अरुणा गुरुङको व्यवसायिक यात्राः तिहारका ३ दिनमा ४ लाखको सेल बिक्री गर्छिन्



काठमाडौं । काठमाण्डौ उपत्यकाको कालोपुल चोकबाट सानो गल्ली भित्र छिर्दा ४ दिदी बहिनीहरु सेल पकाइरहेको देख्न सकिन्छ । क्लिकमाण्डू संवाददाता पुग्दा अरुणा गुरुङ ह्वास्याङ फस्याङ गर्दै सेलरोटी बिक्री गर्दै थिइन्, उनलाई बोल्न फुर्सद समेत छैन ।

घरी चामल सुकायो, घरी चामल केलायो, चामल बोरामा हाल्यो, घरी सेल बनाउनेहरु तिर हेर्दै उनीहरुले खाए खाएनन् सोध्यो, ग्राहकहरुलाई विक्री गर्यो । साँचिकै उनलाई भ्याइनभ्याइ थियो ।

क्लिकमाण्डू संवाददाता त्यो सेल पसलमा पुग्दा अरुणाले ‘के चाहियो ? सेल लाने हो?’ भनेर सोधिन् । उनी अत्यन्त व्यस्त थिइन्, यही व्यस्तता कै बीच अरुणासँग गरिएको कुराकानीमा आधारित सेल ब्यापारको कथालाई यहाँ पस्केका छौं ।
अरुणा खोटाङबाट उपत्यका छिरेकी रहिछन् । कति सालमा यहाँ आउनु भयो भनेर सोध्दा उनको जवाफ थियो ‘थाहा छैन’ ।

९ वर्षदेखि सेलको ब्यापार


सुरुमा अरुणाले सेलको व्यापार चक्रपथको भाटभटीनीबाट शुरु गरेकी रहिछन् । कुराकानीका क्रममा ९ वर्ष अगाडि भाटभटेनी कै भवनको स्टोरमा सेल बनाउने र भाटभटेनीमा मात्र बिक्री वितरण गरेकी अरुणाले पछिल्लो समय तिहारमा मात्र २० हजार बढी सेल बिक्री गर्ने गरेकी छन् ।

उनले प्रति सेल २० रुपैयाँको दरले तिहारको ३ दिन(लक्ष्मीपूजा, गोबद्र्धन पूजा र भाइटीका)मा मात्र ४ लाख रुपैयाँ बराबरको सेल विक्री गर्ने गरेकी छिन् । अरु समयमा मासिक १ लाख रुपैयाँ बराबरको सेल विक्री वितरण गर्ने गरेको अरुणा बताउँछिन् ।

‘पहिले भाटभटेनीको स्टोरमा सेल उत्पादन गर्ने र बेच्ने गरेको थिए, हामी सबै त्यही बस्थ्यौं । अहिले सबै भाटभटेनीमा पुर्याउन सक्दैनौं, त्यसैले काठमाण्डौ उपत्यकाका ४ वटा भाटभटीनीमा मात्र सेल पुर्याउने गरेका छौं,’ गुरुङले भनिन् ।
उनले नक्साल, चक्रपथ, चुच्चेपाटी, कोटेश्वरमा रहेका भाटभटीनीमा सेल तथा अनारस बिक्री गर्ने गरेको बताइन् ।

काडा भएको ठूला गोला आकारका सेल हेर्दै खाउ खाउ लाग्ने खालका हुन्छन् । उनले शुरुमा सेलरोटी एक्लै बनाउँथिन्, पछिल्लो समय ३ जना काम गर्ने कर्मचारी पनि राखेकी छन् ।

तिहारमा भने अत्याधिक माग हुने भएकाले उनले आफन्त बोलाएर समेत चामल केलाउने,सेल हाल्ने, चामल सुकाउने र बेच्ने काममा खटाउने गरेको बताइन् ।
‘अरु बेला ३ जनाले सबै भ्याइन्छ, यो तिहारको सिजनमा ८ जनाले मिलेर गर्दा पनि भ्याइ नभ्याइ छ,’ अरुणाले भनिन् ।

भाटभटेनीको स्टोरबाट कालोपुलमा किन सरिन् ?


यसरी भाटभटेनीको स्टोरमा सेलरोटी पकाएर बेच्ने गरेकी उनलाई कालोपुल आउनुको कारण सोध्दा उनले भाटभटेनीको भवनमा बनाउने ठाउँ साँगुरो भएर त्यहाँबाट सरेको बताइन् ।

४५ वर्षिया अरुणाले अहिले कालोपुलमा जग्गा भाडामा लिएर टहरा हालेर त्यही सेल हाल्ने बेच्ने गरेकी छन् । मासिक २० हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा १५ लाख लागतमा आफैंले टहरा हालेर सेल पसल चलाएको उनी बताउँछिन् ।

बिहान ७ बजेदेखि खुल्ला हुने उनको सेल पसल बेलुका ५ बजेसम्म चल्ने गर्छ भने तिहारमा बेलुका ८ बजेसम्म खुल्ने उनले बताइन् । उनले सेल रोटीसँगै अनरसा पनि बनाउने गरेकी छिन् । अनरसा भाटभटेनीमा मात्र बिक्री हुने र बाहिर मान्छेले प्रायः खोज्न नआउने उनले सुनाइन् ।

भाटभटेनीमा अनरसा १ सय २० रुपैयाँ प्रति प्याकेट र बाहिर बेच्दा सय रुपैयाँ प्रति प्याकेट बिक्री गर्ने गरेकी छिन् । ‘एउटा प्याकेटमा ५ वटा अनरसा हुन्छ, बाहिर अनरसामा सेल जस्तो फाइदा छैन, त्यसैले बाहिर बेच्दा १ सय रुपैयाँमै बेच्ने गरेको छु, त्यहीपनि किन्ने खासै छैनन् ।

उनी पछिल्लो समय सेलमा पहिलेको जस्तो फाइदा नभएको बताउँछिन् । पछिल्लो समय तेल, चिनी, चामल सबैमा मूल्य बढेकोले खासै फाइदा छैन–उनले भनिन् ।

सेल बेचेर छोरालाई इञ्जिनियर पढाइन्


उनले सेल बेचेरै आफ्नो जेठो छोरालाई इञ्जीनियरिङ पढाएकी छन् । यो वर्ष उनकी कान्छी छोरीले एसईई दिन लागेकी छन् । उनका श्रीमान् भाटभटेनी सुपर मार्केटमा काम गर्छन् ।


क्लिकमान्डु