दशैंले रित्यायो बैंकको पैसा, थप ऋण दिने पैसा नभएपछि अन्तर बैंक कारोबारको ब्याजदर आकाशियो



काठमाडौं । बैंकहरुसँग ऋण दिने पैसा सकिएको छ । कर्जा विस्तारको तुलनामा निक्षेप नबढ्दा बैंकहरुसँग थप कर्जा दिने पैसा नभएको हो ।
पछिल्लो हप्ता ३ अर्ब रुपैयाँले निक्षेप बढ्दा ३८ अर्ब रुपैयाँले कर्जा बजेपछि बैंकिङ प्रणालीमा कर्जा र निक्षेपबीचको सन्तुलन बिग्रिएको हो ।

त्यसो त यसअघिका वर्षहरुमा मंसिरपछि मात्रै देखिने ऋण दिन मिल्ने पैसाको अभावको समस्या यो वर्षभने भदौ अन्तिम सातदेखि नै देखिएको थियो ।

फुलपातिको अघिल्लो दिनसम्म बैंकहरुले २५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ४६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । त्यसको एक साताअघि बैंकहरुले २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चालू आर्थिक वर्षको साउनदेखि नै बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा असन्तुलन हुँदै आएको थियो । दशैंको मुखैमा यो असन्तुलन झनै बढ्दा बैंकहरुलाई दशैंपछि समस्या परेको हो । दशैं विदा हुनु अघिको एक हप्तामा बैंकहरुले ३८ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । जबकी यो हप्ता ३ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको छ ।

कर्जा र निक्षेपबीचको असन्तुलन बढेसँगै बैंकहरुसँग थप ऋण दिन मिल्ने पैसा करिबकरिब सकिएको छ । बैंकहरुलाई लगानी योग्य पुँजी (तरलता) अभाव भएको कुरा अन्तर बैंक कारोबारको ब्याजदरले पनि पुष्टि गर्छ । दशैंअघि दुई प्रतिशतको हाराहारीमा भइरहेको अन्तरबैंक कारोबार दशैंपछि साढे ३ प्रतिशतसम्म पुगेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

‘दशैंपछि जसरी अन्तरबैंक कारोबारको ब्याजदर बढिरहेको छ, यसले आगामी दिन संकटपूर्ण छन् भन्ने संकेत गर्छ,’ दाहालले क्लिकमाण्डूसँग भने ।

दशैंअघि विभिन्न वस्तुहरु आयात गर्न बैंकहरुले अत्याधिक कर्जा विस्तार गरेका थिए । नेपालको अर्थतन्त्र आयातमा आधारित भएका कारण ठूला चाडबाड आउँदा त्यसले देशको भुक्तानी सन्तुलनमा समेत असर गर्छ । चालू आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामै देशको भुक्तानी सन्तुलन (देश भित्रिने भन्दा बाहिरीने पैसा २४ अर्ब रुपैयाँले बढी भएको थियो ।

बैंकिङ प्रणालीमा ३५/३६ अर्ब रुपैयाँ लगानी योग्य पुँजी (तरलता) देखिन्छ । तर, तीन वटा सरकारी बैंक र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी) रेसियो कम भएकाले बजारमा केही तरलता देखिएको हो ।

तर, एक दर्जन बैंकहरु भने थप ऋण दिन सक्ने अवस्थामै छैनन् । बाँकी एक दर्जन बैंकसँग भने केही ऋण दिने पैसा छ ।

सरकारले विकास खर्च बढाउन सकेको छैन । तत्काल विकास खर्च नबढे बैंकहरुमा तरलताको हाहाकार आइसकेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘६/७ वटा बैंकलाई सीसीडी रेसियो मेन्टेन गर्न हम्मेहम्मे परेको छ, राष्ट्र बैंकले एक्सन दिने बेला आइसकेको छ,’ राष्ट्र बैंकका एक निर्देशकले भने, ‘बैंकिङ प्रणालीमा गंभीर संकट आउने प्रष्ट संकेत देखा परिसकेको छ ।’

तर, सरकारले ह्वारह्वारर्ती खर्च गर्ने हो भने बैंकिङ प्रणालीमा आउने तरलता अभावको संकट टर्ने उनको भनाई छ ।

‘सरकारले ह्वारह्वार्ती खर्च बढाएन भने बैंकिङ प्रणालीमा तरलता अभावको संकट टर्ने छैन,’ ती अधिकारीले भने, ‘अहिलेसम्मको सरकारको काम गराई हेर्दा ह्वारह्वार्ती खर्च गर्नसक्ने अवस्था देखिँदैन ।’

असोज पहिलो सातादेखि नै थप ऋण दिने पैसा अभाव हुन थालेपछि बैंकहरुले असारमा भएको भद्र सहमति तोड्दै महंगो ब्याजदरमा निक्षेप संकलन गर्न थालेका थिए । दशैंको मुखमै बैंकर्स संघको पूर्ण बैठक बसेर केही ब्याजदर घटाउँदै अर्को भद्र सहमति गरिएको थियो ।


पुष्प दुलाल