लक्ष्य अनुसार राजस्व संकलन गर्न किन असफल भए अर्थमन्त्री ?



काठमाडौं । सरकारले पुस मसान्तसम्म राखेको लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा निकै नै महत्वकाक्षीं राजस्वको लक्ष्य राखिएको थियो ।

पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिए पनि मसान्तसम्ममा ४ खर्ब १ अर्ब रुपैयाँको मात्र राजस्व संकलन भएको अर्थमन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।

मुख्य रुपमा भन्सार,मूल्य अभिबृद्धि कर तथा गैर करतर्फ समेत लक्ष्य अनुसारको राजस्व संकलन नभएको हो ।

पुस महिनाको लागि मात्र १ खर्ब १२ अर्ब रुपैयाँको राजस्व संकलनको लक्ष्य राखिएको थियो । जसमा कर अन्तर्गत १ खर्ब ६ अर्ब र गैरकरको लागि ६ अर्ब ४३ करोडको लक्ष्य निर्धारण गरिएको थियो ।

कर र गैरकर दुवैतर्फ लक्ष्य अनुसार राजस्व संकलन भएन ।

गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा २५ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएपनि यो वर्षको लक्ष्यको ९३.५ प्रतिशत मात्र पुरा भएको छ ।

आर्थिक वर्षको पहिलो ६ महिनाले मुलरुपमा राजस्वको वर्षभरमा हुनेसक्ने संकलनलाई देखाउने गर्छ ।

घरजग्गा राजस्व र सवारी साधनको रजिष्ट्रेशनको राजस्व अहिले प्रदेश सरकार अन्तर्गत पर्ने गर्छ । जसले १५ प्रतिशत हाराहारीमा राजस्व घटाएको छ ।

अर्को दुईतिहाईको सरकारले विकास खर्च भने गर्न सकेन ।

‘सरकारको ध्यान राजस्व संकलनमा मात्र भयो, पैसा सरकारी खातामा जम्मा भयो, जसले गर्दा लक्ष्य अनुसारको राजस्व संकलन भएन,’ अर्थमन्त्रालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

३० प्रतिशतको राजस्व बृद्धिदर हुने भएपनि यो पटक ३५ प्रतिशत बृृद्धिदर राजस्वमा गर्ने लक्ष्य राखिएको थियो । जसले गर्दा लक्ष्य भेटाउन मुश्किल परेको बुझाई अर्थमन्त्रालयका अधिकारीको छ ।

राजस्व संकलनको लक्ष्य पूरा गर्नुलाई अर्थमन्त्रीको सफलतासँग जोडेर हेरिन्छ । तर, दुईतिहाइको सरकारका बलिया र अर्थतन्त्र बुझेका अर्थमन्त्रीले पनि आफैंले लक्ष्य गरेको राजस्व संकलन गर्न असफल देखिएका छन् ।


पुष्प दुलाल