सीमानामा पर्खाल लगाउन अमेरिकामा संकटकाल, पर्खालको पछि किन लागे ट्रम्प ?
बाल्टिमोर । यसअघि पटक–पटक राष्ट्रिय संकलटकाल घोषणा गर्ने चेतावनी दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः शुक्रबार अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन । सीमामा पर्खाल लगाउन मागेको करिब ८ अर्ब डलर बजेट नपाएपछि ट्रम्पले पूर्वअपेक्षाअनुरुप नै ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।
ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै शुक्रबार राष्ट्रपतिको सरकारी कार्यालय ह्वाईट हाउसबाट राष्ट्रिय संकटकाल घोषणा गर्दा विपक्षी दलका नेताहरुले भने संविधानको सीधा अपमान भएको भनेका छन् ।
गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको राष्ट्रिय संकटकाल सम्बन्धी ऐनको अपब्याख्या गर्दै ट्रम्पले संकटकाल लगाएको भन्दै विपक्षी दलका नेताहरुले यसको विरोध गरेका छन् ।
अमेरिकाको दक्षिणी सीमामा पर्खाल बनाउने चुनावी नारालाई कार्यान्वयन गराउन ट्रम्पले हर प्रयास गरेपनि विपक्षी दल डेमोक्र्याट पार्टीको विरोधको कारण उनको योजना अनुसारको बजेट सदनबाट पास गराउन नसकेपछि ट्रम्पले नयाँ कदम चालेका हुन् । उनले आफ्नो कार्याकारी अधिकारको प्रयोग गर्दै राष्ट्रिय संकटकालको घोषणा गर्दा आपतकालिन अवस्थाको लागि रहेको कोषको बजेट प्रयोग गरेर सीमामा पर्खाल बनाउन सक्ने बताईएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार संकटकाल लगाउँदा शैनिक र विपद व्यवस्थापनको लागि रहेको राहत कोषको बजेट ट्रम्पले चलाउन सक्ने छन् ।
त्यसैको लागिउनले यो कदम उठाएका हुन् । मेक्सीको सँगको करिब ३ हजार २ सय किलोमिटर क्षेत्रमा स्टिलको पर्खाल बनाउन ट्रम्पले सदनसँग बजेट माग्दै आएकाछन् । तर विपक्षी दल र केही आफ्नै पार्टीको सांसदको कारण सदनबाट यो बजेट पारित हुन सकेन । बजेट नभएकै कारण अघिल्लो महिना एक महिनाभन्दा बढी समय धेरै सरकारी कार्यालयको कामकाज नै ठप्पभएको थियो ।
तर यो पटकउनले सरकारी कामकाज खुलाउने गरी बजेट विधेयकमा हस्ताक्षर गरेपनि आफ्नो मागअनुसारको बजेट नभएपछि संकटकालको घोषणा गरेका हुन् ।
विपक्षी दल अदालत जाने
ट्रम्पले संकटकालको अस्वभाविक घोषणा गरेपनि यसको कार्यन्वयलाई भने अदालतले रोकिदिने संभावना देखिएको छ । यो सामाचार तयार पार्दासम्ममा विभिन्न अदालतमा दुई भन्दा धेरै मुद्दा संकटकाल घोषणाको विरुद्धमा मुद्दा दायर भईसकेको छ । सर्वधारण नागरिकको तर्फबाट भन्दै डिष्ट्रक्ट अफ कोलम्बियामा रहेको संघीय अदालतमा मुद्दादायर भएको छ । त्यस्तै राजधानी डिसीमै अर्को एक मुद्दा पनि दायर गरिएको छ ।
उता संकटकाल घोषणालगत्तै विपक्षी दल डेमोत्र्mयाटिक पार्टीका संसदीय नेता च्युक स्युमर तथा संसदका प्रवक्ता न्यान्सी पिलोसीले ट्रम्पको कदमलाई असंबैधानिक भन्दै यसको विरुद्धमा कदम चाल्ने बताएका छन् ।
‘संसद राष्ट्रपतिलाई संविधान कुल्चन दिन सक्दैन,’ दुबै जनाको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ‘यो गलत कदमविरुद्ध अब हामी एकजुट हुने बेला आएको छ ।’
यद्यपि ट्रम्पले संबोधनको क्रममै आफूले सर्वोच्च अदालतको सामना गर्नुपर्ने विषयमा जानकार रहेको भन्दै अदालतले न्यायपूर्वक निर्णय गर्नेमा आफू ढुक्क रहेको बताएका छन् ।
‘यो विषय अदालतमा जान्छ त्यो मलाई थाहा छ तर मलाई लाग्छ राष्ट्रिय संकटलाई अदालतले बुझेको छ,’ उनले संचारकर्मीलाई संबोधन गर्दै भने ।
ट्रम्पकै संसदको छैन साथ
राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेपनि ट्रम्पकै पार्टी रिपब्लिन पार्टीका केही सांसदहरुले भने यो निर्णयमा साथ नदिने घोषणा गरेका छन । टेक्सासबाट रिपब्लिकपार्टीको तर्फबाट निर्वाचित सांसदले राष्ट्रपतिको यो फेक संकटकाललाई आफूहरुले साथनदिने घोषणा गरेका छन् ।
त्यस्तै न्यूयोर्कबाट निर्वाचित अर्का एक कंग्रेसम्यानले पनि ट्रम्पलाई साथ नदिने घोषणा गरेकी छिन् । यो सँगै कांग्रेसमा ६० भन्दाबढी सदस्य ट्रम्पको विपक्षमा देखिएका छन् ।
पर्खालको पछाडि किन लागे ट्रम्प ?
२०१६ मा ४ वर्षको लागि राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सीमामा पर्खाल लगाउने नारालाई चुनावी एजेण्डा बनाएका थिए । आप्रवासीप्रति कट्टर रहेको रिपब्लिकन पार्टीको तर्फबाट चुनावमा होमिएका ट्रम्पले परापुर्खादेखि अमेरिकामा बस्दै आएका रैथाने अमेरिकनहरुको भोट पाउनको लागि यस्ता नारा ल्याएको विपक्षीको आरोप छ ।
आप्रवासी केन्द्रीत नीतिको कारण बेला बेलामा विवादमा पर्दै आएका ट्रम्पले आफ्नो मुख्य ऐजेण्डाको रुपमा रहेको सीमा पर्खाल निर्माणको कार्यलाई जसरी पनि २०२० अगाडि नै सुरु गर्न चाहन्छन् ।
किनभने २०२०मा अर्को पटक राष्ट्रपतिको चुनाव हुँदै छ । अमेरिकामा प्रायजसो दुई कार्याकालको लागि राष्ट्रपतिको चुनाव जितिरहेको उदाहरण भएपनि ट्रम्पको लागि भने त्यो सहज देखिएको छैन ।
पहिलाको बाचाअनुसार काम अगाडि बढे आगामी निर्वाचनको लागि पनि सजिलो हुने अनुमानका साथ उनी पर्खाल बनाउन लागि परेको विश्लेषणहरु बताउँछन् ।