अमेरिकी डलर संचय बढाउन र शोधानान्तर घाटा कम गर्न राष्ट्र बैंकले चार क्षेत्रमा गर्यो नीतिगत परिवर्तन



काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसँग इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

अत्याधिक आयातको कारण व्यापारघाटा बढेको छ भने ६ वर्षपछिकै उच्च शोधानान्तर घाटा नेपालले भोगेको छ । दुई महिनाको अवधीमा २५ अर्ब शोधानान्तर घाटा छ । बैंकहरुले आफ्नो ऋण लगानीपनि उपभोग्य वस्तुमा बढी केन्द्रीत गरेका छन् ।

राष्ट्र बैंकले तिहार बिदा हुने अघिल्लो दिन देखि चार वटा विषयमा आफ्नो नीति परिवर्तन गरेको छ । पहिलो बैंक तथा वित्तीय संस्थाले गाडी खरिदका लागि दिने कर्जा हो । गाडी खरिदका लागि ६५ प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिदै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमा झारिएको छ ।

चालु वर्षको दुई महिनामा १७ अर्ब ९७ करोड रुपैयाँको सवारी साधनको आयात भएको छ । बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ५३ करोड रुपैयाँ गाडी कर्जा भदौ मसान्तसम्म बढाएका छन् । भदौ मसान्तसम्ममा गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।
राष्ट्र बैंकले अटोलोनमा कडाई गरेपनि गाडी आयातकर्ताले यसको विरोध गरिसकेका छन् ।

यस्तै राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सटही सुविधा कटौती गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा नै विदेश घुम्न जादा १९ अर्ब रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो ।

राष्ट्र बैंकले टिटी मार्फत गरिने आयातको भुक्तानीमा पनि रकम कटौती गरेको छ । ४० हजार अमेरिकी डलरसम्म टिटी मार्फत पाइने सुविधालाई ३० हजार अमेरिकी डलरमा झारेको छ ।
देशबाट भित्रने रकमभन्दा बाहिरिने रकम बढेको तथा अमेरिकी डलरको बढ्दो मूल्यले विदेशी मुद्रा सन्चिती घटेको तथ्यांक भने राष्ट्र बैंक आफैले सार्वजनिक गरेको छ ।

असार मसान्तको तुलनामा भदौ मसान्तमा अमेरिकी डलरमा विदेशी सन्चिती ३.४ प्रतिशतले घटेको छ । १० अर्ब ८ करोड डलरबाट सन्चिती घटेर ९ अर्ब ७५ करोड रहेको छ । दुई महिनाको आयातको अवस्थाले ९.७ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु र सेवा आयात धान्न सक्ने थियो । यसले विदेशी सन्चिती प्रयाप्त रहेको देखाएपनि बढ्दो अमेरिकी डलरको मूल्य र आयातको कारण अप्रयाप्त हुने संकेत देखिन थालेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनासम्ममा १४ अर्ब ७० करोड रुपैयाँको निर्यात छ भने आयात २ खर्ब ३२ अर्ब रुपैयाँको छ । डलरको बढ्दो मूल्यले रेमिटेन्स आय बढेपनि शोधानान्तरलाई भने घाटामा जान नदिन यो पटक सकेको छैन । विदेश जाने पैसा बढेपछि स्वभाविक रुपमा देशभित्र ऋण दिनको लागि चाहिने रकमको अभाव हुन्छ । जुन अहिले नेपालको वित्तीय क्षेत्रमा भइरहेको छ ।

राष्ट्र बैंकले विदेशी सन्चिती बढाउन र दीर्घकालिन उत्पादन मुलक क्षेत्रमा ऋण लगानी बढाउनको लागि बैंकहरुले विदेशबाट ल्याउने ऋणको सिमा समेत बढाएको प्राथमिक पुँजीको २५ प्रतिशत रहेको ऋण सिमालाई बढाएर ५० प्रतिशत पुर्याइएको छ ।

राष्ट्र बैंकका प्रवक्ता बढ्दो अमेरिकी डलरको कारण यसलाई संचय गर्नको लागि केन्द्रीय बैंकले आफ्नो नीतिगत व्यवस्थामा परिवर्तन गरेको बताउँछन् ।

‘डलरमा आयात गर्नुपर्ने भएपछि यसको सन्चिती बचाउनको लागि अरु मुलकुले पनि नीतिमा परिवर्तन गरेका छन्,हामीले पनि डलरको सन्चिती बढाउनको लागि नीतिगत व्यवस्थामा परिवर्तन गरेको हो,’पौडेलले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु