नेपालको रेमिटान्स स्रोतः खाडी र मलेशिया थाकेको बेला अमेरिका आइपुग्यो काँध थाप्न




काठमाडौं । चार बर्षअघि अर्थात आर्थिक बर्ष २०७१/७२ मा नेपालमा सबैभन्दा बढी रेमिटान्स मलेशियाबाट भित्रिएको थियो ।

सो आर्थिक बर्षमा मलेशियाबाट १ अर्ब ९ करोड ९५ लाख अमेरिकी डलर रेमिटान्स नेपाल भित्रिएको थियो । सोही आर्थिक बर्षमा अमेरिकाबाट भने जम्मा ४६ करोड १८ लाख अमेरिकी डलर मात्रै रेमिटान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो ४ बर्षको अवधिमा रेमिटान्स भित्रिने देशको स्थानमा निकै फेरबदल भयो । गत बर्ष अर्थात आर्थिक २०७४/७५ मा अमेरिकाबाट सबैभन्दा बढी अर्थात १ अर्ब ५१ करोड ८ लाख अमेरिकी डलर रेमिटान्स अमेरिकाबाट भित्रियो । सो आर्थिक बर्षमा मलेशियाबाट ६७ करोड ५ लाख अमेरिकी डलर रेमिटान्स मात्रै मलेशियाबाट आयो ।

यो ४ बर्षको अवधिमा अमेरिकाबाट आउने रेमिटान्स दोब्बरभन्दा बढीले बृद्धि भयो भने मलेशियाबाट आउने रेमिटान्स बृद्धि करिब ५० प्रतिशत नै घट्यो ।

अमेरिकासम्म नेपाली रेमिटान्स कम्पनीको पहुच बढेको छ, यसैकारण अमेरिकाबाट औपचारिक रुपमा रेमिटान्स भित्रन थालेकोले बढेको देखिएको हुन सक्छ

अमेरिकाबाट आउने रेमिटान्स बढेपछि सो रेमिटान्सले नेपाली अर्थतन्त्रलाई त्राण दिएको छ । नेपाली रेमिटान्सको मूल स्रोतको रुपमा रहेको मलेशिया र खाडी देशबाट रेमिटान्स आप्रवाह घटिरहेको समयमा अमेरिकाबाट आउने रेमिटान्स नबढेको भए नेपाली अर्थतन्त्रको अबस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि छदैछ ।

नेपाली रेमिटान्स कम्पनीको अमेरिकी बजारसम्म पहुच बृद्धि भएकोले अमेरिकाबाट आउने रेमिटान्स बढेको देखिएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगाना बताउँछन् ।

‘अमेरिकासम्म नेपाली रेमिटान्स कम्पनीको पहुच बढेको छ, यसैकारण अमेरिकाबाट औपचारिक रुपमा रेमिटान्स भित्रन थालेकोले बढेको देखिएको हुन सक्छ,’ कार्यकारी निर्देशक ढुंगानाले क्लिकमाण्डूसँग भने ।

मुख्य तीन कारण
अमेरिकाबाट नेपाल आउने रेमिटान्स बढ्नुमा विशेष गरी ३ वटा प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । एउटा कारण त कार्यकारी निर्देशक ढुंगानाले भने झै अमेरिकी बजारसम्म रेमिटान्स कम्पनीको पहुच बृद्धिले पनि हो । यो कारणले अमेरिकाबाट नेपाल आउने रेमिटान्स बढेको हो भने यो बृद्धिदर केही भरपर्दाे हुनेछ ।

तर, अन्य २ कारण पनि रहेका बताइएको छ । यी २ कारणमा पहिलो कारण त अमेरिकी बैंक तथा वित्तीय संस्थाहरुमा आफूले कमाएको पैसा राख्दा निकै कम ब्याज पाइने र नेपाली बैंकिङ क्षेत्रमा विगत केही बर्षयता ब्याजदर बढेकोले ब्याजदरको फाइदा लिन अमेरिकामा रहेका नेपालीले नेपाली बैंकमा पैसा राखेर फाइदा लिइरहेको पनि हुन सक्ने जानकारहरु बताउँछन् । यो कारणले अमेरिकाबाट नेपाल आउने रेमिटान्स बढेको हो भने त्यो अल्पकालिन बृद्धि हो ।

सहरी क्षेत्रका नेपालीले अमेरिका जादा आफ्नो सम्पत्ति बेचविखन गरेर उतै लाने गरेका छन्, गाउका नेपाली जादा उनीहरुका आफन्तलाई पैसा पठाउने र यहाँको सम्पत्ति पनि अमेरिका नलाने गरेको देखिन्छ

यस्तै अर्काे कारणमा अमेरिकी डिभी चिठ्ठाको ब्यापकताले हो भन्ने तर्क पनि गरिएको छ । पछिल्ला केही बर्षयता अमेरिकी डिभी भर्ने लहर ग्रामीण क्षेत्रसम्म पुगेको र गाउका नेपाली अमेरिका गएपछि आफन्तलाई पैसा पठाउने गरेका कारण अमेरिकाबाट नेपाल आउने रेमिटान्स बढेको हुन सक्र्ने अर्काथरी विश्लेषकको भनाइ छ ।

