लामो समयपछि पुँजी बजारमा उत्साह, परिसुचक ३२ अंकले बढ्यो, साढे ८७ करोडको कारोबार




काठमाडौं । लामो समयपछि नेपाली पुँजी बजारमा उत्साह देखिएको छ । आइतबार नेप्से परिसुचक ३२ अंकभन्दा धेरैले बढेको छ भने साढे ८७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार नेप्से परिसुचक ३२.२४ अंकले बढेको छ । सो दिन ८७ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार १६४ कम्पनीका ८ हजार ६७० कारोबारबाट २८ लाख १२ हजार २१२ कित्ता सेयर किनबेच भएका छन् । अन्य समुहका सुचक बढेपनि उत्पादनशील समुहको सुचक ६ अंकले घटेको छ ।

बैंकिङ समुहको सुचक २४.९२ अंकले, होटल समुहको सुचक ६३.९२ अंकले, विकास बैंक समुहको सुचक २८.६४ अंकले र जलविद्युत समुहको सुचक २६.१६ अंकले बढेको हो ।

नेप्सेका अनुसार वित्त कम्पनी समुहको सुचक ४.९३ अंकले, निर्जीबन बीमा कम्पनी समुहको सुचक ३१८ अंकले, अन्य सहुको सुचक १७.२९ अंकले, लुघवित्त कम्पनी समुहको सुचक ६३.७५ अंकले र जीबन बीमा कम्पनी समुहको सुचक २४७.३३ अंकले बढेको छ ।

सो दिन आइएमइ जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सोभन्दा बढी एकै दिन कमाउन पाइदैन । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशत नै र कालिका लघुवित्त संस्थाका लगानीकर्ताले पनि १० प्रतिशत नै कमाएका छन् ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, ओमी माइक्रोफाइनान्स, एनएमबी लघुवित्त, सिभिल लघुवित्त, लक्ष्मी लघुवित्त, महिला सहयात्रा लघुवित्त र ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताको सम्पत्ति पनि १० प्रतिशतभन्दा केही कम मात्रैले बढेको छ ।

बढेको बजारमा पनि कैलाश विकास बैंकका लगानीकर्ताले ६.२५ प्रतिशत, युनाइटेड मोदीका लगानीकर्ताले करिब ५ प्रतिशत र रैर्याङ जलविद्युत कम्पनीका लगानीकर्ताले करिब ३ प्रतिशतले मात्रै गुमाएका छन् ।


क्लिकमान्डु