ब्याजदर बृद्धिले व्यवसायी त्रसित, ब्याजदर नबढाएका बैंक र विकास बैंकको गुनासो निक्षेप अब कसरी जोगाउने ?



काठमाडौं । व्यवसायी भरत आचार्य मंगलबारदेखि एक खाले तनावमा छन् । ठूला वाणिज्य बैंकले साढे १३ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याजदर दिन थालेपछि कर्जाको ब्याजदर कति पुग्ला भन्ने चिन्ता आचार्यको छ ।

विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष हुन् गोविन्द ढकाल । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकाललाई मंगलबार बिहानदेखि संघका सदस्यले ठूला बैंकले नै साढे १३ प्रतिशतसम्म ब्याजदर लिन थालेपछि कतिमा निक्षेप लिने भनेर जिज्ञासा आएको छ ।

नबिल बैंक र हिमालयन बैंक जस्ता ठूला र पुराना बैंक नै ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रेपछि ऋण लिएर व्यवसाय चलाउने आचार्य र विकास बैंकको नेतृत्व गर्ने ढकालमा थपिएको तनाव उस्तै छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका आचार्य यसरी बढेको ब्याजदरमा उद्योग र व्यवसाय संचालन गर्न नसकिने बताउँछन् ।
‘साढे १३ प्रतिशतमा पुराना बैंकले निक्षेप लिएपछि पछि आएकाले त्योभन्दा बढी लिन्छन्,त्यसपछि १८/२० प्रतिशत ब्याजदरमा कर्जा लिएर व्यवसाय चलाउन सकिदैन,’उनले क्लिकमाण्डूसँग भने ।

नेपालमा उद्योग लगाएर प्रतिस्पर्धा गर्न त्यसैपनि कठिन छ । चीन र भारतको तुलनामा यहा लागत बढी छ । त्यसमा ब्याजदर बृद्धिले थप समस्या पार्ने गर्छ ।
‘ अहिले लिएको निक्षेपले कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने र र त्यसमा मुल्यबृद्धिको लागत जोड्दा व्यवसाय गर्न सकिदैन,’आचार्यले भने ।

ठूला बैंकले ब्याजदर बढाएपछि त्यसको प्रभाव अरु वाणिज्य बैंक र विकास बैंक तथा फाइनान्स कम्पनीमा परेको छ । बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति तोड्ने निर्णय गरेपछि डेभलपमेन्ट बैकर्स संघ र वित्त कम्पनीले ब्याजदर बढाउने प्रतिस्पर्धामा नलाग्ने निर्णय गरेको थियो ।

जनता,कुमारी,सेन्चुरी,माछापुच्छ्रे बैंकले १३ प्रतिशत ब्याजदर दिएपनि विकास बैंकहरुले साढे १२ भन्दा बढी ब्याजदर दिएका थिएनन् । तर,नबिल र हिमालयनले एकैपटक साढे १३ सम्म मुद्दती निक्षेपमा ब्याजदर लिने निर्णय गरेपछि ज्यादै ठूलो तनाव थपिएको छ ।

डेभलपमेन्ट बैकर्स संघका कार्यवाहक अध्यक्ष ढकाल तत्काल विकास बैंकहरु ब्याजदर बढाउने पक्षमा नरहेको र सरकारी कार्यदलले दिने सुझावलाई कुर्ने पक्षमा रहेको बताउँछन् ।

‘अहिलेसम्म हाम्रो निक्षेपमा असर गरेको छैन,असर गर्न थालेपछि ब्याजदर बढाउनुपर्ने हुन्छ,’ढकालले भने । तर,आफुहरु तत्काल अर्थमन्त्रालयले गठन गरेको समितिको सुझावलाई कुर्ने र निकास निस्कनेमा विस्वस्त रहेको उनले जानकारी दिए ।

मंगलबार राष्ट्र बैंकले ब्याजदर बढाएका बैंकका प्रतिनिधिलाई छलफलमा बोलाएको थियो । छलफलमा राष्ट्र बैंकका अधिकारीले तत्काल ब्याजदर नबढाउन र सरकारी समितिको प्रतिवेदन कुर्न आग्रह गरेका थिए । तर,ब्याजदर बृद्धिको नकारात्मक मनोवैज्ञानिक असर भने बजारमा परेको छ ।

अहिले सेयर बजार त्यसैपनि ओरालो लागेको छ । मंगलबार सेयर बजारमा ब्याजदर बृद्धिको नकारात्मक असर पर्यो । परिसूचक १४.६१ अंकले घट्यो ।


क्लिकमान्डु