‘सहरी क्षेत्रका नेपालीले अमेरिका जादा आफ्नो सम्पत्ति बेचविखन गरेर उतै लाने गरेका छन्, गाउका नेपाली जादा उनीहरुका आफन्तलाई पैसा पठाउने र यहाँको सम्पत्ति पनि अमेरिका नलाने गरेको देखिन्छ,’ ती विश्लेषकले भने ।

यो कारणले पनि अमेरिकाबाट नेपाल आउने रेमिटान्स बढेको हो भने त्यो पनि अल्पकालिन नै हो । किनभने अहिले डिभी परेर अमेरिका गएका नेपालीहरुले एउटा पुस्ता नेपालमा बाँकी रहदासम्म मात्रै अमेरिकाबाट नेपालमा पैसा पठाउँछन् । त्यसपछि उनीहरुले कमाएको सम्पत्ति उतै राख्नेछन् ।

यी हुन् बढी रेमिटान्स भित्रने थप ४ देश
गत आर्थिक बर्षमा नेपालमा बढी रेमिटान्स भित्रने देशहरुमा साउदी अरेविया दोस्रो स्थानमा छ । साउदीबाट गत आर्थिक बर्षमा ८८ करोड ७४ लाख अमेरिकी डलर रेमिटान्स नेपाल आएको थियो ।

चार बर्ष अघि अर्थात आर्थिक बर्ष २०७१/७२ साउदी अरेवियाबाट नेपालमा ९२ करोड ८८ लाख अमेरिकी डलर रेमिटान्स नेपाल आएको थियो । जुन गत बर्ष आएको भन्दा बढी हो ।

गत आर्थिक बर्षकै कुरा गर्दा धेरै रेमिटान्स भित्रने देशको तेस्रो स्थानमा कतार छ । कतारबाट गत आर्थिक बर्षमा नेपालमा ७६ करोड ७० लाख अमेरिकी डलर नेपाल भित्रिएको थियो ।

धेरै रेमिटान्स नेपाल भित्रने देशको सुचीमा मलेशिया चौथो स्थानमा पुगेको छ । चार बर्ष अघि मलेशिया पहिलो स्थानमा थियो ।

चार बर्ष अघि अर्थात आर्थिक बर्ष २०७१/७२ मा कतारबाट ३७ करोड ९० लाख अमेरिकी डलर रेमिटान्स नेपाल भित्रिएको थियो ।

गत बर्षकै तथ्यांक हेर्दा धेरै रेमिटान्स नेपाल भित्रने देशको सुचीमा मलेशिया चौथो स्थानमा पुगेको छ । चार बर्ष अघि मलेशिया पहिलो स्थानमा थियो । मलेशियाबाट गत आर्थिक बर्षमा ६७ करोड ५ लाख अमेरिकी डलर रेमिटान्स नेपाल भित्रिएको छ ।

गत बर्षको तथ्यांकले पाचौं स्थानमा युएइलाई देखाएको देखाएको छ । युएइबाट गत आर्थिक बर्षमा ६६ करोड ८३ लाख अमेरिकी डलर रेमिटान्स नेपाल भित्रिएको छ ।

कोरियाबाट गत आर्थिक बर्षमा जम्मा १६ करोड २१ लाख अमेरिकी डलर मात्रै रेमिटान्स नेपाल आएको छ ।

चार बर्ष अघि अर्थात आर्थिक बर्ष २०७१/७२ मा युएइबाट ५२ करोड १९ लाख अमेरिकी डलर रेमिटान्स नेपाल भित्रिएको थियो ।

कोरियाको कमजोर उपस्थिति
नेपाल सरकार र कोरिया सरकारबीच सम्झौता भएर कोरियामा नेपाली कामदार जाने गरेका भएपनि सो देशबाट आउने रेमिटान्स अझै पनि निकै कम छ । कोरियाबाट गत आर्थिक बर्षमा जम्मा १६ करोड २१ लाख अमेरिकी डलर मात्रै रेमिटान्स नेपाल आएको छ । चार बर्ष अघि कोरियाबाट १ करोड ८७ लाख अमेरिकी डलर मात्रै रेमिटान्स आएको थियो ।

अन्य विकसित देशबाट पनि आउँदैन धेरै
अध्ययन प्रयोजन देखाएर धेरै नेपाली पलायन हुने बेलायत, अष्ट्रेलिया, जापान जस्ता देशहरुबाट नेपालमा रेमिटान्स धेरै आउने गरेको छैन । यी देश जादा नेपालीले अध्ययन प्रयोजनको लागि भन्दै उल्टै पैसा लिएर जाने गरेका छन् ।

गत आर्थिक बर्षमा अष्ट्रेलियाबाट ४ करोड २३ लाख, बेलायतबाट ५ करोड २३ लाख, जापानबाट ४९ करोड ८९ लाख र क्यानडाबाट २ करोड ५८ लाख रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ ।


क्लिकमान्डु