कहाँ पुग्यो पेट्रोलियम पाइपलाइन विछ्याउने काम ?



काठमाडौं । केही दिनदेखि भएको पेट्रोलियम पदार्थको अभाव अझै सहज हुन सकिरहेको छैन । केही दिनअघि ट्याङ्कर चालकहरुले गरेको आन्दोलनको असर अझैसम्मपनि बजारमा देखिएको छ ।

यो हाहाकारको अवस्थाले फेरिपनि पेट्रोलियम पदार्थको आपूर्तिका लागि पाइपलाइनको अभाव महशुस गरिएको छ ।

इडियन आयल कर्पोरेसन (आईओसी) को डिपो रहेको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याउन नेपाल र भारतसरकारबीच संझौता भएर काम शुरु भएको छ । काम शुरु भएको ७ महिनामा १७ किलोमिटरमा मात्र पाइपलाइन बिस्तार भएको छ ।

२०७४ फागुन महिनादेखि पाइपलाइन बिछ््याउने काम शुरु भएको हो । ३० महिनामा ६९.९ किलोमटिर पाइपलाइन बिछ्याउने लक्ष्य इन्डियन आयल कर्पोरेसन (आईओसी) ले लिएको छ । मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर रहेको छ भने रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दूरी रहेको छ ।

पाइपलाइन बिच्छ्याउने क्रममा साइट क्लियरेन्स सबैभन्दा ठूलो समस्या बन्न पुगेको थियो । पाइपलाइन बिच्छ्याउने क्षेत्रमा घर टहरा तथा अन्य संरचना र रुखको अवरोधका कारण केही समय पाइपलाइन अघि बढ्न सकेको थिएन ।

पाइपलाइन बिच्छ्याउने क्षेत्रमा झण्डै २५ हजार रुख कटानी गर्नु पर्ने र ४ हजार १ सय ३५ घर तथा टहरा हटाउनु पर्ने भएको थियो ।

‘जंगल भएका ठाउँको रिपोर्ट आउन बाँकी छ, रिपोर्ट आएपछि त्यहाँपनि पाइप बिछ्याउने काम गरिन्छ, अन्त कतै काम रोकिएको छैन, निर्धारित समय भन्दा पहिल्यै काम पूरा गर्ने तयारी रहेको छ,’ गोइतले भने ।

रुख र टहराको समस्या पूर्ण समाधान हुन नसकेपनि त्यस ठाउँलाई बाँकी राख्दै अघि बढेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

‘जंगल भएका ठाउँको रिपोर्ट आउन बाँकी छ, रिपोर्ट आएपछि त्यहाँपनि पाइप बिछ्याउने काम गरिन्छ, अन्त कतै काम रोकिएको छैन, निर्धारित समय भन्दा पहिल्यै काम पूरा गर्ने तयारी रहेको छ,’ गोइतले भने ।

साढे ३ सय करोड भारतीय रुपैयाँमा बन्न लागेको यो पाइपलाइनमा भारतीय पक्षले २ सय करोड रुपैयाँ लगानी गरेको छ । यस्तै नेपालले ७५ करोड रुपैयाँ आफै खर्च गर्ने सहमति भएको छ ।

पाइपलाइन बनेपछि उक्त पाइपलाइनबाट प्रतिघण्टा २ लाख लिटरसम्म इन्धन निगमको अमलेखगञ्ज डिपोमा आपूर्ति गर्न सकिनेछ ।

पाइपलाइनबाट इन्धन आपूर्ति हुने भएपछि अमलेखगञ्जको डिपोमा ७८ लाख लिटर इन्धन भण्डारण क्षमतापनि विस्तार गरिँदैछ । योसँगै अर्को नयाँ भण्डारण गृह निर्माण गर्ने योजनापनि निगमको रहेको गोइतले बताए ।

पाइपलाइनको काम पूरा भएपछि इन्धन ढुवानीबापत लाग्ने वार्षिक करीव एक अर्ब रुपैयाँ बराबरको ट्यांकर ढुवानी र जनशक्ति खर्च जोगिने विश्वास निगमको छ ।

अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सौल नाकाबाट वीरगञ्ज हँुदै ट्यांकरबाट नेपाल भित्रन्छ । यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानी हुने गरेको छ । नेपालमा बर्सेनि इन्धन खपत १५ प्रतिशतले बढ्दो क्रममा रहेको नेपाल आयल निगमले जनाएको छ ।


क्लिकमान्डु