भारतमा पाकिस्तानी सिमेन्टमा अघोषित प्रतिबन्ध, लागत घटाए नेपाली सिमेन्ट निर्यात हुनसक्ने



काठमाडौं । फुलुवामा हमलामा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानबाट आउने सामानमा २ सयप्रतिशतसम्म भन्सार शुल्क बढाएको छ ।

जसको असर पाकिस्तानबाट भारतमा निर्यात हुने सिमेन्टमा पनि परेको छ । पाकिस्तानले भारतमा निर्यात गर्ने वस्तुमा सिमेन्टपनि पर्छ ।

नेपालमा पछिल्लो समय सिमेन्टमा लगानी अत्याधिक थपिएको छ । स्वदेशीसँगै विदेशी लगानी सिमेन्ट उद्योगमा थपिदै जादा निर्यात गर्न नसकेमा अत्याधिक उत्पादन हुने खतरा सिमेन्टमा देखिने छ ।

पाकिस्तानको पत्रिका ‘दि डन’का अनुसार पाकिस्तानले ७० देखि ८० करोड अमेरिकी डलर बराबरको सिमेन्ट भारतमा निर्यात गर्दै आएको थियो । फुलुवामा हमलापछि अन्य वस्तुमा जस्ते सिमेन्टमा पनि पाकिस्तानबाट सिमेन्ट जान सकेको छैन ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापा अर्कोवर्षदेखि नेपाली सिमेन्ट उद्योगहरु निर्यात गर्ने अवस्थामा पुग्ने बताउँछन् ।

नेपालको सिमेन्ट उद्योगमा २ खर्ब रुपैयाँभन्दा बढी रकम लगानी भइसकेको छ । सिमेन्टमा बढ्दै गएको लगानीसँगै भारतबाट आयात हुने सिमेन्ट घटेर नेपाल सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा समेत पुगेको छ ।

सिमेन्ट उद्योगमा पायोनियर मानिएको व्यवसायिक घराना सौरभ ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने सरकारले तीनवटा क्षेत्रमा सहुलियत दिने हो भने सिमेन्टको निर्यात सम्भव हुने देख्छन् ।
‘सरकारले पहिलो कुरा कोइला आयातमा लाग्ने भन्सार शुल्क घटाउनुपर्यो,अर्को निर्यात गर्दा अनुदान दिनुपर्यो र सिमेन्ट उद्योगका लागि सहुलियत पूर्ण ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउनुपर्यो,’जगदम्बा,सर्वोत्तम लगायतका सिमेन्टमा प्रमुख लगानी रहेका न्यौपानेले क्लिकमाण्डूसँग भने ।

६ महिनाको अवधीमा नै उद्योग विभागमा ठूलो लगानीको उद्योग दर्तामा सिमेन्ट उद्योग अगाडि छ । बैंक तथा वित्तीय संस्थाको कर्जा समेत सिमेन्ट उद्योगमा बढ्दै गएको छ ।
६ महिनाको अवधीमा सिमेन्ट उद्योगमा ८१ अर्ब २१ करोड रुपैयाँ रुपैयाँको कर्जा बैंक तथा वित्तीय संस्थाले सिमेन्ट उद्योगमा दिएका छन् । ६ महिनामा मात्र यो रकम १५ अर्ब ७१ करोड रुपैयाँले बढेको छ ।

नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष शतिष मोर सिमेन्ट निर्यातको लागि पहिला लागत घटाउन सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘लागत घटाउनको लागि सरकारले विजुली सस्तो गर्ने देखि लिएर भन्सार लगायतका क्षेत्रमा कम शुल्क लिनुपर्ने हुन्छ,’शिवम् सिमेन्टका लगानीकर्ता समेत रहेका व्यवसायिक घराना लक्की ग्रुपका अध्यक्ष समेत रहेका मोरले क्लिकमाण्डूसँग भने ।

सिमेन्टमा लगानीगर्ने लगानीकर्ताको माग मुख्य रुपमा कोइला आयातमा लाग्ने भन्सार शुल्क घटाउनुपर्नेमा रहेको छ । सरकारले कोइलालाई सिमेन्ट उत्पादनमा लाग्ने कच्चा पदार्थको रुपमा भने नलिएर तयारी वस्तु अन्तर्गत भन्सार लिने गरेको छ । जसले गर्दा लागत महंगो पर्ने गुनासो व्यवसायीको छ ।

सिमेन्ट उद्योगमा निजी क्षेत्रको प्रवेशसँग भारतबाट आउने सिमेन्ट आयात घटेको छ । क्लिङकरमा बेच्न समेत नेपाली उद्योगहरुबीच प्रतिस्पर्धा बढ्न थालेको छ ।

सिमेन्ट निर्यातको लागि तत्काल ठूलो सम्भावना भने नरहेको सिमेन्ट उद्योगमा पायोनियर नै रहेको व्यवसायिक घराना शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् ।

‘लागतको हिसाबले हामीले भारतीय बजारमा प्रतिस्पर्धा गर्नको लागि धेरै नै कठिन छ,’जगदम्बा लगायत धेरैवटा सिमेन्टमा लगानी गरेका अग्रवालले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु