दशैंको मुखमा बैंकरलाई ब्याजदरको टेन्सनः बैंकर्स संघको पूर्ण बैठक बस्दै



काठमाडौं । अधिकांस नेपालीहरु दशैंको रमझममा झुम्ने बेला हुँदा बैंकरलाई भने ब्याजदरले तनाब दिएको छ ।

गत असारमा बैंकर्स संघको पूर्ण बैठकले गरेको (संस्थागत निक्षेपमा साढे १० प्रतिशत र व्यक्तिगत निक्षेपमा ११ प्रतिशत दिने सहमति) भद्र्र सहमति केही बैंकले भटाभट तोड्न थालेपछि बैंकरहरुलाई ब्याजको तनाब थपिएको हो ।

तर, पछिल्ला एक÷दुई हप्तामा केही बैंकहरुले ११ प्रतिशत ब्याज दिएर संस्थागत निक्षेप उठाएको भन्दै बैंकरहरुबीच आरोप प्रत्यारोप भइरहेको छ ।

बढी निक्षेप दिने बैंकका विरुद्धमा बैंकर्स संघमा उजुरीसमेत परेको छ ।

कर्जा विस्तारको तुलनामा निक्षेप संकलन नभएपछि अहिले १०/१२ वटा बैंकसँग थप ऋण दिने पैसा छैन । राष्ट्र बैंकका नियमन विभागका एक निर्देशकका अनुसार ९/१० वटा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत पुगेको छ । अन्य केही बैंकको ७७÷७८ प्रतिशत पुगेको छ । औषतमा चाहीँ बैंकहरुको सीसीडी रेसियो ७६.५ प्रतिशत छ ।

सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको मापदण्ड छ । सीसीडी रेसियो ८० प्रतिशत पुग्ने वित्तिकै राष्ट्र बैंकले कारबाही गर्छ । सीसीडी रेसियो केही दिनमात्रै ७८ पुगेपछि नै सम्बन्धीत बैंकका सीइओलाई बोलाएर राष्ट्र बैंकले सचेत गराउँछ ।

‘७८ प्रतिशतभन्दा बढी सीसीडी भएका बैंकलाई राष्ट्र बैंकले बोलाएर सचेत गराइरहेको छ,’ ती निर्देशकले भने, ‘त्यसैले उहाँहरु निक्षेप उठाउन बजारमा एग्रेसिभ भएर प्रस्तुत हुनुभएको छ भन्ने गुनासो पनि आइरहेको छ ।’

राष्ट्र बैंकका ती निर्देशकले भने झैं सीसीडी रेसियो टाइट भएका बैंकहरुले भद्र सहमति तोड्दै धमाधम ११ प्रतिशतमा ब्याज बढाइरहेका छन् ।
उदाहारणका लागि हप्ता दिन अघि माछापुच्छ्रे बैंकबाट एक बीमा कम्पनीको निक्षेप सिद्धार्थ बैंकले खोसेको थियो । बैंकर्स संघमा भएको भद्र सहमति अनुसार नै माछापुच्छ्रे बैंकले त्यो बीमा कम्पनीलाई साढे १० प्रतिशत ब्याज दिएको थियो ।

तर, सिद्धार्थ बैंकले त्यो बीमा कम्पनीलाई ११ प्रतिशत ब्याज दिँदै आफ्नो बैंकमा तानेको थियो । यस्तै काम अरु केही बैंकहरुले पनि गरिरहेका छन् ।

एक बैंकले अर्को बैंकको निक्षेप बढी ब्याज दिएर तान्न थालेपछि बैंकरहरुबीच चर्को आरोप प्रत्यारोप भइरहेको छ ।

यसैबीच बैंकरहरुबीच भइरहेको चर्को आरोप प्रत्यारोपलाई तार्किक निष्कर्शमा पुर्याउने उदेश्यले बैंकर्स संघले भने आगामी बिहीबार संघको पूर्ण बैठक बोलाउने तयारी गरेको छ । पूर्ण बैठक बोलाउने बारे संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले केही बैंकरहरुसँग कुरा गरिसकेका छन् ।

निकै जटिल र गंभीर विषय उठेपछि मात्रै बैंकर्स संघो पूर्ण बैठक बस्ने गरेको छ । यसअघि राष्ट्र बैंक र अर्थ मन्त्रालयले नै बैंकरहरु बसेर ब्याजदरमा भद्र सहमति गरेर आउन भनेपछि गत असारमा संघको पूर्ण बैठक बसेको थियो । त्यसअघि एनआइसी एशिया बैंकले संघको भद्र सहमति नमानेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न गत फागुन १७ गते पूर्ण बैठक बसेको थियो ।

त्यसपछि आउँदो बिहीबार संघको पूर्ण बैठक बोलाउन लागिएको हो ।

‘अध्यक्षज्यूले आउने बिहीबार पूर्ण बैठक बस्नुपर्ला भन्नुभएको छ,’ एक बैंकरले भने ।

तर, संघका अध्यक्ष ढुंगाना भने पूर्ण बैठक बोलाउने बारे टुंगो नलागिसकेको बताउँछन् ।

‘बैंकर्स संघको बैठक बस्ने कुरा नियमित हो, यसैहप्ता बैठक बस्ने भन्ने कुरा भइरहेको छ, तर बोलाइसकेको छैन,’ ढुंगानाले प्रष्ट पारे, ‘दशैंअघि बैठक बसेर अहिलेको विद्यमान अवस्थाका बारेमा छलफल गरेर आगामी दिनमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्छाैं ।’

अहिले भएको ब्याजदर नै बढी भएको भन्दै यसलाई अझ घटाउनु पर्ने भन्दै बैंकरहरुले कुरा उठाइरहेका छन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरुले पनि ब्याजदर महंगो भएको भन्दै ब्याजदरलाई एकल अंकमा राख्न भनिरहेका छन् ।

तर, कसैले ब्याजदर घटाउने प्रभावकारी औजार भने प्रयोग गरिरहेका छैनन् ।

‘दशैंसम्म हेर्छौं, दशैंपछि ब्याजदर बढ्यो भने हामीले पनि केही निर्णय लिनैपर्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

साउनदेखि अहिलेसम्म बैंकहरुले जम्मा ३९ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । तर, यही अबधिमा ९२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

निक्षेप संकलन र कर्जा प्रबाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानी योग्य रकमको अभाव हुन लागेको हो । राष्ट्र बैंकका अनुसार अहिले बजारमा ३०/३२ अर्ब रुपैयाँ तरलता छ । तर, कर्जायोग्य रकम भने छैन ।

‘पहिलेपहिले दशैंअघि यस्तो समस्या आउँदैन थियो, अहिले त चाँडै समस्या आयो,’ एक बैंकरले भने, ‘सरोकारवालाले समयमै समाधान नखोजे पछिल्ला महिनाहरु झन तनाबपूर्ण हुने प्रष्ट संकेत देखिएको छ ।’


पुष्प दुलाल