनले पछिल्लो पटक फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको आरोप लगाएका छन् ।
मौद्रिक नीतिमा ले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ ।
कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’ मा फेड रिजर्भका अध्यक्ष जेरोम पावेललाई सङ्केत गर्दै ट्रम्पले भने– ‘हामीकहाँ एक जना महासय हुनुहुन्छ जसले ब्याजदर बढाउन मन पराउनुहुन्छ । फेडलाई मात्रात्मक रूपमा बलियो बनाउन मन पराउने सज्जनवृन्द हामीसँग हुनुहुन्छ । उनले फेडमा रहेर डलरलाई अत्यधिक बलियो बनाउन चाहनुहुन्छ ।’
अमेरिकी अर्थतन्त्रमा राम्रो सुधार भएको छ । तर फेडको मौद्रिक नीतिका कारण थप राम्रो हुन सकेको छैन उनले आक्रोशित हुँदै भने ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने- तपाईँ कल्पना गर्नसक्नुहुन्छ कि यदि हामीले ब्याजदर जहाँ थिए त्यहीँ पुरयायौँ भने यहाँ कुनै मुद्रास्फीति हुनुपर्ने कारण रहँदैन । के मात्रात्मक कडापनलाई कम गर्न सक्दैनौँ ।
‘डलरलाई मजबुत बनाउन पर्छ । तर हाम्रो मुलुकलाई महान बनाउने डलरको चाहना अमेरिकी जनताको हो । नकि डलर त्यति बलियो होस जसले हाम्रा योजनालाई प्रभावित गरोस् र यसको लाभ अन्य मुलुकले लिन नसकोस्’ उनले भने ।
अमेरिकी राष्ट्रपतिले फेडमाथि पटक पटक ब्याजदर नबढाउन दबाब दिँदै आएका छन् । यसका लागि उनले फेड अध्यक्षलाई हटाउने वैधानिक बाटोसमेत खोजेको केही महिना पहिले सञ्चारमाध्यमहरूमा व्यापक चर्चा चलेको थियो ।
तर फेड प्रमुख पावेलले केन्द्रीय बैंकलाई राजनीतिक दवावबाट टाढा राख्ने पटक पटक प्रतिवद्धता जाहेर गर्दै आएका छन् ।
पावेलले बुधबार अमेरिकी सिनेटको वित्तीय सेवा समितिमा फेडले छोटो समयको राजनीतिक चासोलाई नभै दीर्घ सोचबाट अघि बढ्ने जानकारी गराएका थिए ।
फेडको नीतिगत निर्णय ‘तथ्याङ्कमा आधारित’ हुने र आर्थिक अवस्था र परिणामबाट विकशित नयाँ सूचनालाई आधार बनाइने पावेलको तर्क थियो ।
सन् २०१८ मा फेडले चार पटक ब्याजदरमा हेरफेर गरेको वा वृद्धि गरेको थियो । फेडको लक्ष्य अहिलेको २.२५ प्रतिशत ब्याजदरलाई २.५० मा पुरयाउने रहेको बताउने गरिएको छ । जनवरीमा २ प्रतिशतबाट ब्याजदरलाई बढाई २.२५ प्रतिशत पु¥याइएको थियो ।